logo
२०८१ बैशाख ७ शुक्रवार



निजी क्षेत्र उत्साहित

मुख्य समाचार |


निजी क्षेत्र उत्साहित



गोपालचन्द्र सुवेदी

काठमाडौँ, असोज २७ गते । गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसले सञ्चार गरेका आशाप्रति नेपालको निजी क्षेत्र निकै उत्साहित भएको छ । खास गरी नेपालको भौतिक पूर्वाधार विस्तार, पर्यटन क्षेत्रमा सहयोग र चिनियाँ लगानी विस्तारका लागि भएका छलफल, सहमति र समझदारीले नेपालको निजी क्षेत्र उत्साहित बनेको हो ।
चिनियाँ राष्ट्रपति सीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको रात्रिभोजलाई सम्बोधन गर्ने क्रममा दिनुभएको प्रतिबद्धता र नेपाल चीन सरकारीस्तरमा भएका २० बुँदे सहमति तथा सम्झौताका प्रावधानले नेपाली उद्यमी व्यवसायी उत्साहित भएका हुन् । खास गरी नेपाल चीन यातायात सुविधा विस्तार गर्ने गरी सुरुङमार्ग निर्माण, सडक सुधार र रेलमार्गका लागि सम्भाव्यता अध्ययन गर्ने कुराले नेपालको निजी क्षेत्र उत्साहित बनेको छ । रात्रिभोजमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुहुन्छ, “यो भ्रमण नेपालको आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने छ, रेल, सडक र विद्युत् प्रसारणमा हुने अन्तरसम्बन्ध विस्तारले नेपालको विकासमा दूरगामी प्रभाव सिर्जना हुने छ ।”
नेपाल चीन कनेक्टिभिटीले आयात निर्यात लागत घटने अपेक्षा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको छ । “चीनले देखाएको चासोलाई नेपालले अब कार्यान्वयन गर्ने सक्रियता देखाउनु पर्छ,” उहाँले भन्नुभयो, “ चिनियाँ लगानी प्रवद्र्धन र पर्यटक आगमन बढाउने कुराले पनि निकै ठूलो अर्थ राख्ने छ ।
सीको नेपाल भ्रमण नेपालको पर्यटनमा पनि ठूलो सकारात्मक प्रभाव पर्ने देखिन्छ । खास गरी उहाँको भ्रमणपछि धेरै चिनियाँ नागरिकले नेपालको नाम सुन्ने अवस्था बनेको छ भने राष्ट्रपति आफैले पनि चिनियाँ पर्यटकलाई नेपाल आउन अभिप्ररित गर्ने भनाइले पनि निजी क्षेत्र उत्साहित बनेको देखिन्छ । श्रेष्ठले भन्नुभयो, चीनका राष्ट्रपतिको भ्रमण आफैमा नेपाललाई चीनमा चिनाउने ऐतिहासिक अवसर बनेको छ, यसले पर्यटनमा तत्काल प्रभाव देखिएला । ठूला परियोजनामा लगानी गर्न चिनियाँ लगानीकर्तालाई नेपाल आउन आग्रह गर्ने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धताले पनि नेपाली लगानीकर्ताको आशा जागेको देखिन्छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मोरले भन्नुभयो, नेपालीमा लगानीको अवसर अझै खुला भएको छ ।
नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन सघाउने राष्ट्रपति सीको आश्वासन र त्यसअनुसारका सम्झौता र समझदारीले नेपालको निजी क्षेत्र उत्साहित भएको छ । “यो भ्रमणले तत्कालीन र दीर्घकालीन असर पारेको छ,” मोरले भन्नुभयो, “अब यी प्रतिबद्धता र सहमति कार्यान्वयन गर्न नेपाल पक्ष अत्यन्तै सक्रिय बन्नुपर्छ । समृद्धिका लागि आफै सक्रिय बन्नु पनि पर्छ, बल नेपालको कोर्टमा छ ।”
रात्रिभोजका क्रममा राष्ट्रपति सीको भनाइ थियो “हामी योजना बनाएपछि कार्यान्वयन जसरी पनि गर्छौं ।” यो भनाइलाई आधार मान्ने हो प्रधानमन्त्री केपी शर्मा ओली र सीको उपस्थितिमा भएका सहमति र योजना कार्यान्वयन हुनेमा पूर्ण विश्वस्त हुने अवस्था पनि देखिन्छ । नेपाली उद्यमी व्यवसायी भने नेपाल पक्षले सहमति कार्यान्वयन गर्ने पक्षमा कमजोरी गर्नु नुहुने सुझाव दिन्छन् । “सीको जस्तै प्रतिबद्धता नेपाली पक्षमा पनि देखिनुपर्छ,” ढकालले भन्नुभयो, “प्रतिबद्धता कार्यान्वयन गर्नेमा आजैदेखि सक्रिय हुनुपर्छ ।”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?