logo
२०८० चैत्र १५ बिहीवार



नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सैद्धान्तिक बहस हुने

मुख्य समाचार |


नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सैद्धान्तिक बहस हुने


सुरेशकुमार यादव

काठमाडौँ, असोज ५ गते । चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताउनुभयो ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता रहने छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग, स्कुल विभाग, सङ्गठन विभागका केही नेता नेपाल आइपुगेका छन् भने विदेश विभाग प्रमुख सोङ ताओ शनिबार आइपुग्ने उपप्रमुख देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने छ । पौडेलले भन्नुभयो, “प्रतिनिधिहरूले आआफ्ना पार्टीका कुरा अदानप्रदान गर्ने कार्यक्रम छ । ’’ कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट तीन जना र नेकपाका तर्फबाट तीन जनाले मुख्य अवधारणा राख्ने तयारी छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्नुहुने छ भने कार्यक्रमको अध्यक्षता स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले गर्नुहुने छ । अन्तरक्रिया कार्यक्रम सैद्धान्तिक विषयमा केन्द्रित हुने बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल भ्रमणमा आउने चर्चा चलिरहँदा हुन लागेको यो अन्तरक्रिया कार्यक्रमले दुई देशको कम्युनिस्ट विचारधारालाई स्पष्ट पार्ने विश्वास लिइएको छ । औपचारिक कार्यतालिका आइनसके पनि राष्ट्रपति सीबाट यसै महिनाको अन्त्यमा नेपालको भ्रमण हुन सक्ने जनाइएको छ ।
यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रसँग छुट्टाछुट्टै सम्बन्ध थियो । अहिले दुई पार्टी एकीकृत भएपछि सम्बन्धलाई नयाँ ढङ्गबाट अगाडि बढाउन केही सम्झौता हुन सक्छ तर त्यो छलफलकै क्रममा रहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?