logo
२०८१ बैशाख १२ बुधवार



दशैँ खर्च जुटाउन बालुवा निकाल्दै मजदुर

मुख्य समाचार |


दशैँ खर्च जुटाउन बालुवा निकाल्दै मजदुर



मुरारी अधिकारी

धादिङ, असोज १२ गते । दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या निकै बढेको छ । गएको सातादेखि त्रिशूली नदीमा बालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ ।
पर्व मनाउनका लागि नदीबाट बालुवा निकालेर बिक्री गर्ने काममा सयौँ मजदुर टाढाटाढादेखि धादिङको बैरेनी, आदमघाट, बेल्खु लगायतका स्थानमा आएका छन् । जोखिमयुक्त काम भए पनि छोटो समयमा नै मनग्य आम्दानी हुने हुँदा चाडबाड मनाउने सबैभन्दा उपयुक्त विकल्प ठानेर बालुवा झिक्न आएको मजदुर बताउँछन् । बालुवा मजदुर रामकुमार राईका अनुसार दैनिक सामान्यतया २५ सयदेखि चार हजार रुपियाँसम्म आम्दानी हुन्छ ।
जति पर्व नजिकिँदै जान्छ, त्रिशूली नदीको भेलबाट बालुवा झिकेर दैनिकी चलाउने मजदुरको खटन पनि बढ्दै जान्छ । पर्व खर्च जुटाउनका लागि त्रिशूली नदीको भेलबाट बालुवा निकाल्ने मजदुर नदी किनारमा जताततै भेटिने गरेका छन् । खाली खुट्टा त्रिशूली नदीको बीच भागसम्म पुगेर हातैले बालुवा निकाल्दैमा मजदुरको दिन बित्ने गरेको छ ।
नदी र खोलामा मेसिनको प्रयोग गर्न स्थानीय प्रशासनले कडाइ गरेपछि त्रिशूली नदीको भेलसँग पौँठेजोरी खेलेर बालुवा निकाल्ने मजदुरको सङ्ख्या ह्वात्तै बढेको छ । त्रिशूली नदीमा बालुवा निकाल्न स्थानीयभन्दा धेरै बाहिरी जिल्लाका मजदुर जम्मा भएका हुन्छन् ।
हरेक वर्ष वर्षात्को समयमा त्रिशूली नदीबाट बालुवा निकाल्नका लागि जाजरकोट, बर्दिया, खोटाङ, उदयपुर, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट मानिस आउने गर्छन् । ठूला चाडपर्वहरू पनि नजिकिएकाले चाडपर्व मनाउने खर्च जुटाउनका लागि नदीमा बालुवा झिक्ने काम गर्न आएको उनीहरू बताउँछन् ।
खोटाङबाट बालुवा निकाल्न धादिङको बैरेनीस्थित त्रिशूली नदी किनारमा आएका सन्तोष राई भन्नुहुन्छ, चाडबाड मनाउन सजिलो छैन, पैसा निकै खर्च हुन्छ, सोही खर्च जोहोका लागि नदीमा बालुवा झिक्न आएको हो । वर्षात्को समयमा भन्दा अरू बेला बालुवा निकाल्न पाइँदैन, सकिँदैन पनि । अलि बढी दुःख र जोखिम भए पनि कमाइ राम्रै हुन्छ ।
बालुवा मजदुर राई भन्नुहुन्छ, “तीन महिना मज्जासँग दुःख ग¥यो भने छ महिनालाई घरखर्च चलाउनका लागि अन्य काम गर्नुपर्दैन ।” त्रिशूली नदी र यस वरपरका खोलाबाट बालुवा झिक्ने मजदुर समूह–समूह बनाएर काम गर्दछन् । एक टिप्पर बालुवा निकालेबापत ठेकेदारबाट मजदुरले सात हजार रुपियाँसम्म पाउने गरेका छन् । १०÷१५ जनाको समूह बनाएर बालुवा निकाल्ने गरेका मजदुरले नदीमा ठूलै भलबाढी आएको दिनमा चार टिप्परसम्म बालुवा निकाल्ने गरेका छन् ।
स्थानीय निकाय, बालुवा ठेकेदारहरूको मिलेमतोका कारण मजदुरले निकालेको बालुवा बिक्री नहुने, कम पैसामा बेच्नुपर्नेजस्ता समस्या पनि प्रशस्त छन् । वर्षात्को समयमा त्रिशूलीमा बालुवाको मात्रा बढ्छ । बढी बाढी आउने समय जेठ, असार, साउन, भदौ र असोजमा बालुवा निकाल्ने मजदुर त्रिशूली नदीमा भेटिन्छन् तर जहाँतहीँ डोजरको प्रयोगले बालुवा उत्खनन गर्दा हातैले बालुवा निकाल्ने मजदुरलाई समस्या पर्ने गरेको छ ।
बालुवा मजदुर साने राई हिउँदमा डोजरको प्रयोगबाट बालुवा निकालिँदा सो स्थानमा वर्षात्को समयमा समेत काम गर्न कठिन हुने गरेको बताउनुहुन्छ । सुरक्षाको कुनै पनि विधि नअपनाउँदा बालुवा निकाल्ने मजदुरको ज्यान जोखिममा रहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?