logo
२०८१ बैशाख ७ शुक्रवार



सुरुङमार्ग निर्माण सम्झौता

मुख्य समाचार |


सुरुङमार्ग निर्माण सम्झौता


भउचप्रसाद यादव

ललितपुर, असोज ७ गते । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको हो ।
ललितपुरस्थित महाशाखाको कार्यालयमा सोमबार विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र हाज्मा एन्डो कर्पोरेसनका व्यापार प्रवद्र्धन विभाग, अन्तर्राष्ट्रिय महाशाखाका महाप्रबन्धक कियोसी हिरोसेकबीच सम्झौता भएको हो ।
सम्झौतासँगै मुलुककै पहिलो सुरुङमार्गको निर्माण सुनिश्चित भएको हो । दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सो सुरुङमार्ग अबको ४२ महिनाभित्र सम्पन्न हुने छ । करसहित करिब १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो ।
सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१८ मा तयार पारिएको हो । यसैगरी सन् २०१६ मा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको थियो । शून्य दशमलव ०१ प्रतिशत व्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी सो ऋण सम्झौता भएको हो ।
कुल लम्बाइ २.७ किलोमिटर र चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बीचमा डेढ मिटर चौडाइको ‘मेडियन’ र आधा आधा मिटरको दुईवटा ‘सोल्डर’ निर्माण गरिने जानकारी विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख थापाले दिनुभयो । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम् प्रविधि प्रयोग गरिने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार कामदारको सट्टा ‘मेसिन बेस’ भएर यो सुरुङमार्ग निर्माण गरिने छ

सतुङ्गलबाट यस सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्न दुईवटा ‘फ्लाई ओभर’ निर्माण गर्नुका साथै सातवटा पुल र एघारवटा बक्स कल्भर्ट निर्माण गरिने छ । त्यसैगरी सुरुङमार्गको प्रवेशद्वार नजिकै ‘मेन्टिनेन्स बिल्डिङ’, ट्राफिक अनुगमन प्रणाली जडान गरिने छ ।
त्यसैगरी सिस्नेखोलास्थित ४४ रोपनीमा अन्तर्राष्ट्रिय स्तरको सर्भिसिङ स्टेसन निर्माण गरिने छ । त्यसमा चमेनागृह, फ्युल स्टेसन, स्थानीयद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी स्थल निर्माण गरिने छ ।
समानान्तर सुरुङमार्ग पनि
सुरुमार्गभित्र हुनसक्ने सम्भावित दुर्घटनामा छिटो उद्धार गर्ने उद्देश्यसहित साढे नौ मिटरको सुरुङमार्गसँगै समानान्तर हुने गरी चार मिटरको ‘इभ्याकुएसन टनेल’ निर्माण गरिने सो आयोजनाले जनाएको छ । एम्बुलेन्स र मानिस जाने आउने गरी निर्माण गरिने चार मिटरको सुरुङमार्ग हरेक ३५० मिटरमा ठूलो सुरुङमार्गसँग जोडिने छ ।
सुरुङभित्र दुर्घटना वा समस्या भएको अवस्थामा छिटोभन्दा छिटो उद्धार र बाहिर निस्कन मात्र यो सुरुङमार्ग प्रयोग गरिने छ । मुख्य सुरुङमार्गभन्दा तीस मिटरको दूरीमा रहने यो सुरुङमार्ग अरू बेला बन्द रहने छ ।
तीनवटा ‘कम्पोनेन्ट’मा भुक्तानी
नेपाली रुपियाँ, यूएस डलर र जापानी येनमा गरी तीनवटा ‘कम्पोनेन्ट’ यो आयोजनाको लागत भुक्तानी गरिने जानकारीसमेत महाशाखा प्रमुख थापाले दिनुभयो । नेपाली रुपियाँमा साढे पाँच अर्ब, यूएस डलरमा ६७ लाख र जापानी येनमा साढे सात अर्ब भुक्तानी गरिने गरी सम्झौता भएको जानकारी थापाले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?