logo
२०८० चैत्र १५ बिहीवार



काठमाडौँ डेङ्गुको उच्च जोखिममा नियन्त्रणका लागि सहकार्यको अपिल

मुख्य समाचार |


काठमाडौँ डेङ्गुको उच्च जोखिममा नियन्त्रणका लागि सहकार्यको अपिल


सरोज ढुङ्गेल

काठमाडौँ, भदौ १३ गते । सरकारले फैलिँदै गएको डेङ्गु रोग नियन्त्रणका लागि सबैसँग हातेमालो गर्ने भएको छ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारको प्रयासले मात्र डेङ्गु नियन्त्रणमा नआउने भन्दै सहकार्यको अपिल गर्नुभएको हो ।
डेङ्गु नियन्त्रण गर्न व्यापक जनचेतनाको आवश्यक रहेको भन्दै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभयो । गत वैशाखमा धरानमा देखिएको डेङ्गु राजधानी काठमाडौँलगायत हालसम्म ४२ जिल्लामा फैलिएको छ । डेङ्गुबाट चार जनाको मृत्यु भइसकेको छ भने तीन हजारभन्दा बढी प्रभावित भइसकेका छन् ।

नियन्त्रण कठिन
स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वैशाख महिनादेखि असार मसान्तसम्म तीन हजार ४२५ जना व्यक्ति डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् । साउनदेखि भदौ ११ सम्म मात्र एक हजार ५३७ जना व्यक्ति डेङ्गु सङ्क्रमित भएको पुष्टि भएको छ । महाशाखाका अनुसार डोटी, सुनसरी र चितवनमा गरी चार जना व्यक्तिको डेङ्गुको कारण निधन भइसकेको छ । महाशाखाका निर्देशक डा. विवेककुमार लालले डेङ्गु नियन्त्रण बाहिर गएको भन्दै सबै पक्षको सहयोगबिना नियन्त्रण गर्न कठिन भएको स्पष्ट पार्नुभयो ।

डेङ्गु सबैतिर
महाशाखाका अनुसार प्रदेश १ मा ५६३ जनामा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यस्तै प्रदेश २ का सात जिल्लामा १४ जना, प्रदेश ३ का नौ जिल्लामा ५५९ जना, गण्डकीका सात जिल्लामा ३३९ जना, प्रदेश ५ का सात जिल्लामा ५६ जना, सुदूरपश्चिका तीन जिल्लामा छ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

काठमाडौँ उच्च जोखिममा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ उपत्यका डेङ्गुका लागि पर्याप्त वातावरण भएकाले उच्च जोखिममा रहेको जनाएको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोखरेलले हालसम्म काठमाडौँमा ६५ जना बिरामी देखिइसकेको र तीमध्ये ३१ जना काठमाडौँ उपत्यका स्थानीय बासिन्दा रहेको जानकारी दिनुभयो । डेङ्गु रोगको उपचार गर्न टेकूस्थित शहीद शुक्रराज ट्रपिकल अस्पतालले २४ श्यया छुट्याएको छ । काठमाडौँका बालाजु, बानेश्वर, ताहाचल, त्रिपुरेश्वरलगायतका क्षेत्रबाट बढी डेङ्गु रोगी फेला परेका छन् ।

डेङ्गुको कस्तो लक्षण ?
डेङ्गु ज्वरोको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँच/सात दिनसम्म रहन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख लालका अनुसार टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने गर्दछ । वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जम्नेलगायतका लक्षण देखा पर्दछन् ।

ललितपुरमा विशेष कार्यक्रम
यसैबीच ललितपुर महानगरपालिका बैठकले डेङ्गु सङ्क्रमित लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । ललितपुर महानगरले डेङ्गु नियन्त्रण गर्नका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान ल्याउन लागेको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?