logo
२०७८ माघ ९ आईतवार



श्रव्य–दृश्य माध्यमको प्रभावकारिता

विचार/दृष्टिकोण |


श्रव्य–दृश्य माध्यमको प्रभावकारिता


सामाजिक जीवनमा टेलिभिजनको स्थान कहाँ छ ? आज पनि टेलिभिजन महìवपूर्ण आमसञ्चार माध्यम हो ? हिजोआज यस्ता प्रश्नहरू पनि सोध्न थालिएको छ । प्रष्ट छ, इन्टरनेटमा आधारित नयाँ माध्यमको विकास र लोकप्रियताकै कारण यस्ता प्रश्नहरू जन्मिन थालेका हुन् । तर नेपालको सन्दर्भमा आज इन्टनेटमा आधारित नयाँ मिडियाकै कारण संस्थागत मिडियाका रूपमा टेलिभिजन च्यानलहरूको दायित्व थपिएको छ । एउटा युगको चक्र पूरा गरी सकेपछि आज टेलिभिजनप्रति समाजको ठूलो सकारात्मक अपेक्षा देखिन थालेको छ । युट्युब च्यानलका नाममा प्रसारण पत्रकारिताका आधारभूत सर्तहरूलाई समेत लत्याएर भइरहेको जथाभावीलाई संस्थागत टेलिभिजनका परिष्कृत सामग्रीले विस्थापित गर्न सक्दछन् । युट्युुब प्रसारणका लागि अत्यन्त प्रभावकारी औजार अवश्य हो । तर सामग्रीमा परिष्कारका लागि स्रोत र साधनको लागानी गरेर संस्थागत स्वरूपमा स्थापित टेलिभिजन च्यानलहरूले योगदान गर्न सक्नु पर्दछ ।

अहिलेका मानिससँग दिनहुँ जम्काभेट हुने छापा, रेडियो, टेलिभिजन वा इन्टरनेटमा आधारित नयाँ माध्यम र सामाजिक सञ्जालमध्ये कुनै एक मात्रको अस्तित्वको परिकल्पना गर्न सकिँंदैन, गर्नु उपयुक्त हुँदैन । किनकी, संसारका विविध भूभागमा विकासका पूर्वाधारहरूको फरक–फरक स्थितिको सामना गरिरहेका आममानिसको जीवनमा धेरै वा थोरै यी सबै माध्यमहरूको स्थान छ । नेपाल वा यस्तै आर्थिक, सामाजिक अवस्थामा रहेका देशहरूको सन्दर्भमा टेलिभिजन एकै पटक व्यापक समुदायलाई एउटै किसिमको सूचना, जानकारी वा आग्रह प्रसार गर्ने प्रभावकारी माध्यम हो । संस्कृति र संस्कारको संवद्र्धन गर्ने सशक्त माध्यमसमेत हो ।

गएको साता विश्व टेलिभिजन दिवस मनाउँदै गर्दा आजको परिवेशमा टेलिभिजनको महìव वा समाजमा टेलिभिजनको स्थानका बारेमा चर्चा परिचर्चा भयो । पच्चीस वर्षअघि, सन् १९९६, मा विश्व टेलिभिजन मञ्चको आयोजना गरिएको दिनलाई नै संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व टेलिभिजन दिवस मनाइँदै आएको छ । बितेका पच्चीस वर्षमा आमसञ्चारसँग सम्बन्धित प्रविधि, उत्पादन र उपभोक्ताको व्यवहारमा निकै परिवर्तन भइसकेको छ । इन्टरनेटमा आधारित माध्यम वा इन्टरनेटकै कारण संसार आज मिडिया सम्मिलनको युगमा पुगेको छ । त्यसैले आजका टेलिभिजन प्रसारण पनि अखबार र रेडियोजस्तै इन्टरनेटले ल्याएको सम्मिलनको प्रक्रियामा समाहित छन् । टेलिभिजनका प्रसारक आफ्नो लोकप्रियताको मापन गर्न युट्युबमा राखिएको कार्यक्रममा दर्शकको सङ्ख्या गन्ने गर्छन् । अर्थात्, टेलिभिजको परम्परागत प्रसारणसँगै युट्युबमा सङ्ग्रह अनिवार्य आवश्यकता बन्न गएको छ । पहिले, पहिले कतिपय कार्यक्रम कतिपय दर्शकले तत्कालै वा त्यसपछि दोहो¥याइएको समयमा पनि हेर्न पाएनन भने छुट्थ्यो । तर अब दर्शक आफ्नो फुर्सदको समयमा, अझ कतै कुनै प्रसङ्गमा प्रतीक्षामा रहेका बेला युट्युबमा कार्यक्रम हेर्न अभ्यस्त हुँदै छन् । श्रोता–दर्शकको स्वाद, रुचि, व्यवहारमा आइरहेको परिवर्तनका बारेमा थाहा पाउन विश्वमा अनेक अध्ययन भइरहेका छन् । अनि अध्ययनका निष्कर्षहरूकै आधारमा टेलिभिजन च्यानलहरूले समयका क्रममा आउने नयाँ नयाँ चुनौतीहरूको सामना गरिरहेका छन् ।

