logo
२०८१ बैशाख १३ बिहीवार


iबजारमा दशैँको रौनक



नुनदेखि सुन पसलसम्म ग्राहकको भीड

मुख्य समाचार |


नुनदेखि सुन पसलसम्म ग्राहकको भीड


यलु जोशी

काठमाडौंँ, असोज ११ गते । दशैँ सुरु भएसँगै बजारमा नुनदेखि सुनसम्मका सामानको किनमेल गर्नेको चहलपहल बढेको छ । राजधानीको केन्द्रबिन्दु नयाँ सडकमा त दशैँको रौनक अझै व्यापक छ ।
व्यापारीहरूको पनि वर्षभरिको आम्दानी हुने मुख्य समय दशैँ, तिहारजस्ता चाडमा नै भएकाले बजार चम्कन थालेको हो । स्थायी घर गोरखाका गणेश भट्टले आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गरिरहेको र राम्रो आम्दानी गरिरहेको बताउनुभयो । दशैँताका न्युरोडका पसल कबल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपका छाप्रे बजार वा चमकधमकयुक्त सुपर स्टोर्स सबैतिर किनमेल गर्नेको थामिनसक्नु भीड हुन्छ । छुट र उपहारका अनेकौँ ‘अफर’ ले खरिददारीमा उत्साह थपेका छन् ।
उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू न्युरोड, इन्द्रचोक, रञ्जना, असन, भृकुटीमण्डप, भोटाहिटी, वल्र्ड टे«ड सेन्टर, विशाल बजार, भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटी सेन्टरलगायतका ठाउँमा किनमेल गर्नेहरूको भीड लाग्न सुरु भइसकेको छ । सिभिल मल, युनाइटेड वल्ड टे«ेड र सिटी सेन्टरहरूले विविध उपहारले ग्राहक आफूतिर तानिरहेका छन् । यो समयमा यी बजारहरूमा अघिपछिको भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारी बताउँछन् ।
दशैंँमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । यसले बजारमा रौनकता छाउने गरेको विशाल बजार व्यापार सङ्घका अध्यक्ष दामोदर कार्कीले बताउनुभयो । उहाँले दशैँ मनाउनका लागि उपत्यका बाहिर जाने मानिसले आफ्नो र आफ्नो परिवारका सदस्यका लागि केही न केही नयाँ सामान उपहार लैजाने हुनाले पनि बजारमा सामान अत्यधिक मात्रामा बिक्री हुने गरेको जानकारी दिनुभयो ।
अध्यक्ष कार्कीका अनुसार दशैँमा किनमेल गर्न आउने मान्छेका लागि पार्किङ मुख्य समस्या थियो । स्मार्ट पार्किङका कारण त्यो समस्या धेरै समाधान भएको छ । कतिपयले भने नयाँ सडकको स्मार्ट पार्किङ महँगो भएको गुनासो गरिरहेका छन् ।
यतिबोल व्यापारीलाई मोलमोलाइ गरेर एकछिन पनि फुर्सद पनि छैन । नेपालीहरूमा यतिखेर एक जोर भए पनि नयाँ कपडा किन्ने प्रचलन छ । यस्तै, नयाँ सामग्री किन्ने बेला पनि यही नै हो । उपत्यकामा अन्य बेलाभन्दा दशैँ तथा तिहारमा शतप्रतिशत बढी व्यापार हुने गरेको इन्द्रचोकमा लुगा तथा ब्याग व्यापारी सम्झना महर्जनले जानकारी दिनुभयो । ‘‘यो बेला हल्का जाडो सुरु भइसकेको छ,’’ उहाँले थप्नुभयो, ‘‘त्यसैले बाक्ला र जिन्स कपडा किन्नेहरूको भीड बाक्लो छ । ’’
विशेषगरी काठमाडौँको व्यापारिक केन्द्र असनमा दशैँका लागि किनमेल गर्ने मानिसको घुइँचोका कारण छिर्नसमेत गाह्रो हुन्छ । असनमा दशैँका लागि चाहिने रातो कपडा, अदुवा, उखुको बोट किन्नेको भीड लागेको छ । त्यस्तै, धुप, कपासको बत्ती, मकै, चामल, रातो टीका, फूलजस्ता अत्यावश्यक वस्तु फुटपाथमा राखेर बेच्नेको पनि उत्तिकै भीड छ ।
न्युरोडस्थित बाराही ज्वेलर्समा सुनको औँठी खरिद गर्न आउनुभएका सुनिता रायमाझी भन्नुहुन्छ, ‘‘हरेक वर्ष दशैँमा सुनको केही न केही सामान खरिद गर्ने गरेको थिएँ, यो वर्षको सुनको भाउ साह्रै बढेकाले सानो औँठी मात्र खरिद गर्न आएको हुँ । ’’
बजारमा उपभोग्य वस्तु मात्र होइन ‘नोट’ पनि बिक्री भइरहेको छ । दशैँमा नयाँ नोट अपरिहार्यझैँ हुन्छ । त्यसैले बाटोबाटोमा व्यापारीहरू नाङ्लोमा नयाँ नोटको व्यापार गरिरहेका छन् । सय, पचास, बीस र दसको नयाँ नोट बिक्रीका लागि राखिरहनुभएको हरिप्रसाद चापागार्इंले दशैँलाई लागि नै नोट बिक्री गरेको जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘‘एक हजार रुपियाँको पैसा साट्दा नौ सय मात्र दिने सय रुपियाँ फाइदा हुन्छ । ५० हजारको नयाँ नोट साटेर बिक्रीका लागि राखेको छु । ’’ सुन्धारास्थित सिभिल मल व्यापारिक सङ्घका अध्यक्ष विजय महर्जन भन्नुहुन्छ, ‘‘मीठो खाने, राम्रो लाउने र पारिवारिक मिलनको अवसर बन्ने गरेको दशैँ अहिले उपभोगको चाड बनिसक्यो भन्दा फरक पर्दैन । ’’
यो बेला विभिन्न ‘अफर’ले सस्तो पर्ने हुँदा जुत्ता चप्पलदेखि विद्युतीय सामग्रीदेखि सवारीसाधन किन्ने अवसर दशैंँ नै हो, उहाँले थप्नुभयो, सिभिल मलमा यस्ता अफरहरू रहेकाले ग्राहक वर्गलाई सुविधा हुनेछ । पछिल्लो समय युवा पुस्ता यस्ता सपिङ सेन्टरमा किनमेलका लागि आकर्षित हुने गरेको छ । घरायसी सामानदेखि ‘रेडिमेड’ सामान एकै स्थानमा पाउने भएकाले पनि यस्ता किनमेल केन्द्रमा मानिसको आकर्षण बढ्दै गएको हो ।
मखनस्थित सुरज आर्केटमा आफ्नी छोरीका लागि लुगा किन्न आउनुभएका अशोक श्रेष्ठले जामा र जुत्ता किन्दै भन्नुभयो, ‘‘दशैँ त बालबालिकाका लागि हो । दशैँमा त बालबालिकालाई नयाँ लुगा खरिद गरिदिनुपर्छ । ’’ सुरज आर्केट (ड्यागन हाउस)मा आफूलाई, श्रीमती तथा बालबालिका सबैका लागि भरपर्दो र सस्तो सामान पाउने भएकाले सधैँ यतै आउने जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?