logo
२०८० चैत्र १६ शुक्रवार



तीजमा पशुपतिको पूर्वीढोका खुल्ने

मुख्य समाचार |


तीजमा पशुपतिको पूर्वीढोका खुल्ने



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५ गते । हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका भक्तजनका लागि यसपालि खुल्ने भएको छ । तीजका बेला यो ढोका दुई दशकदेखि बन्द थियो ।
पशुपति क्षेत्र विकास कोषले उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट भक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ । झङ्केश्वरीबाट छुट्टै व्यवस्था पनि गरिएको छ । मन्दिरको पश्चिम द्वारबाट भने सबै भक्तजन बाहिरिने व्यवस्था गरेको छ ।
सरकारी सवारीको दुरूपयोग रोक्ने उद्देश्यले यसपालि पशुपति क्षेत्रमा सवारी प्रवेश पासको व्यवस्था गरिएको छैन । पङ्क्तिबद्ध हुन नपर्ने गरी विगतमा जारी हुँदै आएको मन्दिर प्रवेशको विशेष पास पनि यस पटक कसैलाई दिइएको छैन ।
पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक परिचयपत्र वाहकलाई भने पङ्क्तिबद्ध हुन नपर्ने र खटिएका स्काउट टोलीको साथ लागेर सोझै मन्दिर प्रवेशको व्यवस्था गरिएको छ ।
जुत्ताचप्पललाई सहज रूपमा व्यवस्थापन गर्न सिर्जनशील युवा क्लबका स्वयंसेवक परिचालित गरिएको छ । पर्व मनाउन आउनेको सुरक्षाका लागि यस क्षेत्रमा महिला प्रहरीलाई विशेष रूपमा खटाइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?