logo
२०८१ बैशाख ६ बिहीवार



इजरायलमा संसदका लागि मतदान शुरु   

अन्तर्राष्ट्रिय |


इजरायलमा संसदका लागि मतदान शुरु   



जेरुसलेम, भदौ ३१ गते ।  इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो ।    
    
इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा हुनुहुन्छ । भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिनु भएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा हुनुहुन्छ, तर चुनावी मत सर्वेक्षणले उहाँको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन् ।    
    
यस चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुँदैछ ।    
    
दुबै पार्टीले एकल बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन् । इजरायली मतदाताको पछिल्लो रुझान गठबन्धन सरकारतर्फ झुकेको देखिएको छ ।    
    
यसअघि गत अप्रिलमा संसदका लागि आमनिर्वाचन भएको थियो । उक्त चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बन्न सफल भएपनि पूर्ण बहुमत हासिल गर्न असफल रहेको थियो । साना दलको सहयोग लिएर सरकार बनाए पनि अभिगडोर लिबरम्यानको दलले सरकारमा सहभागी हुन अस्वीकार गरेको थियो । लिबरम्यानका कारण सरकार अल्पमतमा परेपछि नेतान्याहुले    
संसद बिघटन गरी नयाँ निर्वाचनको मिति तोक्नु भएको थियो ।    
    
चुनावी मत सर्वेक्षणमा नतिजामा खासै फेरबदल हुने सम्भावना देखिएको छैन, र लिबरम्यान फेरि पनि सरकार गठनमा मुख्य व्यक्तिका रुपमा देखिँदै छन् ।    
    
चुनावका लागि मतदान केन्द्रहरु खुला भइसकेका छन् । चुनावको मतगणना स्थानीय समय अनुसार रातभरमा सार्वजनिक भइसक्ने छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप