logo
२०८१ बैशाख १२ बुधवार



बढ्दै किशोरी आमा

मुख्य समाचार |


बढ्दै किशोरी आमा



शिवा तामाङ

काठमाडौँ, भदौ १५ गते । “रातभर सुत्न पाउँदिनँ, अनिँदो रहनुपर्दा दिनमा नि काम गर्न सक्दिनँ अनि सुुरु हुन्छ सासूको कचकच,” यी भनाइ हुन् १६ वर्षमै भागी विवाह गरेपछि १७ को उमरमै आमा बनेकी सवनम स्याङ्तानको ।
नुवाकोट तादी गाविस, अमारे–६ निवासी आफैँ खेल्ने उमेरकी स्याङ्तानले बच्चा जन्माएपछि पाएको सास्ती बयान गर्दै भन्नुहुन्छ, “मैले स्याहार्न नजानेर हो कि, के भएर हो, बच्चा धेरैजसो रातभर रोइरहन्छ, बच्चालाई रुवाएको भन्दै घरका सबैले गाली गर्छन् ।”
सवनमले २०७४ सालको एसईई परीक्षा दिएपछि नतिजा पनि नकुरी प्रेमीसँग भागेर विवाह गर्नुभयो । त्यसको एक वर्षपछि नै आमा बन्नुभयो । “विवाह छिटो गर्नुहुन्न भनेर नजानेको पनि होइन, परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने पनि थाहा थियो तर श्रीमान्लाई छिट्टै बच्चा चाहियो, उहाँले पढ्नुभएको छैन, विवाह र बच्चा पाउने उमेरबारे मैले जानेर पनि व्यवहारमा लागू गर्न नसक्दाको परिणाम म झेल्दैछु,” उहाँ भन्नुहुन्छ ।
हाल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना भई बच्चा जन्मने दिनको पर्खाइमा रहेका सुवास थिङको जोडीको वास्तविक कथा पनि सानै उमेरमा गर्भवती हुुनुको बेफाइदासँगै जोडिएको छ । सुवासकी श्रीमती डोल्मा पनि कक्षा ८ मा पढ्दै हुुनुहुन्थ्यो । कक्षा १० मा पढ्ने सुवाससँगको प्रेम सफल बनाउन भागेर विवाह गर्नुभयो । १७ वर्षको उमेरमा आमा बन्न लाग्दा पेटमा बच्चा नबढ्ने समस्या भएकाले अस्पताल नै भर्ना भएर उपचार गराइरहनुभएको छ ।
नुवाकोट बेलकोट गाविस, देउरालीका डोल्मालाई गाउँको स्वास्थ्य चौकीले थापाथलीस्थित प्रसूति अस्पताल जान सुझाव दिएपछि यहाँ आउनुभएको हो । बच्चा जन्मने समयभन्दा एक महिना अगाडिदेखि अस्पताल भर्ना हुनुपर्दा खर्चको पिरलोले सुवास छटपटिरहनुभएको छ । दुवैको उमेर सानो छ, रोजगारी पनि छैन, आमाबुवा बन्नुको जिम्मेवारीको बोझले थिचिएको अनुभव गरिरहेको सुवासले बताउनुभयो ।
कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यस्तो सन्देश दिने जिङ्गल सुने पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या भने अहिले पनि कम छैैन । सानै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै रहेको अस्पतालको तथ्याङ्कले पनि देखाउँछ ।
पनौती नगरपालिका–१० खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्कअनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना त २० वर्षभन्दा कम उमेरका किशोरी छन् । सो अस्पतालका इन्चार्ज जनस्वास्थ्य अधिकृत शुभाकर श्रेष्ठले भन्नुभयो, “सो स्वास्थ्य चौकीमा ग्रामीण इलाकाका महिला प्रसूति सेवा लिन आउँछन् । ग्रामीण भेगमा स्कुले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी उमेरमै आमा बन्नेको सङ्ख्या बढिरहेको छ ।” साथै किशोरी उमेरका गर्भवती जाँच गराउन आउँदा पर्न सक्ने शारीरिक, मानसिक र आर्थिक सबै प्रकारको समस्याका बारेमा सम्झाएर पठाउने गरेको जानकारी उहाँले दिनुभयो । राजधानीमै रहेको प्रसूति सेवा दिने मुलुककै जेठो अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार २२ हजार १४७ जनाले प्रसूति सेवा लिएकामा दुई हजार ६८५ जना २० वर्षभन्दा कम उमेरका छन् ।
त्यति मात्र होइन, सात जना १२ देखि १४ वर्ष उमेर समूहका थिए ।
यस्तै महाराजगञ्जस्थित शिक्षण अस्पतालको तथ्याङ्कले पनि किशोरी उमेरमा आमा बन्नेको सङ्ख्या अहिले पनि कायमै रहेको देखाउँछ । गत आर्थिक वर्षमा त्यस अस्पतालमा प्रसूति सेवा लिएका पाँच हजार ९१ जनामध्ये १७० जना २० वर्षभन्दा कम उमेरका थिए । गत वर्षको भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी (संहिता) ऐन २०७४ को पारिवारिक कानुनको परिच्छेद १ का अनुसार विवाह गर्ने उमेर केटा र केटीको २० वर्ष तोकिएको छ ।
उमेर नपुगी विवाह गर्दा कतैबाट उजुरी परे गल्तीको प्रकृति हेरी (जबर्जस्ती वा ललाइफकाई) विवाह गराउने घरपरिवार वा नातेदारसमेतलाई कारबाही हुने अधिवक्ता राजु खड्का बताउनुहुन्छ । २० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनी रूपमा त्यसले मान्यता नपाउनेसम्मको प्रावधान रहेको अधिवक्ता खड्काको भनाइ छ । सरकारले कानुन नै बनाएर विवाह गर्ने उमेर २० वर्ष तोके पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा सानैमा विवाह गर्ने प्रवृत्तिलाई रोक्नु ठूलो चुनौती देखिएको छ ।

