logo
२०८१ बैशाख १३ बिहीवार



९१ वटा नाकामा नागरिक सहायता कक्ष

मुख्य समाचार |


९१ वटा नाकामा नागरिक सहायता कक्ष


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । दशैँ–तिहार मनाउन भारतबाट स्वदेश फर्किने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमाका ९१ नाकामा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
भारतमा वर्षभरि दुःख गरी कमाएको नगद तथा सरसामान दशैँ मनाउन घर आउँदा चोरी हुने, लुटिने र ठगी हुने जस्ता समस्या नियन्त्रण गर्न भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) सँगको सहकार्यमा सहायता कक्ष स्थापना गरिएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठले भारतसँग सीमा जोडिएका प्रदेश १ को २० स्थान, प्रदेश २ को ४७ स्थान, प्रदेश ३ को एक स्थान, प्रदेश ४ को एक स्थान, प्रदेश ५ को १६ स्थान र सुदूरपश्चिम प्रदेशको छ स्थानमा सहायता कक्ष स्थापना गरिएको जानकारी दिनुभयो ।
यस किसिमको सुरक्षा व्यवस्थाले दशैँ–तिहार मनाउन घर फर्किंदै गरेका सर्वसाधारणको शान्तिसुरक्षामात्र नभई सीमा नजिक तथा सीमाभन्दा अलि टाढाको सहरबस्तीमा हुने ठगी, लुटपाट र चोरी नियन्त्रण हुने दाबी उहाँको छ । “यस किसिमको सुरक्षा व्यवस्था सुरु गरेको केही वर्षयता सीमा तथा नाकामा नेपाली लुटिएको र ठगिएको घटना दोहोरिएको छैन”, उहाँले भन्नुभयो, “देशभित्रै लुटिए–ठगिएमा नेपाल प्रहरीसँंग र भारतमा भएमा एसएसबीसँंग सहकार्य गरी अभियुक्तलाई कानुनी कारबाही तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइँदै आएको छ । ”
त्यसैगरी मुख्य तथा सहायक राजमार्गमा हुने सवारी लुटपाट, डकैती र दुर्घटना नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले सडक सुरक्षा गस्ती सुरु गरेको छ । पूर्वपश्चिम राजमार्गका अतिरिक्त तराई पहाड जोड्ने राजमार्गमा विभिन्न जिल्लाबाट सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सशस्त्र प्रहरी चाडबाडमा राजमार्ग सुरक्षामा परिचालन भएसंँगै यात्रु तथा सवारी साधन लुटिने र डकैती नियन्त्रणमा आएको भनाइ उहाँको छ । उहाँका अनुसार राजमार्गमा राति तथा दिउँसो पैदल तथा सवारी गस्ती नियमित गरिएको छ ।
राजमार्गमा हुने सवारी दुर्घटना नियन्त्रण तथा दुर्घटनामा परेकाको उद्धार र उपचारका लागि आठ स्थानमा एम्बुलेन्स उपचार सेवाको व्यवस्था गरिएको छ । पूर्वपश्चिम राजमार्गको इटहरी, महोत्तरी, पथलैया, चितवन, चन्द्रौटा, कोहलपर, अत्तरिया र कुरिनटारमा एक–एक मोबाइल अस्पतालसहितको एम्बुलेन्सको व्यवस्था गरिएको छ । एम्बुलेन्समा एउटा स्टाफ नर्स, चारजना घाइतेलाई सुताएर उपचार गर्न सकिने र आठ जनालाई बसाएर उपचार गर्न सकिने व्यवस्था रहेको जनाइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?