logo
२०८१ बैशाख ७ शुक्रवार



पत्रकारिता क्षेत्र विवेकले भरिएको प्रतिपक्ष हो - उपराष्ट्रपति

मुख्य समाचार |


पत्रकारिता क्षेत्र विवेकले भरिएको प्रतिपक्ष हो - उपराष्ट्रपति


दीपक श्रेष्ठ, 

काठमाडौँ, असोज ७ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले ज्ञान र सूचनाको सशक्त माध्यमका रुपमा रहेको पत्रकारिता क्षेत्र चुनौति र जोखिमपूर्णका साथै संवेदनशी एवं सम्मानित पेशा समेत भएको बताउनुभएको छ ।

उपराष्ट्रपति पुनले भन्नुभयो, “जनताका समस्यालाई राज्यको तहसम्म र राज्यले लिएका नीतिलाई जनतासम्म पुर्याउने पुलको भूमिकामा रहेको पत्रकारिता क्षेत्र विवेकले भरिएको प्रतिपक्ष पनि हो ।”

उहाँले नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा मंगलबार सिंहदरबारमा आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०७६ वितरण कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले जनआन्दोलन, संविधान निर्माण र कार्यान्वयनमा समेत सञ्चार जगतको ऐतिहासिक भूमिका प्रशंसा र गर्व गर्न लायक रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सूचना र समाचारले पाठकलाई दिग्भ्रमित पार्दै लगेको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “पत्रकारिताप्रति जनगुनासो बढ्दैछ । पत्रकारिताको सैद्धान्तिक मान्यता र जनविश्वास गुम्दै गएको हैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।”
उहाँले सञ्चार जगतले जनतामा आशाको सञ्चार गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाली भाषा, धर्म, संस्कृतिको संरक्षणबाट नै मुलुकको पहिचान जोगाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मातृभाषाहरु लोप हुँदैगएका छन् । तिनको संरक्षणमा साहित्य र पत्रकारिता सशक्त माध्यम हुन्छ । त्यसतर्फ सञ्चार माध्यमहरुले ध्यान दिन आवश्यक छ ।”

उप–राष्ट्रपति पुनले नेपाल टेलिभिजनका सिन्धुपाल्चोक समाचारदाता नेत्र पौडेल र इमेज च्यानलका गृष्मा राजभण्डारी, सुरेश मानन्धर र कुमार थापालाई संयुक्त रुपमा हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गर्नुभयो । सो पुरस्कार दुईवटा समाचार रिपोर्टका लागि प्रदान गरिएको हो । पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको छ । सो पुरस्कारका लागि छ वटा टेलिभिजन च्यानलबाट १५ वटा रिपोर्टबीच प्रतिस्पर्धा भएको जनाइएको छ ।

सोही अवसरमा उप–राष्ट्रपति पुनले नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीहरुलाई विभिन्न सम्मान प्रदान गर्नुभयो । वरिष्ठ पत्रकार टंक उप्रेती र शतिशचन्द्र पौडेललाई जयप्रकाश चौधरी स्मृति सम्मान प्रदान गरिएको छ । यस्तै, सुरेशराज मानन्धरलाई शशि चालिसे स्मृति सम्मान र सम्झना कर्माचार्यलाई वीरेन्द्र कार्की स्मृति सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले संसारभर नै पत्रकारिता पेशा उच्च जोखिममा रहेको बताउनुभयो ।

उहाँले जोखिमपूर्ण पत्रकारिताको पाटोलाई हेम–सुनिल पत्रकारिता पुरस्कारले उजागर गरेको चर्चा गर्दै सिंगो टेलिभिजन पत्रकारितालाई प्रोत्साहित गर्न र स्तरउन्नतिमा नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष निराजन खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, राजु सिलवाल, टेकबहादुर खड्का, नेत्र पौडेलले नेपालको जोखिमपूर्ण पत्रकारिताको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको फलेमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका नेपाल टेलिभिजनमा पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मरणमा नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले २०६४ सालमा सो पुरस्कार स्थापना गरेको हो । सो दुर्घटनामा २४ जनाको निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?