कम उमेरमै विवाह  गर्ने क्रम रोकिएन

शान्ति लामा

काठमाडौँ, भदौ १५ गते । बर्दिवासमा बसोबास गर्दै आएको राम्रो परिवारबाट माग्न आएपछि सिन्धुलीका होमनाथ पोखरेलले परिवारको सल्लाह र छोरीसँगको परामर्शमा गएको फागुनमा छोरीको विवाह गर्ने पक्का गर्नुभयो । विवाहको मिति तोकियो र आफन्तलाई निम्ता पनि गरियो ।
सबै तयारी पूरा भयो र विवाहको दिन आउन एक साता मात्रै बाँकी थियो । ‘एक कान, दुई कान, मैदान’ भनेझैँ छोरीको विवाहले चर्चा पायो र हुने बेहुलीको उमेर २० वर्ष पुग्न दुई महिना बाँकी रहेको कुरा बाहिर आयो ।
वडाध्यक्षदेखि गाउँपालिका प्रमुख र प्रहरीले पनि उमेर नपुगी विवाह नगर्न दबाब दिएपछि पोखरेल बेचैन हुनुभयो । जेठको पहिलो साता उमेर पुग्ने भएकाले विवाह सार्ने प्रस्ताव उहाँले केटा पक्षसँग राख्नुभयो तर नमानेपछि भगाएर फत्तेपुरमा लगेर आफन्तकहाँबाट छोरीको विवाह गरिदिनुभयो । विवाहमा धेरै आफन्त पनि आएनन् ।
यस्तै नुवाकोट घर भई काठमाडौँको एउटा विद्यालयमा कक्षा १२ मा पढ्दै गरेका १८ वर्षका तामाङ थरका किशोर र नुवाकोटमै बस्दै आएकी १७ वर्षकी किशोरीबीच मायाप्रेम बढ्दै गयो । तामाङले किशोरीलाई भगाएर काठमाडाँैं ल्याए । दुवै पक्षका अभिभावकका बीच कुरा भयो तर उमेर नपुगेका कारण विवाह पनि हुन सकेन ।
यी त प्रतिनिधि घटना मात्रै हुन् । नेपालको ७७ जिल्ला र ७५३ वटै स्थानीय तहमा यस्ता उमेर नपुगी भागेर विवाह गर्ने र कानुनलाई चुनौती दिने कार्य अझै पनि कायमै छन् । गत वर्ष जारी भएको मुलुकी देवानी संहिताले विवाहका लागि केटा र केटीको उमेर २० वर्ष भएको हुनुपर्ने व्यवस्था ग¥यो ।
‘बिहेबारी बीस वर्ष पारि’ भन्ने नारा नै भए पनि लुकेर अवैधानिक विवाह गर्ने प्रचलन हाम्रो समाजमा अझै कायमै छ । कतिपय परिवारले अन्जानमै विवाह गराउँदै आएका छन् भने कतिले कानुनलाई चुनौती दिँदै कम उमेरमै आफ्ना सन्तानको विवाह गरेको पाइन्छ ।

