logo
२०७८ कार्तिक २ मंगलवार



लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)


लैङ्गिक उत्तरदायित्वपूर्ण बजेट

१. लैङ्गिक उत्तरदायी बजेट भनेको के हो ? यसले महिलालाई कसरी सशक्तीकरण गर्दछ ? उल्लेख गर्नुहोस् ।
 महिला र पुरुषबीच समानता कायम गर्नका लागि सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने कार्यलाई लैङ्गिक उत्तरदायी बजेट भनिन्छ । यो महिलाका लागि छुट्टै बजेट होइन । यो यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो, जसले आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन तथा आयोजनाको प्रभाव मूल्याङ्कन सबै पक्षमा महिलाको सङ्ख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो बजेट सन् १९८४ मा अस्टे«लियाबाट सुरु भएको हो । नेपालमा आ.व. २०६४/६५ देखि लैङ्गिक बजेट लागू गरिएको हो ।
– यसले महिला र पुरुषबीच समानता कायम गर्न सहयोग गर्न, सार्वजनिक स्रोतसाधन, सम्पत्तिको न्यायोचित वितरण गर्न, महिला र पुरुषका फरक–फरक आवश्यकता हुन्छन्, तिनलाई त्यसरी नै सम्बोधन गर्न मद्दत गर्दछ ।
लैङ्गिक उत्तरदायी बजेटले महिलालाई गर्ने सशक्तीकरण
– आयोजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन तथा प्रभाव मूल्याङ्कनलगायतका सबै तहमा महिलाको सक्रिय र सार्थक सहभागिता गराएर यसले महिला
सशक्तीकरण गर्दछ ।
आयोजना तर्जुमा तह :
– महिला र पुरुषको समान सहभागिता गराएर,
– महिलाको गुणात्मक र सङ्ख्यात्मक रूपमा सहभागिता गराएर,
– महिलालाई फाइदा पुग्ने आयोजनाको प्राथमिकता गरेर,
– महिला रोजगारीमा अभिवृद्धि गर्ने आयोजना छनोट गरेर,
आयोजना कार्यान्वयन तह :
– आयोजना कार्यान्वयनको नेतृत्व महिलालाई प्रदान गरेर,
– महिलाको सामूहिक सहभागितामा आयोजना कार्यान्वयन गरेर,
– महिलाको क्षमता अभिवृद्धि गरेर,
– महिलाको रोजगार तथा आय अभिवृद्धि गरेर,
– आयमा महिलाको नियन्त्रण हुने वातावरण निर्माण गरेर,
– कार्यान्वयन तहमा आउने बाधा, अवरोध हटाउने कार्यमा महिलालाई संलग्न गराएर,
– आयोजनाको आय र व्ययको खर्च, लेखाङ्कन, प्रतिवेदन गर्ने कार्य महिलालाई जिम्मेवारी दिएर,
आयोजना अनुगमन र मूल्याङ्कन तह :
– महिलाको सहभागितामा अनुगमन र मूल्याङ्कन गराएर,
– अनुगमन र मूल्याङ्कनका लागि महिलाले छनोट गरेका सूचक प्रयोग गरेर,
– अनुगमन समितिमा महिलाको संलग्नता बढाएर,
– महिलाको अगुवाइमा आयोजनाको मर्मत सम्भार गरेर,
– आयोजनाबाट प्राप्त लाभको उपभोग शुल्क निर्धारण र असुलीमा महिलालाई नेतृत्व प्रदान गरेर,
– आयोजनाको प्रभाव मूल्याङ्कन तह :
– आयोजनाबाट प्राप्त लाभको बाँडफाँटमा महिलाको हिस्सा वृद्धि गरेर,
– महिलाको जीवनस्तरमा गुणात्मक सुधार ल्याएर,
– यसरी लैङ्गिक उत्तरदायी बजेटले महिलालाई सशक्तीकरण गर्दछ ।

२. नेपालको राष्ट्रिय हितका आधारभूत विषय के के हुन् ?
उल्लेख गर्नुहोस् ।
 नेपालको संविधानको धारा ५ मा राष्ट्रिय हितको व्यवस्था गरी केही विषयहरू नेपालको राष्ट्रिय हितका रूपमा रहने व्यवस्था छ । संविधानले राष्ट्रहित प्रतिकूलको आचरण र कार्य सङ्घीय कानुनबमोजिम दण्डनीय हुने व्यवस्थासमेत गरेको छ । संविधानले उजागर गरेका नेपालको राष्ट्रिय हितका आधारभूत विषय
निम्न छन् :
– नेपालको स्वतन्त्रता,
– सार्वभौमसत्ता,
– भौगोलिक अखण्डता,
– राष्ट्रियता,
– स्वाधीनता,
– स्वाभिमान,
– नेपालीको हकहितको रक्षा,
– सिमानाको सुरक्षा,
– आर्थिक समुन्नति र समृद्धि ।