नेपालमा सबै परम्परागत मिडिया मात्र होइन, अनलाइन न्युज पोर्टलहरूको पनि दर्ता वा अभिलेख कायम गर्ने चलन छ । अखबार, रेडियो र टेलिभिजनहरू सरकारी निकायमा दर्ता हुन्छन् भने अनलाइन न्युज पोर्टलहरूको अभिलेख प्रेस काउन्सिल नेपालमा रहने व्यवस्था गरिएको छ । तर युट्युबमा टेलिभिजन च्यानलको दाबी गर्ने प्रसारकको भने अहिलेसम्म प्रेस काउन्सिलमा अभिलेख रहने गरेको छैन । हिजोआज देशभित्र डिसइन्फर्मेसन वा मिथ्या खबरको मूल स्रोतका रूपमा यस्तै संस्थागत स्वरूप नभएका गैरजिम्मेवार च्यानलहरू देखिएका छन् ।

टेलिभिजन प्रसारणको अवस्था विश्वभरि नै यसको सुरुवात वा मध्यकालको जस्तो अहिले छैन । टेलिभिजन सेट र च्यानलको सङ्ख्या मात्र बढेको छैन, विषयवस्तुको विविधतामा समेत व्यापक वृद्धि भइसकेको छ । नेपालजस्ता देशहरूमा देशबाहिरका टेलिभिजन च्यानलहरूको पहुँच त छँदैछ, देशभित्रै पनि च्यानलहरूको सङ्ख्या बढिरहेको छ । नेपालमै उपग्रह, भूसतह वा केवलको प्रविधिबाट सञ्चालन हुने टेलिभिजन प्रसारकहरूको सङ्ख्या ९६२ पुगिसकेको छ । सबै प्रकारका सामग्री प्रस्तुत गर्ने च्यानलहरूका अतिरिक्त समाचार, मनोरञ्जनका अतिरिक्त समाचार, धर्म वा आर्थिक मामिलामा केन्द्रित टेलिभिजन प्रसारकहरू नेपालमा पनि देखिएका छन् । यस्तो परिवेशमा टेलिभिजन च्यानलहरूले जीवनोपयोगी प्रशोधित सूचना वा कार्यक्रमका माध्यमले जिम्मेवार, आधिकारिक माध्यमको स्थान ग्रहण गर्न सक्दछन् ।

 प्रख्यात जर्मन दार्शनिक तथा समाजशास्त्री एडोर्नोले टेलिभिजन सार्वजनिक प्रसारणको सुरुवातकालतिरै भनेका थिए, ‘‘यसको प्रभावलाई सफलता वा असफलता, लोकप्रियता वा अलोकप्रियताका आधारमा पर्याप्त मात्रमा अभिव्यक्त गर्न सकिँदैन ।’’ एडोर्नोले टेलिभिजनको मनोसामाजिक प्रभावका बारेमा लेख्दा संसारमा यसलाई नयाँ माध्यमका रूपमा चिनिन्थ्यो । आज उही माध्यमलाई परम्परागत नयाँ मिडियाका रूपमा चिनिन्छ । एक तथ्याङ्कअनुसार सन् १९३६ सम्म त संसारमा जम्मा दुई सय जति टेलिभिजन सेट थिए । सन् पचासको दशकपछि टेलिभिजनको स्वर्ण युग सुरु भयो । त्यसपछिको अवधिमा यसको तीव्र वृद्धि र सिर्जनशीलता उत्कर्षमा पुगेको थियो । त्यसबेला त टेलिभिजनका हरेक कार्यक्रम नवीन र सिर्जनशील ठानिन्थे । आजसम्म आइपुग्दा मानव सभ्यतामा टेलिभिजनको स्थानका बारेमा धेरै अध्ययन भएका छन् ।

