logo
२०८१ बैशाख ७ शुक्रवार



बडादशैँ सुरु घटस्थापना गरिँदै

मुख्य समाचार |


बडादशैँ सुरु घटस्थापना गरिँदै



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदैछ ।
यसै दिनदेखि नवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र क्रमिक रूपमा चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी यी नौ दुर्गाको उपासना गरिन्छ । भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको घटना प्रसङ्ग यो बडादशैँसँग रहेको छ ।
हेटौँडाको भुटनदेवी, ललितपुरको पूर्णचण्डी, काभ्रेपलाञ्चोक नालाको उग्रचण्डी, गोरखाको मनकामनालगायत मुलुकका सबै शक्तिपीठमा देवीको उपासना हुन्छ । काठमाडौँमा नक्साल भगवती, रक्तकाली, नरदेवी, कालिकास्थान, मैतीदेवी, भद्रकाली, शोभा भगवती, पशुपति क्षेत्रको झङ्केश्वरी, गुह्येश्वरी, भुवनेश्वरी लगायतका शक्तिपीठमा घटस्थापना गरेर देवीको आराधना गरिँदैछ ।
साउन महिनामा बौद्ध विहार परिक्रमा गरी मनाइने गुँला पर्व समाप्त भई एक महिनासम्म शक्तिपीठ र देवस्थल परिक्रमा गरी मनाइने यँला शनिबारदेखि विसर्जन भई आइतबारदेखि नौरात शक्तिपीठ परिक्रमा गरिने नवरात्र मेला सुरु भएको छ । उपत्यकाका नेवार समुदायमा बाजागाजासहित नवरात्र मेला परिक्रमा गर्ने तयारी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?