logo
२०८१ बैशाख ८ शनिवार



उम्मेदवारको टुङ्गो लगाउँदै काँग्रेस

मुख्य समाचार |


उम्मेदवारको टुङ्गो लगाउँदै काँग्रेस



गोरखापत्र समाचारदाता

काठमाडौंँ, कात्तिक १५ गते । नेपाली काँग्रेसले निर्वाचनमा उम्मेदवारको अन्तिम नाम छनोट गर्ने शक्तिशाली निकाय संसदीय बोर्ड नै गठन नगरी उपनिर्वाचनका उम्मेदवारको नाम छनोट गर्ने भएको छ । अघिल्लो निर्वाचनपछि संसदीय बोर्ड विघटन गरिएको थियो ।
बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बिहीबार बसेको केन्द्रीय पदाधिकारीको शीर्ष बैठकमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन केन्द्रित भएर छलफल भएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिनुभयो । दुई चरणमा पार्टीले सञ्चालन गरेको जागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिहरूलाई बोलाएर जिल्लाको वस्तुस्थिति र सम्भावित उम्मेदवारका विषयमा छलफल गरिएको छ । शुक्रबार दिउँसो १ः०० बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा संसदीय बोर्ड नभएको अवस्थामा उम्मेदवार छनोट गर्न नीतिगत प्रस्ताव पेस गरिने जानकारी प्रवक्ता शर्माले दिनुभयो ।
केन्द्रीय कार्यसमितिले नीतिगत प्रस्ताव पारित गरेपछि १७ गते बस्ने केन्द्रीय पदाधिकारीको बैठकले उम्मेदवारको टुङ्गो लगाउने तयारी काँग्रेसले गरेको छ । केन्द्रले पार्टीको विधानअनुसार सम्भावित तीन जना उम्मेदवारको नाम पठाउन निर्देशन दिएकोमा विधानविपरीत तीनभन्दा बढीको नाम सिफारिस भएपछि पुनः जिल्ला कार्यसमितिको ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक २१ र स्थानीय तहका लागि कात्तिक २७ गते उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।
मङ्सिर १४ मा प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसमेत ४८ गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?