logo
२०८१ बैशाख १२ बुधवार

  सुर्खेतबाट गाई नेपालगञ्ज फिर्ता  



मृत गाईगोरु बारे गृह मन्त्रालयले बनायोे छानबिन समिति

मुख्य समाचार |


मृत गाईगोरु बारे गृह मन्त्रालयले बनायोे छानबिन समिति


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । गृहमन्त्रालयले सुर्खेतमा मृत फेला परेका गाईगोरुका सम्बन्धमा जाँज गर्न छानविन समिति गठन गरेको छ ।
गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठित सो समितिले १५ दिन भित्र प्रतिवेदन पेश गर्ने छ । सुरक्षा निकायका प्रनिनिधि समेत रहने गरी चार सदस्यीय समिति गठन गरिएको गृहमन्त्रालयबाट शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा गौ हत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुन बमोजिमको हदैसम्मको कारबाही गरिने र कुनै किमिसको उन्मुक्ति नदिने कुरामा गृहमन्त्रालय प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच हाम्रा सुर्खेत समाचारदाता  ललित बसेलका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले दैलेखको श्रीस्थानमा लैजाने भन्दै ट्रकमा लोड गरी ल्याइ सुर्खेतको जंगलमा बेवारिसे अवस्थामा छाडिएका १४४ वटा गाईलाई पुनः नेपालगन्ज फिर्ता पठाइएको छ । नेपालगन्जबाट आठ वटा ट्रकमा ल्याइएकामध्ये १६ वटा वीरेन्द्रनगरको कटकुवा र आठ वटा धुलियाविटको व्युरेनी जंगलमा गरी कूल २४ वटा मृत अवस्थामा शुक्रवार फेला परेका थिए ।
कर्णाली प्रदेश प्रहरीका अनुसार शनिवार विहान १४४ वटा गाईलाई पुनः नेपालगन्ज फिर्ता पठाइएको छ । डिआईजी पूर्णचन्द्र जोशीले जीवित फेला परेका गाईहरुलाई शनिवार ट्रकमा राखेर नेपालगन्ज फिर्ता पठाइएको बताउनुभयो । उहाँले शनिवार पनि सुर्खेतका जंगलहरुमा खोजी गर्दा थप आठ वटा मृत गाई फेला परेको समेत जनाउनुभयो । घाइते अवस्थामा रहेका गाईहरुको शनिवार मृत्यु भएको र ती समेत गणना गर्दा कूल मृत गाईको संख्या ३२ वटा भएको उहाँको भनाइ छ ।


ट्रकमा लोड गरिएका गाईहरुलाई दैलेखको श्रीस्थान लाने भनिएपनि सुर्खेतको जंगल क्षेत्रबाट छोडाउँदै आएको पाइएको छ । सुरुमा कटकुवा क्षेत्रमा मृत गाईसहित अन्य बेवारिसे गाईहरु रहेपनि खोजी गर्दै जाँदा व्युरेनी क्षेत्रमा पनि मृत र घाइते गाईबाच्छीहरु फेला परेका थिए ।
सुर्खेत प्रहरीका डिएसपी रवि रावलले सुर्खेत ल्याइएकामध्ये १४४ वटा गाईलाई पुनः नेपालगन्ज नै फिर्ता पठाइएको जानकारी दिदैं सडक नजिकको जंगलहरुमा खोजी कार्य जारी भइरहेको बताउनुभयो । सुर्खेतको भेरीगंगा नगरपालिकाको हर्रेदेखि सुर्खेत बाँके सीमाना पर्ने भएकोले सुर्खेतको सडक नजिक धेरै जंगल हुँदा गाईहरुलाई वीचवीच जंगलमा धमाधम छोडाएर फालिएको हुनसक्ने आशंका गरिएको छ ।
सुर्खेतको धुलियाविट प्रहरी चेकपोष्टमा आठ वटा ट्रकमा २९१ गाईबाच्छा भएको इन्ट्री गरिए पनि नेपालगन्ज उपमहानगरपालिकाले चालकहरुलाई दिएको पत्रमा ३७० वटा रहेको उल्लेख छ । सुर्खेत प्रहरीले शुक्रवार नै गाई लोड गरी ल्याइएका मध्ये पाँच वटा ट्रक र त्यसका चालकहरुलाई नियन्त्रणमा लिएको थियो । जस अनुसार थप अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ ।
श्रीस्थानबासीलाई गाई ल्याउनेवारे थाहा छैन
नेपालगन्ज उपमहानगरपालिकाले दैलेखको श्रीस्थानमा लैजानका लागि गाई लगिएको बताए पनि श्रीथानबासी तथा जिल्ला प्रशासन कार्यालय दैलेले यसवारे कुनै जानकारी नभएको जनाएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दैलेखका स्थानीय तहसंग नेपालगञ्ज उपमहानगरपालिकाले समन्वय नै नगरेको बताउनुभयो ।
श्रीस्थान रहेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले हचुवाका भरमा नेपालगन्जका गाई श्रीस्थान ल्याउन लागेको जनाउनुभयो । नेपालगन्ज उपमहानगरले को संग सहमति गरी गाई ल्याउन लागेको हो, त्यसवारे कसैलाई जानकारी नै छैन भन्दै उपमहानगरपालिकाले झुटो प्रचार गरेको आरोप लगाउनुभयो । श्रीस्थान मन्दिर व्यवस्थापन समितिले पनि श्रीस्थानमा नेपालगन्ज उपमहानगरपालिकाबाट गाई ल्याउनेवारे कुनै आधिकारिक जानकारी नआएको जनाएको छ । समितिका कार्यवाहक अध्यक्ष केशवराज थापा र महन्त गोकर्णनाथ योगीले संयुक्तरुपमा विज्ञप्ति जारी गरी श्रीस्थान ज्वाला क्षेत्रको बदनाम हुने गरी गरिएको कुप्रचारप्रति आपत्ति जनाउनुभएको छ । साथै घटनामा संलग्नलाई कारबाही गर्न समितिले माग गरेको छ ।
गौहत्याको विरोधमा प्रदर्शन
सामूहिक गौहत्याको विरोधमा सुर्खेतमा प्रदर्शन गरिएको छ । सुर्खेत उद्योग बाणिज्य संघको इलेक्ट्रोनिक बस्तुगत समितिको आयोजनामा शनिवार विहान वीरेन्द्रनगरमा प्रदर्शन गर्दै सामूहिक गौहत्यामा संलग्नलाई कारबाहीको माग गरिएको छ ।
कानुनमा के छ ?
फौजदारी संहिता २०७४ को परिच्छेद २७ मा पशुपंक्षीसम्वन्धी कसुरमा गाई गोरु मार्न वा कुट्न नहुने उल्लेख छ । यदि कसैले गाई गोरु मार्ने वा कुनै नियतले चोट पुर्याउने गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद, अंगभंग पारेमा ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । अधिवक्ता उत्तम आचार्यले कानुनमा समेत गाई गोरुलाई मार्न वा चोट पुर्याउन नहुने र यदि त्यस्तो कार्य गरेमा जरिवाना र कैद उल्लेख भएको बताउनुभयो ।
यसैगरी पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने बुँदामा कसैले कुनै पशुपंक्षीलाई कुटी, हिकाई वा बोक्नसक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सार्मथ्यभन्दा बढी दौडाई वा रोग घाउ खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा बृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्नुहुदैंन उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?