logo
२०८० चैत्र १६ शुक्रवार



संविधान दिवस विशेष समारोह भव्य बनाउन २० बुँदे निर्देशन

मुख्य समाचार |


संविधान दिवस विशेष समारोह भव्य बनाउन २० बुँदे निर्देशन


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले सैनिक मञ्च, टुँडिखेलमा असोज ३ गते आयोजना हुने विशेष समारोह भव्य र व्यवस्थित बनाउन २० बुँदे निर्देशन दिएको छ ।
समारोहमा उपस्थित हुनुहुने अति विशिष्ट तथा आमन्त्रित पाहुनाका लागि त्रुटिरहित सुरक्षाको व्यवस्था मिलाउन सबै सुरक्षा निकायलाई सचेत गराइएको छ ।
प्रधानमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यसअघि बसेको बैठकले स्वीकृत गरेका कार्यक्रमलाई थप प्रभावकारी बनाउने क्रममा सचिवालयले यस्तो निर्देशन जारी गरेको हो ।
ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुन लागेको समारोह भव्य र व्यापक रूपमा मनाउन सक्रियतापूर्वक क्रियाशील हुन् सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग, कार्यालय वा निकायलाई पत्राचार गरिएको छ ।
गृह मन्त्रालयका सचिव तथा मूल समारोह समितिका सदस्यसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको समीक्षात्मक बैठकपछि खुला मञ्च टुँडिखेलको दक्षिण खुला परिसरमा १० हजार कुर्सी राख्न निर्देशन दिइएको छ । काठमाडौँ महानगरपालिकाले पाँच हजार कुर्सीको व्यवस्था गरेकोमा थप पाँच हजार कुर्सी थपेर १० हजार कुर्सी राख्न निर्देशन दिइएको हो ।
प्रभातफेरीसहित कार्यक्रमस्थलमा आउने कर्मचारी, स्थानीय तहका वडा सदस्यहरूलगायत सर्वसाधारण नागरिकलाई बस्नका लागि कुर्सीको व्यवस्था गरिन लागेको हो । साथै समारोहमा शान्तिको प्रतीक छ जोर परेवाको व्यवस्था गर्न र आवश्यकताबमोजिम फूलका गुच्छाको व्यवस्था गर्न महानगरपालिकालाई जिम्मा दिइएको छ ।
महानगरपालिकाको समन्वयमा काठमाडौंँ खानेपानी लिमिटेडले उपस्थित सबै सहभागीका लागि स्वच्छ पिउने पानीको व्यवस्था गर्न, महानगरपालिका, नेपाली सेना र नेपाल प्रहरीले कम्तीमा आठवटा घुम्ती शौचालयको व्यवस्था मिलाउन भनिएको हो ।
गृह मन्त्रालयका उपसचिव हरिप्रसाद पन्तका अनुसार कार्यक्रमस्थल प्रवेश एवं ट्राफिक व्यवस्थापनसमेत सहज बनाउन चारवटा ‘कार्यक्रमस्थल प्रवेशद्वार’ बनाइने छ । भद्रकाली, राष्ट्रिय सभागृह, सुन्धारा र नेपाल वायु सेवा निगमको भवनअगाडि प्रवेशद्वार रहने छन् ।
यसैगरी दिवसका अवसरमा सेवाग्राहीलाई सहुलियत र विशेष छुट दिने व्यवस्थाको जानकारी आआफ्नो सञ्चारमाध्यमबाट गर्न पनि निर्देशन दिइएको छ । त्यसरी छुट दिइएको जानकारी छापा तथा विद्युतीय सञ्चारमाध्यमले व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्ने छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?