logo
२०८१ बैशाख ७ शुक्रवार



अपडेटः गोली प्रहार गरी हत्या ! पाँच लाख लुटियो

खुला |


अपडेटः गोली प्रहार गरी हत्या ! पाँच लाख लुटियो


लक्षमण पौडेल,

भैरहवा, भदौ २९ गते । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधई क्षेत्रमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।

भैरहवा स्थित हिमालयन बैंकबाट रकम लिएर घरतर्फ जाँदै गरेका महेन्द्र कुर्मीमाथि आइतबार दिउँसो गोली प्रहार भएको हो । गोली प्रहार गर्ने समुहले उहाँको साथमा रहेको पाँच लाख लुटेर लगेको छ ।

ओमसतीया गाउँपालिका वडा नं. ५ बस्ने कुर्मीको गोली प्रहारबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा बैंकबाट पैसा निकालेर धकधईतर्फ जाँदै हुनुहुन्थ्यो । उहाँको बायाँ कुममा गोली लागेको छ । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ । यद्यपि साँझसम्म अभियुक्त पक्राउ परेका छैनन् ।

बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाने क्रममा मोटरसाइकलमा सवार दुईजना युवाले उहाँलाई गोली हानी रकम लुटेर फरार भएको संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गोली प्रहार गर्ने युवाले प्रयोग गरेको मोटरसाइकलको नम्बर प्लेटमा रातो रंग दलिएको थियो । नम्बर प्लेट नचिनिएकाले पनि अभियुक्त पक्राउ पर्न ढिलाई भएको प्रहरीको भनाइ छ ।

चारैतर्फका नाकामा प्रहरी परिचालन गरी खोजतलाश तीव्र पारिएकाले अभियुक्तलाई चाँडै पक्राउ गरिने पनि प्रहरीले जनाएको छ ।

 

यो पनि...

गोली प्रहार गरी एक जनाको हत्या

दीपक ज्ञवाली,

बुटवल, भदौ २९ गते । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ मा गोली चलेको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले बताउनुभयो ।

आईतबार दिउँसो गोली लागेर ओमसतिया गाउँपालिका ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । गोली कस्ले चलायो भन्ने बारे पत्ता लागिनसकेको प्रहरीको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?