logo
२०८० चैत्र १६ शुक्रवार



जामले सर्वसाधारणलाई सकस ट्राफिक नियम पालना नगर्दा जाम

मुख्य समाचार |


जामले सर्वसाधारणलाई सकस ट्राफिक नियम पालना नगर्दा जाम


देवबहादुर कुँवर

काठमाडौँ, असोज १२ गते । चाडपर्व नजिकिएसँगै राजधानी उपत्यकामा ट्राफिक जामको सस्ती खेपिनसक्नु भएको छ । जामको तनाव त छँदैछ, दुर्घटनाका घटना पनि चाडपर्वकै बेला बढ्ने गरेको छ ।
प्रहरी अधिकारीका अनुसार जाम घटाउन निरन्तर प्रयास भइरहे पनि आशातीत सफलता मिल्न सकेको छैन । जाम कम गर्न ट्राफिक नियम परिपालनालाई अझ कडाइ गरिएको प्रहरीको दाबी छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चाडवाडको बेला ट्राफिक नियम पालनामा अझ कडाइ गर्न थालिएको छ । त्यसक्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ‘बोली व्यवहारमा विनम्रता र कानुनी कारबाहीमा कडाइ’ गरिने छ ।
महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ( एसएसपी) भीमप्रसाद ढकालले दसँै, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका बोल चालकको लापरबाहीका कारण दुर्घटना बढी हुने भएकाले ट्राफिक नियममा कडाइ गरिएको बताउनुभएको हो ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न चाडवाड लक्षित विशेष कार्ययोजना लागू गर्ने विषयमा स्पष्ट पार्दै उहाँले ट्राफिक नियमको पूर्णपालना गर्न आग्रह गर्नुभयो ।
ट्राफिक नियमप्रतिको लापरबाहीका कारण अन्य समयको तुलनामा चाडवाडमा दुर्घटना बढी हुने गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘‘ट्राफिक प्रहरीको आँखा छलेर सवारी चलाउनेहरू दुर्घटनाका कारक हुन् ।’’
दुर्घटनाको मुख्य कारक पनि चालकको लापबाही हो । उहाँका अनुसार, सडकमा ट्राफिक प्रहरी देखिएन भन्दैमा लापरबाही ढङ्गले सवारी चलाउँदा आफू मात्र होइन अन्य सर्वसाधारण समेत दुर्घटनाको शिकार हुनसक्छन् ।
त्यस्तै उपत्यकालाई जाममुक्त बनाउन ट्राफिक जनशक्ति थप्ने र हेभी लोड बोकेर आएका गाडीहरू सडकमै बिग्रिएमा तत्काल क्रेन लगाएर किनारामा सार्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।
सरकारी चालकले पनि बारम्बार ट्राफिक नियम उलङ्घन गर्ने गरेको जानकारी दिँदै उहाँले त्यस्ता चालकहरूलाई ट्राफिक नियम र सवारी सञ्चालनसम्बन्धी प्रशिक्षण दिई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको बताउनुभयो । उपत्यकाको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, इन्द्रचोक बजारक्षेत्रमा निजीबाहेकका सवारी साधन छिर्न नदिने र यस क्षेत्रको सवारी जाम घटाउन वैकल्पिक सवारी पार्किङको व्यवस्था गर्ने तयारी भइरहेको महाशाखाले
जनाएको छ ।
ट्राफिक नियमको उलङ्घन गर्ने, मापसे गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जेब्रा क्रसिङको अर्थ नबुझ्ने, जथाभावी सवारी पार्किङ गर्ने, ध्वनि तथा धुवाँ प्रदूषण बढाउने चालकविरुद्ध कानुनी कारबाही कडाइका साथ लागू गरिएको छ ।
महाशाखाका अनुसार, यो हप्तामा मात्र ५९९ वटा सवारी साधन कारबाहीमा परेका छन् । तीमध्ये ३५४ मदिरा सेवन गरी सवारी चलाएको, लामो दूरीमा चल्ने तीनवटा बसलाई दुइटा चालक नराखेको अभियोगमा कारबाही गरिएको छ ।
त्यस्तै उपत्यकाको भित्री चोकहरूमा सवारी ‘क्यु’ लाग्नु जामको समस्या नभई ट्राफिक बत्तीको समस्या हो भन्दै उहाँले हाल बन्द रहेका वा बत्ती नभएका चोकहरूमा छिट्टै ट्राफिक बत्ती जडान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ट्राफिक बत्ती जडान गर्न निरन्तर लागिपर्नु भएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार, मुलुकभर करिब ३५ लाख ३९ हजार सवारी साधनहरू दर्ता भएका छन् । तीमध्ये बागमती अञ्चलमा मात्र करिब ११ लाख ७२ हजार दर्ता भएका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?