logo
२०८० चैत्र १६ शुक्रवार



निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालन

खुला |
प्रदेश |


निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालन


विजयकुमार साह
ढल्केबर, माघ १४ गते । धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामी सहजरुपमा उपचार पाउन थालेका छन् । युएनडिपी र नगरपालिकाको सहयोगमा सिआईसी जनकपुरले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेका हुन् ।

२०७७ मङ्सिर महिनाबाट सञ्चालनमा आएको सो सर्पदंश उपचार केन्द्र झण्डै दुई करोड रुपियाँको लागतमा निर्माण भएको छ । युएनडिपीको एक करोड १९ लाख रुपियाँ सहयोग र नगरपालिकाको ९६ लाख रुपियाँको लगानीमा २० शैय्याको अस्पताल निर्माण गरिएको सिआईसी जनकपुरका अध्यक्ष सञ्जय साहले बताउनुभयो । यस्तै नियमितरुपमा अस्पताल सञ्चालनका लागि क्षीरेश्वरनाथ नगरपालिकाले वार्षिक १० लाख रुपियाँ उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । गर्मी महिना शुरु भएपछि तराईमा सर्पदंशका बिरामी बढ्ने गर्छन् ।

उपचार केन्द्रमा महेन्द्रनगरस्थित श्रीनाथ गण नेपाली सेनाका चिकित्सकले सेवा प्रदान गर्दैआएको छ । सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको एक वर्षमै २८५ जनाको सफल उपचार गरिएको उपचारमा संलग्न चिकित्सक टेकबहादुर थिङ्ले बताउनुभयो । यस केन्द्रमा भेन, इसिजी मोनिटर, सक्सन र अक्सिजनको सुविधालगायत प्रयाप्त सामग्रीहरु उपलब्ध रहेकाले अहिलेसम्म शतप्रतिशत बिरामी निको भएको उहाँले जानकारी दिनुभयो । अपाङ्गमैत्री र बालमैत्री रहेको सो अस्पतालमा १२ शैया महिला र आठ शैया पुरुषका लागि राखिएको छ ।

यस उपचार केन्द्रमा हाल चिसो मौसमका कारण सर्पले डसेका बिरामी कम आउने गरेको भए पनि वर्षा तथा गर्मीयामसँगै सर्प बाहिर निस्कने र डस्ने भएकाले त्यो समयमा धेरै बिरामी आउनेगरेको चिकित्सक थिङ्गले बताउनुभयो ।

यहाँ पानी सर्प, गोमन, करेत र कोब्रा सर्पले डसेका बिरामी आउनेगरेको उहाँको भनाइ छ । उपचार सेवा सहज र प्रभावकारी हुँदैआएकाले सिराहा र महोत्तरीबाट पनि बिरामी उपचारका लागि आउने गरेका छन् । सर्पले टोक्नेवित्तिकै अस्पतालमा आउँदा समस्या हुँदैन तर झारफुकमै बढी समय नष्ट गरेकाकारण व्यक्तिको मृत्यु हुनेगरेको चिकित्सक थिङ्गले भन्नुभयो ।
सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि उपचारका लागि टाढा जानुपर्ने तथा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र पजियारले बताउनुभयो ।

पहिला सर्पले टोक्दा सिराहाको बन्दिपुर, महोत्तरीको बर्दिबास र प्रादेशिक अस्पताललगायत टाढा र धेरै खर्च लगाएर उपचारका लागि जानुपर्ने बाध्यता थियो । निःशुल्क रुपमा नजिकै सञ्चालनमा ल्याएको उपचार केन्द्रमा सर्पदंशका बिरामीले सहज उपचार पाउन थालेपछि स्थानीयवासीलाई सुविधा भएको उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?