logo
२०८० चैत्र १५ बिहीवार



संसद्का गाडी खरिदमा अनियमितता देखिएन

मुख्य समाचार |


संसद्का गाडी खरिदमा अनियमितता देखिएन


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १७ गते । खरिद प्रक्रिया मिलेको तर उपलब्ध गराइएका गाडीका केही पार्टस्मा त्रुटि रहेको निष्कर्षसहित गाडी खरिदका विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पारेको छ । समितिले मङ्गलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले धेरै विषय कार्यान्वयनको स्वविवेकीय अधिकार सभामुखलाई नै दिनेगरी प्रतिवेदन तयार पारेको छ ।
समितिले सार्वजनिक खरिदको प्रक्रिया तथा प्राविधिक विषयमा अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको हो । ‘‘हामीले प्रतिवेदन तयार पारेका छौँ । खरिद प्रक्रियाका सबै कागजात मिलेकै छन् । केही गाडीका पार्टस् एसेम्बल गर्दा त्रुटि भएको छ । गाडी उत्पादनपछिको परीक्षण प्रमाणपत्र भने सन् २०१७ को मात्र पेस भएको छ । यो विषय निकै प्राविधिक पनि छ,” छानबिन समितिका एक सदस्यले भन्नुभयो ।
समितिले बिक्रेताबाट उक्त प्रमाणपत्रलाई ताकेता गरे पनि दुई वर्षअघिकै प्रमाणपत्र आधिकारिक भएको जवाफ दिएको छ । त्रुटि भएका पार्टस् परिवर्तन हुनुपर्ने सुझाव पनि समितिले दिएको छ । कुनै पनि ठोस निष्कर्ष समितिले निकाल्न सकेन ।
सङ्घीय संसदका सभापतिहरूका लागि खरिद गरिएका गाडीमा समस्या आएको गुनासो सभापतिबाटै भएपछि सभामुख कृष्णबहादुर महराले पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । कुल १६ वटा गाडी खरिदको निर्णय सचिवालयले वैशाखमा ५ वटा गाडी सचिवालयले प्राप्त गरेको थियो । त्यसमध्ये ११ वटा गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन् । सचिवालयले महिन्द्रा एस–पाइभ स्कोर्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?