logo
२०८० चैत्र १६ शुक्रवार



फोहोरबाट सिलिन्डरमै बायोग्यास

मुख्य समाचार |


फोहोरबाट सिलिन्डरमै बायोग्यास



गोपालचन्द्र सुवेदी

पोखरा, कात्तिक ४ गते । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ । पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो ।
उत्पादित ग्यासलाई सिलिन्डरमै भरेर पोखराका उद्योग रेस्टुराँमा आपूर्ति गर्न थालेको गण्डकी ऊर्जा प्रालिले जानकारी दिएको छ । दैनिक ४५ टन फोहोर खपत क्षमताको उक्त प्लान्टबाट दैनिक दुई सय सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ तर अहिले १८ टन फोहोर खपत गरेर दैनिक ४० सिलिन्डर ग्यास मात्र उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।
गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङका अनुसार ४० हजार घनमिटर क्षमताको प्लान्टबाट निस्कने लेदोलाई प्रशोधन गरेर प्राङ्गारिक मलसमेत उत्पादन थालिएको छ । प्लान्टमा अहिले गाईवस्तुको गोबर, कुखुराको सुली, बँगुरको लिदी, उखुको छोक्रा, बियर कारखानाबाट निस्कने फोहोर प्रयोग गरिएको छ ।
“हामीले सहरमा उत्पादन हुने सड्ने फोहोरलाई पनि उपयोग गर्ने योजना छ,” गुरुङले थप्नुभयो, “फेवाको जलकुम्भीदेखि तरकारी बजार र घरायसी फोहोरसमेत यहाँ प्रयोग गरेर वातावरणीय स्वच्छतासमेत कायम गर्न लागेका छौँ ।” प्लान्टबाट अहिले दैनिक पाँच टन प्राङ्गारिक मलसमेत उत्पादन हुन थालेको छ ।
“अहिले मलको गुणस्तर परीक्षणको काम भइरहेको छ,” उहाँले थप्नुभयो, “परीक्षणपछि व्यावसायिक बिक्रीवितरणमा लग्दैछौँ ।” दैनिक १५ टनसम्म मल उत्पादन गर्ने प्लान्टबाट अहिले दैनिक पाँच टन मल उत्पादन भइरहेको छ । पोखरा महानगरमै उत्पादित फोहोर प्रयोगका लागि पनि महानगर र प्रालिबीच छलफल चलिरहेको गुरुङले जानकारी दिनुभयो ।
फोहोर सङ्कलनका क्रममै कुहिने फोहोर छुट्टै सङ्कलन गर्नुपर्ने हुन्छ भने त्यस्तो फोहोरलाई काटेर मिहिन बनाउन प्रविधि जडान गरिएको छ । यसका लागि प्रदेश कृषि मन्त्रालयले प्रविधि जडानमा आर्थिक सहयोग उपलब्ध गराएको छ । पोखराको मणिपाल शिक्षण अस्पताल, फिस्टेल अस्पतालको चमेना गृह, एसआरकेसी क्याटरिङ, चाउमिन उद्योगमा उक्त ग्यास प्रयोग हुन थालेको छ ।
तापशक्ति बढी हुने उक्त ग्यास एलपी ग्यासभन्दा आगलागीका दृष्टिले केही कम जोखिम हुने गुरुङको दाबी छ । सिलिन्डरहरू भने केही ठूला छन् । कुल ७५ किलो तौलको खाली सिलिन्डरमा ११.६ केजी ग्यास भरिन्छ । प्लान्टबाट उत्पादित ग्यासमा ९० प्रतिशत मिथेन ग्यास हुन्छ । दस सिलिन्डर एलपी ग्यासले दिने क्षमता बराबर छ सिलिन्डर बायोग्यासको हुने दाबी गुरुङको छ ।
कम्पनीले पाइपमार्पmत नै घरघरमै बायोग्यास पु¥याउनेबारे अध्ययन पनि गरिरहेको उद्यमी गुरुङको भनाइ छ । प्राविधिक रूपमा यो सम्भाव्य देखिन्छ । जमिनमा पाइप बिछ्याउने अनुमतिलगायत अन्य कानुनी जटिलता छन् । त्यसबारेमा हामी स्थानीय सरकारसँग छलफल गर्दैछौँ, उहाँले भन्नुभयो ।
कुल ४० रोपनी क्षेत्रफलमा फैलिएको उक्त प्लान्ट निर्माणका लागि करिब २५ करोड रुपियाँ लगानी गरिएको गुरुङले जानकारी दिनुभयो । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अनुदानसमेत उपलब्ध गराएका छन् । उद्योगले प्रतिकेजी ग्यासको मूल्य सय रुपियाँ निर्धारण गरेको जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?