logo
२०८१ बैशाख ८ शनिवार

  स्वास्थ्य संस्थामै सुत्केरीको मृत्यु !

‘जतकाल’ बन्यो सुत्केरीको काल रक्तश्राव हुँदा सासुले छुनै मानिनन्

पढ्नै पर्ने |


‘जतकाल’ बन्यो सुत्केरीको काल रक्तश्राव हुँदा सासुले छुनै मानिनन्
रक्तश्राव भई स्वास्थ्य संस्थामा मृत्यु भएकी २१ वर्षिया सुत्केरी महिला गोमती चाँड । तस्वीरः समाजिक सञ्जाल ।


गोकर्ण दयाल,
बैतडी, भदौ ३० गते । ‘जतकाल’ अर्थात् सुत्केरी महिलाको कालका रुपमा अथ्र्याईने दुई जिउकी एक महिलाको स्वास्थ्य संस्थामै रक्तश्राव हुँदा मृत्यु भएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्वर १, की २१ वर्षिया सुत्केरी गोमति चाँडको स्थानीय स्वास्थ्य संस्थामै शिशु जन्मेको १२ घण्टासम्म रक्तश्राव नरोकिदा मृत्यु भएको हो ।

शिवनाथ गाउँपालिका १, तेर्साबाटा भल्यामा रहेको सामुदायिक स्वास्थ्य ईकाईमा शनिबार बेलुकी ७ बजे सुत्केरी हुन आएकी गोमतिले राती १ः३० बजे शिशु जन्माईन् । सुत्केरी भएपछि रक्तश्राव रोकिएन् । स्वास्थ्य संस्थामा रक्तश्राव रोक्ने औषधि थिएन ।

साथमा आएकी गोमतिकी सासु लछुदेवी चाँडले सुत्केरी बुहारीलाई छुन मान्नु भएन । राती डेढ बजेदेखि रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा तड्पिएकी गोमतिको आईतबार दिउँसो २ बजे मृत्यु भयो ।
यो घटनाका साक्षी अरु कोही नभएर सास्थ्य संस्थाका अहेब पदमसिंह साउद र अनमि भूमेश्वरी महर र सासु लछुदेवी चाँड थिए ।

सुत्केरीको मृत्यु भएपछि अहेव पदमसिंह साउदले भन्नुभयो,– “स्वास्थ्य संस्थामा रक्तश्राव रोक्ने औषधि थिएन । अनमि पनि त्यति तालिम प्राप्त होईनन् । परिवारलाई अन्त लैजान भने पनि उहाँको सासुले छुन मान्नु भएन । अन्त खबर गर्न पनि स्वास्थ्य संस्था रहेको ठाउँमा फोन लाग्दैन । १२ घण्टापछि सुत्केरीको मृत्यु भयो । घटनाले साह्रै दुःखी बनाएको छ”

सुत्केरी गोमतिले जन्म दिएका शिशुको अवस्था सामान्य रहेको स्वास्थ्य संस्थाले जानकारी दिएको छ । सुत्केरी महिलाका श्रीमान दानसिंह चाँड रोगारीका लागि भारत जानु भएको छ ।

सुत्केरीको मृत्यु भएपछि मात्रै स्वास्थ्यकर्मी र सुत्केरीका आफन्तले गाउँपालिकामा खबर गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो ।

अध्यक्ष साउदले भन्नुभयो, “समयमै खबर गरेको भए हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार गरेर ज्यान बचाउन सकिन्थ्यो । १२ घण्टासम्म सुत्केरी महिला तड्पिर मृत्यु हुनु गम्भीर कुरा हो । गाउँपालिका यो विषयमा अत्यन्तै दुःखी बनेको छ । यसमा स्वास्थ्यकर्मी र परिवारले ठूलो लापरबाही गरेका छन् ।”

रक्तश्राव भएर मृत्यु भएकी गोमतिको पोष्टमार्टम गर्न शिवनाथबाट मेलौली नगरपालिकामा रहेको केशपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रवक्त ईन्सपेक्टर किसन चन्दले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?