आधाभन्दा बढीको १८ वर्षमै विवाह
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालका ५२ प्रतिशत महिलाले १८ वर्षमा विवाह गरेका छन् । १८ वर्षमा विवाह गरिसक्ने पुरुषको सङ्ख्या भने १९ प्रतिशतमात्र रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले १५ देखि १९ वर्षका १७ प्रतिशत किशोरी पहिलोपटक आमा बनिसकेका वा गर्भवती भएको देखाउँछ । सबैभन्दा बढी प्रदेश २ मा २७ प्रतिशत किशोरी आमा बनेको तथ्याङ्क छ । राष्ट्रिय जनगणना २०६८ अनुसार एक लाख ३८ हजार १५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको उल्लेख छ । जसमा बालिका एक लाख १५ हजार १५० जना छन् भने बालकको सङ्ख्या २२ हजार ८६५ रहेको छ ।
यसैगरी १३ लाख ६३ हजार १०७ जनाको विवाह १० देखि १४ वर्षको उमेरमा भएको पाइन्छ ।
सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनले गरिबी, शिक्षाको कमी, प्रथा, परम्परा, सामाजिक दबाब, दाइजो, कानुनको अनभिज्ञता जस्ता कारण बालविवाह हुने गरेको देखिएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले शिक्षामा पहुँच भएका बालबालिकाको बालविवाहको दर कम रहेको देखाउँछ । बालविवाहको स्थिति सहरमा भन्दा बढी गाउँमा रहेको छ । यसरी किशोरी उमेरमा नै विवाह भई बच्चा जन्माउनु पर्दा महिलाको स्वास्थ्यमा असर पर्ने विज्ञ बताउँछन् ।
नेपालको संविधानको धारा ३९ को बालबालिकाको हकअनुसार कुनै पनि बालबालिकालाई बालविवाह गर्न नपाइने व्यवस्था गरेको छ । त्यस्तै मुलुकी देवानी संहिताले २० वर्ष नपुगी गरेको विवाह बदर हुने व्यवस्था गरेको छ ।
सरकारले २०७२ सालमा बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीति बनाएको छ । रणनीतिले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य राखिएको छ । त्यस्तै प्रदेश ३ ले पनि गएको असार ९ गते बालविवाह अन्त्यसम्बन्धी प्रादेशिक रणनीति, २०७६ स्वीकृत गरेको छ ।
त्यस्तै क्षेत्रीय रूपमा सन् २०१४ नोभेम्बर ७ मा ‘दक्षिण एसियाबाट बालविवाह अन्त्यका लागि काठमाडौँ आह्वान’ पनि पारित भएको छ तर सरकारको लक्ष्य र कार्यक्रमबीच भने तालमेल भएको देखिँदैन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा महिला तथा बालबालिका विभाग छ तर बालविवाहकै विषयमा कुनै कार्यक्रम छैन तर विभागसँग किशोरीको जीविकोपार्जनसम्बन्धी सहयोग गर्ने तालिमका केही कार्यक्रम भएको हुनाले यही कार्यक्रममा बालविवाह न्यूनीकरणमा भने सहयोग पु¥याउने विभाग प्रमुख शान्ता भट्टराई बताउनुहुन्छ ।

कानुन पुनरवलोकन गर्न सुझाव
केही दिनअघि नेपालगञ्जमा मधेसी समुदायका महिलाले १६ वर्षमा नै आफ्ना सन्तानको विवाह गर्न पाउनुपर्ने माग राखेर प्रदर्शन गरे । पुरानो मुलुकी ऐनमा महिलाको उमेर १८ र पुरुषको २० वर्ष विवाहयोग्य उमेरका रूपमा व्यवस्था गरेको थियो । नयाँ देवानी संहिता लागू भएपछि त्यो व्यवस्था खारेज भई महिला पुरुष दुवैको २० वर्ष उमेरलाई विवाहयोग्य बनाइयो । यो कानुन लागू भएको एक वर्ष पनि नबित्दै सन्तानको विवाह गर्न अप्ठेरो परेको भनी मधेसी महिला आन्दोलनमा उत्रिएका छन् ।
यो आन्दोलन र अन्य ठाउँमा पनि विवाहसम्बन्धी कतिपय व्यावहारिक झन्झट हेर्दा यो कानुन नै पुनरवलोकन गर्नुपर्ने हो कि भन्ने प्रश्न कतिपयले उठाउन थालेका छन् । सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला तथा बालबालिका विभागका प्रमुख शान्ता भट्टराई पनि कानुन पुनरवलोकन गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
एक व्यक्तिले १६ वर्षको उमेरमा नागरिकता प्राप्त गर्छ र ऊ १८ वर्षमा बालिग हुन्छ । त्यस्तै १८ वर्ष उमेर पूरा भएपछि लोकसेवा आयोगको परीक्षा दिई सरकारी सेवामा समेत प्रवेश गर्न पाइन्छ । “राष्ट्रका लागि समेत सही निर्णय गर्न सक्छ भनी व्यक्तिलाई १८ वर्षमा मताधिकार दिइन्छ भने विवाहका लागि किन योग्य हुँदैन ?’’ भट्टराई भन्नुहुन्छ, “१४ वर्षपछि त श्रम पनि गर्न पाउँछ ।”

दीर्घकालीन असर गर्छ

प्राडा जागेश्वर गौतम
निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

किशोरी आमा बन्दा पर्न सक्ने जोखिम र त्यसको दीर्घकालीन असर धेरै छन् । पहिलो कुरा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुन्छ । पाठेघरको विकास नहुँदै आमा बन्दा बच्चा सानो, पाठेघरलाई असर पर्ने, बच्चा जन्मिहाले पनि आमा र बच्चा दुवैको शारीरिक र मानसिक विकासमा अवरोध आउँछ ।
किशोरी आमा शिक्षाबाट वञ्चित हुन्छिन् । त्यसबाट उनी आत्मनिर्भर बन्ने सम्भावना समाप्त हुन्छ । आमा र बच्चाको आवश्यकता परिपूर्तिका लागि अरूको मुख ताक्नुपर्ने बाध्यता हुन्छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?