logo
२०८१ बैशाख ८ शनिवार



डेङ्गुको सङ्क्रमण बढ्दो

मुख्य समाचार |


डेङ्गुको सङ्क्रमण बढ्दो


राजविराज, भदौ २५ गते । सप्तरीमा डेङ्गु रोगका थप दुई जना बिरामी भेटिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गर्न आएका राजविराज–८ का २० वर्षीया आशिकी यादवमा डेङ्गुको सङ्क्रमण भेटिएको छ ।

यादवको रगत जाँच गर्दा डेङ्गु सङ्क्रमित भएको पाइएको अस्पतालका चिकित्सक रविरञ्जन प्रधानले जानकारी दिनुभयो । एक दिनअघि उपचारका लागि आएका कञ्चनरूप नगरपालिका बैरवाका राजेन्द्र पञ्जियारलाई पनि डेङ्गको पुष्टि भएको थियो । यता जिल्लामा सात जना डेङ्गुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने रोग भएकले यसलाई एक प्रकारको ज्वरो भनिन्छ । लामखुट्टे ग्रामीणभन्दा सहरी क्षेत्रमा बढी हुन्छ । स–साना पानीको पोखरीमा यसले फुल पार्छ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्याङ्की आदिमा यस्तोे लामखुट्टेले फुल पार्छ । यस्ता कुरामा ध्यान दिई सफा राख्नुपर्छ ।

डेङ्गु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यसको भाइरस डेङ्गु १, २, ३ र ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यस्तो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गुको सङ्क्रमण भएपछि एक्कासि उच्च ज्वरो आउनु, ज्वरो पाँच–सात दिनसम्म रहन सक्ने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, हाडजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाक्वाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्ने बताएका छन् ।

डेङ्गु देखापरेपछि सरसफाइ अभियान
सिरहा, भदौ २५ गते । छिमेकी नगरपालिका गोलबजारमा डेङ्गुका बिरामी देखापरेपछि धनगढीमाई नगरपालिकाले सरसफाइलाई तीव्रता दिएको छ । धनगढीमाई नगरपालिकाले नगर क्षेत्रका बजार तथा चोकहरूमा लाग्ने हाटबजार, पानी जम्ने स्थान र नालाहरू सफा गर्ने एकीकृत सरसफाइ अभियानलाई अगाडि बढाएको छ । उक्त अभियानअन्तर्गत नगर क्षेत्रमा सक्रिय रहेका प्रमुख राजनीतिक दलका स्थानीय अगुवा र सामाजिक अभियन्ताहरूलाई समावेश गरेर नगर क्षेत्र सफा गर्ने, घरदैलोमा गएर डेङ्गु सार्ने लामखुट्टेबारे जानकारी दिने तथा सरसफाइ जागरण सञ्चालन गर्ने गरिएको छ ।

‘डेङ्गु सार्ने लामखुट्टेले यो राजनीतिक दलको नेता कार्यकर्ता र त्यो राजनीतिक दलको नेता कार्यकर्ता भनेर चिन्दैन’, गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रत्यासी पञ्चलाल महतोले भन्नुभयो, छिमेकी नगरपालिकामा डेङ्गुका बिरामी भित्रिइसकेको छ, त्यसैले हामीले पनि यसको नियन्त्रण र रोकथामका लागि साझा अभियान नै सञ्चालन गरेका छौँ ।

धनगढीमाई नगरपालिकाका प्रवक्ता प्रकाश योञ्जनले डेङ्गु नियन्त्रण अभियान स्वार्थरहित हुनुपर्ने सबै राजनीतिक दलको साझा धारणा र सहभागिताले यो अभियान सञ्चालन भएको जानकारी दिँदै भन्नुभयो, सरसफाइप्रति यहाँ राजनीतिक खिचातानी नहुँदा यो नगरपालिका जिल्लाकै सबैभन्दा पहिलो खुला दिसामुक्त नगरपालिका बनेको छ, अहिले डेङ्गुको प्रभावलाई निषेध गर्न फेरि सबैको सहभागितामा डेङ्गुको अन्डा र लार्भा खोज्नुको साथै टोल–टोल सफा गरेर हिँडिरहेका छौँ ।

गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहको परिवारमै केही दिनअगाडि डेङ्गुको बिरामी देखिएपछि सिरहा जिल्लामा डेङ्गुको त्रास भित्रिएको हो । गोलबजार नगरप्रमुख साहका पत्नी विशेश्वरी साह, छोराबुहारी रागिनी साह, सात वर्षीय नाति ओजस साह तथा रागिनीका भाइ दीपेन्द्र साह डेङ्गुबाट प्रभावित हुनुभएको थियो । त्यसमध्ये दीपेन्द्रको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ भने अन्य निको भएर घर फर्किसक्नुभएको छ ।

यसबाहेक गोलबजारका अन्य सर्वसाधारणमा पनि डेङ्गुको असर पर्न सक्ने सम्भावनालाई व्यक्त गर्दै गोलबजार नगरपालिकाले नगरभित्र डेङ्गुका बिरामी खोज्न शिविर सञ्चालन गर्नुका साथै लामखुट्टेनाशक औषधिसमेत छर्कन सुरु गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?