गएको शताब्दीको मध्यदेखि संसारमा ज्ञान, जानकारी वा शिक्षाको प्रसारका लागि टेलिभिजनको व्यापक प्रयोग भयो । राजनीति वा राजनीतिकर्मीको सम्बन्धमा टेलिभिजनहरूले अन्तर्वार्ता र टक शोमार्फत नागरिकलाई छनोटका क्रममा सहयोग पुग्ने खुराक प्रदान गरे । संसद्हरूको काम कारबाही लाइभ हुन थालेपछि पारदर्शिताका मामिलामा उल्लेखनीय काम हुन गयो । तर समाजलाई जोड्ने र मानिसलाई उत्साहित तुल्याउने सकारात्मक प्रभावका अतिरिक्त टेलिभिजनका नकारात्मक प्रभावहरूका बारेमा पनि छलफल हुँदै आएको छ ।
खासगरी सन् साठी र सत्तरीको दशकमा टेलिभिजनका नकारात्मक प्रभावका बारेमा साना वा ठूला अध्ययन–अनुसन्धान प्रारम्भ भए । खासगरी हिंसाका दृश्य हिंसाजन्य व्यवहार दर्शाउने कार्यक्रमका बालबालिकामा पर्ने प्रभावका बारेमा निकै अध्ययन हुन थाले । त्यही ताका संयुक्त राज्य अमेरिकामा जर्न गर्वनरको ‘कल्टिभेसन’ सिद्धान्तको निष्कर्ष सार्वजनिक भयो । जसमा उनले तर्क अघि सारे, जति बढी टेलिभिजन हे-यो वा जति समय टेलिभिजन अगाडि बितायो, मानिस उति नै भ्रमपूर्ण अवस्थाको शिकार हुन पुग्दछ । उहाँको विचारमा त्यसबेलासम्म समाजका मूल्य, मान्यता, व्यक्तिका आशङ्का, विश्वास, अवधारणा धेरै हदसम्म टेलिभिजन प्रसारणका आधारमा बन्न थालिसकेका थिए । टेलिभिजन प्रसारणकै आधारमा नजाँदिदो ढङ्गले मानिसमा नयाँ किसिमका मूल्य–मान्यता वा निर्णयका तौरतरिका विकसित हुन थालिसकेको निष्कर्ष उहाँले गहन अध्ययनपछि प्रस्तुत गरेका थिए । ‘कल्टिभेसन एनलाइसिस थ्योरी’ अथवा मानिसको मूल्य मान्यता र अवधारणको गोडमेलको सिद्धान्तअनुसार टेलिभिजनले मानिसलाई भ्रमको संसारमा विचरण गराउँदछ र संसार तुच्छ र खतरनाक छ भन्ने भान पार्दछ । गर्वनरका अनुसार एउटा यस्तो समय आउँछ, मानिस आफ्ना आँखाले देखेको पत्याउन छाड्छ र टेलिभिजनको पर्दामा देखिएको दृश्यलाई नै विश्वको वास्तविकता मान्न थाल्दछ । गर्वनर टेलिभिजनको दीर्घकालीन असरका बारेमा विश्लेषण गर्दै बताउँद्छन्, मानिस जति बढी टेलिभिजन हेर्दछन्, उति बढी सामाजिक यथार्थमा होइन, टेलिभिजनको पर्दामा विश्वास गर्न थाल्दछन् ।

समयक्रममा फेरि टेलिभिजनको नकारात्मक भूमिकाको होइन, यसले गर्न सक्ने सकारात्मक योगदानका बारेमा विमर्श हुन जरुरी भइसकेको छ । खासगरी इन्टरनेटका माध्यमले सर्वसुलभ हुन पुगेका जस्तो सुकै हानिकारक वा असामाजिक दृश्यको बाढी नियन्त्रण जिम्मेवार र दर्शकको विश्वासका आधारमा आधिकारिकता आर्जन गर्न सक्ने टेलिभिजन प्रसारकहरूले गर्न सक्दछन् । युट्युबको सर्वसुलभ सङ्ग्रहमा अवान्छित वा खासगरी बालबालिकामा नकारात्मक प्रभाव पार्न सक्ने दृश्य सामग्रीको परिमाण कम गराउन वा त्यस्ता सामग्रीको प्रसार घटाउन संस्थागत टेलिभिजनहरूले कार्यक्रममा लगानी बढाउन सक्नु पर्दछ । इन्टरनेटले ल्याएको चुनौतीलाई अवसरका रूपमा यसरी प्रयोग गर्न सके टेलिभिजन आउने समयमा अझ बढी उपयोगी र सान्दर्भिक हुन सक्नेछ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?