logo
२०८० चैत्र १६ शुक्रवार



घरबहाल कर उठाउँदै हुम्लाका गाउँपालिका

अर्थ |


घरबहाल कर उठाउँदै हुम्लाका गाउँपालिका


राजन राउत

सिमकोट, माघ १४ गते । हुम्लाका गाउँपालिकाले घरबहाल कर उठाउन थालेका छन् । हुम्लाका सातवटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन थालिसकेको छ भने खार्पुनाथ गाउँपालिकाले चालू आर्थिक वर्षभित्रै सुरु गर्ने भएको छ ।

अन्य पाँचवटा गाउँपालिका नाम्खा, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोटले चाँडै सुरु गर्ने जनाएका छन् । ती गाउँपालिका घरबहालमा बस्ने निकाय निकै कम भएकाले घरबहाल कर सङ्कलनमा त्यति चासो नदेखिएको हो । संविधान तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यी गाउँपालिकाले आर्थिक ऐन बनाएर गाउँ सभाबाट समेत पारित गरिसकेका छन् । कार्यविधि पनि तयार गरेका छन् ।

सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले चालू आर्थिक वर्ष घरबहाल करबाट २० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । घरबहाल करको दर भने १० प्रतिशत निर्धारण गरिएको छ । चालू आर्थिक वर्षको कुल बजेट ४७ करोड २७ लाख ८६ हजार रुपियाँ रहेको सिमकोट गाउँपालिकाले आन्तरिक आय २० लाख रुपियाँ उठाउने लक्ष्य राखेको छ तर घरबहाल कर भने यो लक्ष्यमा समावेश नगरिएको सो गाउँपालिकाले जनाएको छ ।
अन्य गाउँपालिकाले घरबहाल कर उठाउने निर्णय गरे पनि ग्रामीण क्षेत्र भएकाले सम्भावना न्यून छ ।

सिमकोट गाउँपालिकाले भने चालू आर्थिक वर्ष अभियानकै रूपमा घरबहाल कर उठाउने भएको हो । सिमकोट गाउँपालिकाका लेखा प्रमुख विशाल बोहराले गाउँपालिकाभरिका सरकारी, गैरसरकारी संस्था, वित्तीय संस्था र व्यवसायबाट घरबहाल कर उठाउने कार्य सुरु भएको जानकारी दिनुभयो । उहाँले सबै सरोकारवाला पक्षसँग छलफल गरेपछि कर तिर्नुपर्ने व्यक्ति तथा संस्था उक्त कर तिर्न सहमत भएको बताउनुभयो ।
पहिलोपटक चारवटा वित्तीय संस्थाले घरबहाल कर दाखिला गरेको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा ४०–५० सरकारी कार्यालय, वित्तीय संस्था, गैसस र होटल व्यवसायीबाट सो कर असुली हुने गाउँपालिकाले अनुमान गरेको छ ।

सिमकोट गाउँपालिकाले अब दोस्रो चरणमा सबै व्यवसायी, व्यक्तिलाई पनि अनिवार्र्य रूपमा घरबहाल कर तिर्न प्रचारप्रसार गर्ने भएको छ । तेस्रो र चौथो चरणमा घरभाडामा दिने व्यक्तिसँग छलफल गर्ने गाउँपालिकाको योजना छ । यो वर्ष परीक्षणकै क्रममा रहेकाले आव २०७९/८० देखि अनिवार्य गरिने गाउँपालिकाले जनाएको छ ।

आन्तरिक स्रोतको आम्दानी निकै कम भएको सिमकोट गाउँपालिकामा घरबहाल कर सङ्कलन गर्न थालिएपछि गाउँपालिकाको आम्दानीसमेत वृद्धि हुनेछ ।
नेपालको संविधानले घरबहाल करलाई स्थानीय तहको अधिकार क्षेत्रभित्र पारेको छ । सोहीबमोजिम अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले पनि घरबहाल करको सङ्कलन अधिकार स्थानीय तहलाई दिएको छ ।
घरबहाल कर स्थानीय तहको राजस्वको महŒवपूर्ण स्रोत हो । खासगरी नगरपालिकामा यसको सङ्कलन धेरै हुन्छ ।

आफ्नो घर, पसल, टहरा वा जग्गा भाडामा लगाउँदा बहाल कर तिर्नुपर्छ । घरधनी र भाडामा बस्ने वा भाडामा लिने व्यक्ति वा संस्थाबीच भएको बहाल सम्झौतापत्र वा घरधनी आफैँले तोकेको दरको आधारमा स्थानीय तहले बहाल कर उठाउँदै आएका छन् । बहाल कर आम्दानी भएको अवस्थामा तिर्नुपर्ने कर भएकाले आम्दानी हुँदा तिर्ने र नहुँदा नतिर्ने प्रकारको कर हो । यसको दर भने गाउँपालिका वा नगरपालिकाले निर्धारण गर्छन् । अहिले अधिकांश स्थानीय तहले १० प्रतिशत र अधिकतम १७ प्रतिशतसम्म निर्धारण गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?