logo
२०८० चैत्र १६ शुक्रवार



क्षमता वृद्धिको रणनीतिमा उदयपुर सिमेन्ट

अर्थ |


क्षमता वृद्धिको रणनीतिमा उदयपुर सिमेन्ट


गाईघाट समाचारदाता

गाईघाट, माघ १४ गते । सरकारी स्वामित्वमा सञ्चालित मुलुकको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले क्षमता बढाउने उद्देश्यले दुईवटा रणनीतिक योजना अगाडि सारेको छ ।

ठूलो परिमाणमा रहेको आफ्नै खानी भण्डारलाई आगामी ३० वर्षभित्र उत्खनन गरिसक्न अर्काे प्लान्ट स्थापना गर्ने दीर्घकालीन योजना उद्योगले बनाएको छ । हाल सञ्चालनमा रहेको प्लान्टमा आरएसपी उपकरण जडान गरी हालको दैनिक ८०० मेट्रिक टनको उत्पादन क्षमता बढाएर एक हजार १०० मेट्रिक टन पु-याउने र ठूलो परिमाणमा क्लिङ्कर उत्पादन गर्ने योजना रहेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताउनुभयो ।

महाप्रबन्धक न्यौपानेले अल्पकालीन योजनाका लागि ७१ करोड र दीर्घकालीन योजनाका लागि १० अर्ब रुपियाँको लगानी हुनेगरी उद्योग सञ्चालक समितिले स्वीकृति दिइसकेको बताउनुभयो । उद्योगको क्षमता वृद्धिका लागि ५० करोड रुपियाँको बजेटसमेत सञ्चालक समितिले पारित गरेको छ ।

ठूलो परिमाणमा आफ्नै खानी भण्डार सुरक्षित भए पनि उदयपुर सिमेन्ट उद्योगले अहिले दैनिक ८०० मेट्रिक टन उत्पाादन गरिरहेकोे छ तर खर्च नियन्त्रण गर्न नसक्दा सधैँ घाटा बेहोर्दै आएको यस उद्योगले गत वर्षको माघदेखि २०७८ पुससम्ममा १९ लाख ६९ हजार ३८३ बोरा सिमेन्ट बिक्री गरी एक अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपियाँ आम्दानी गरेको छ ।

तर मासिक तीन करोड रुपियाँ बिजुलीमा, कामदार, सुरक्षालगायतमा मासिक ९१ लाख तथा कर्मचारीका लागि मासिक एक करोड ७० लाख रुपियाँलगायतको ठूलो खर्च हुने भएपछि यो उत्पादनले खर्च धान्न नसक्ने स्थिति रहेको अवस्थाबाट अहिले धेरै सुधार भइरहेको महाप्रबन्धक न्यौपानेले बताउनुभयो ।

विगत एक वर्षको अवधिमा उद्योगमा धेरै सुधार गरिएको जानकारी दिँदै महाप्रबन्धक न्यौपानेले भन्नुभयो, “विगत लामो समयदेखि बाँकी रहेको कर्मचारी अवकास सुविधाअन्तर्गतको १० करोड ६८ लाख ७२ हजार रुपियाँ भुक्तानी गरिएको, स्थापना कालदेखिका पुराना पत्रु सामान पाँच करोड ४९ लाख रुपियाँमा लिलाम गर्न सफल भएको र कच्चा पदार्थ आपूर्तिकर्तालाई नगदको सट्टा सिमेन्ट दिने परिपाटीको अन्त्य गरिएको छ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?