logo
२०८१ बैशाख १३ बिहीवार



मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

मुख्य समाचार |


मुग्लिन–पोखरा सडक  चार लेनको बन्ने


भउचप्रसाद यादव काठमाडौँ, असोज ६ गते । साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिनुभयो । सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी खण्ड विस्तार गरिने छ । सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिनुभयो । उहाँका अनुसार ऋण सहयोगका लागि एडीबीसँग सम्झौताको तयारी भइरहेको छ । आँबुखैरेनीदेखि पोखरासम्म करिब ८० किलोमिटर दूरी पर्छ । मुग्लिनदेखि आँबुखैरिनीसम्मको दूरी १३ भने किलोमिटर छ । प्रवक्ता सापकोटाका अनुसार गाउँबस्ती क्षेत्रमा ‘सर्भिस ट्र्याक’सहित सो सडक छ लेनको र अन्य ठाउँमा चार लेनको हुनेछ । त्यसैले गाउँबस्तीमा सो सडकको चौडाइ ४० मिटर अन्य स्थानमा २५ मिटर हुनेछ । सो सडक विस्तारका लागि करिब बीस अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । ‘सिग्नेचर पुल’ निर्माण गरिने सो सडकमा पर्ने दमौलीमा रहेको पुल, पोखराको सेती पुललाई ‘सिग्नेचर पुल’का रूपमा निर्माण गरिने जानकारीसमेत प्रवक्ता सापकोटाले दिनुभयो । यी पुलहरूको अध्ययन र डिजाइन कार्य अहिले भइरहेको जानकारीसमेत उहाँले दिनुभयो । अध्ययन र डिजाइनपछि ठेक्कापट्टाको कामलाई अगाडि बढाइने छ । यो सडक र पुलको विस्तारसँगै पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत सघाउ पुग्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?