३. नेपालको सरकारी लेखा प्रणालीका सबल र दुर्बल पक्षहरू के के हुन् ?
 नेपालको सरकारी निकायको आय र व्ययको व्यवस्थित अभिलेख र सोको यथार्थ प्रतिवेदन गर्न अवलम्बन गरिएको लेखा प्रणाली नयाँ स्रेस्ता प्रणाली हो । यो स्रेस्ता वि.सं. २०१९ देखि लागू भई आ.व. २०२४÷२५ सम्म नेपालभर क्रमिक रूपमा लागू गरिएको थियो । केन्द्रीयस्तर र कार्य सञ्चालन गरी दुवै स्तरमा लागू गरिएको यो लेखा प्रणालीमा नगदमा लेखा राखिन्छ, यसमा बाँकी लेनदेनको हिसाब हुँदैन । यो लेखा दोहोरो लेखा प्रणालीमा आधारित छ । विनियोजन, राजस्व, धरौटी, जिन्सी र आयोजनाको अलगअलग लेखा राखिँदै आएको यस लेखा प्रणालीका सबल र दुर्बल पक्षहरू निम्न छन् :
सबल पक्षहरू
– दोहोरो लेखामा आधारित भएकाले त्रुटि एवं छलकपट नहुने, भएमा सजिलै पत्ता लगाउन सकिने,
– नगदमा लेखा राखिने हुँदा सरल, स्पष्ट र पारदर्शी,
– लेखा राख्न निश्चित फाराम तोकिएको,
– बजेट नियन्त्रणको व्यवस्था,
– आन्तरिक नियन्त्रणको बलियो व्यवस्था,
– सबै कार्यालयमा एकरूपता,
– लेखा परीक्षणको अनिवार्य व्यवस्था ।
दुर्बल पक्षहरू
– नगदको मात्र लेखा राख्दा सरकारी कारोबारको यथार्थ
अवस्था नदेखिनु,
– बढ्दो बेरुजु नियन्त्रण हुन नसक्नु,
– लेखा नतिजामूलक हुनुपर्नेमा प्रक्रियामूलक भएको,
– खर्च नियन्त्रण प्रभावकारी रूपमा गर्न नसकिएको,
– पारदर्शिताको पक्ष व्यवहारमा कमजोर रहेको ।

४. नेपालको पूर्र्वी क्षेत्रमा बढी वर्षा हुनुको कारण के हो ? उल्लेख गर्नुहोस् ।
 नेपालमा वर्षा खासगरी मनसुनी वायुका कारण हुन्छ । यस्तो वायु गृष्ममा बङ्गालको खाडीबाट सुरु भई नेपालको पूर्र्वी क्षेत्रबाट प्रवेश गर्दछ, नेपालका उच्च पहाडी पर्वतले यस्तो ओसिलो वायु छेकेर वर्षा गराउँछन्, पूर्वमा प्रवेश गरेको यो मनसुनी वायु नेपालको सुदूरपश्चिमी क्षेत्रमा पुग्न करिब एक महिना लाग्दछ र यो मनसुनी वायु फर्कने क्रम पनि पश्चिमबाट सुरु हुन्छ, जसले गर्दा पूर्वमा सबभन्दा लामो र पश्चिममा सबभन्दा कम मनसुनी वायुको प्रभाव रहन्छ । त्यसैले नेपालको पूर्वी खण्डमा वर्षा बढी हुन्छ, पश्चिममा कम र उत्तरको हिमाल र हिमालपारिका जिल्ला मनाङ, मुस्ताङमा अझै कम हुन्छ ।

५. नेपालको पुँजीबजारको विकासमा संलग्न निकायहरू कुन कुन हुन् ? उल्लेख गर्दै तिनीहरूको भूमिका कस्तो हुनुपर्दछ ? चर्चा गर्नुहोस् ।
 एक वर्षभन्दा बढी पुँजीको माग र आपूर्ति हुने बजार पुँजीबजार हो । यो मुलुकको वित्तीय शक्ति मापन गर्ने एक औजार हो । यसले छरिएर रहेको स–साना रकमलाई परिचालन गरेर पुँजी निर्माण गर्न महìवपूर्ण भूमिका निर्वाह गर्दछ । नेपालमा पुँजीबजारको विकासका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३ र यसअन्तर्गतका विभिन्न नियमावली, वस्तुबजार विनिमयसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७४ लगायतका कानुनी व्यवस्था गरिएको छ । नेपालको पुँजीबजारको विकासमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, वस्तु विनिमय बजार, सेयर व्यवसायीलगायत संस्थागत र व्यक्तिगत सर्वसाधारण लगानीकर्ताको संलग्नता हुने गर्दछ । पुँजीबजारको विकासमा यिनीहरूको भूमिका निम्नअनुसारको हुनुपर्दछ ः
अर्थ मन्त्रालयको भूमिका
– नेपालको समग्र अर्थतन्त्रको नीति निर्माणको नेतृत्वकर्ता अर्थ मन्त्रालय हो । यसको पुँजीबजारको विकासमा बहुआयामिक भूमिका हुन्छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
– धितोपत्रसम्बन्धी ऐन नियमको परिमार्जन गर्ने,
– नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता बढाउने,
– मुलुकमा लगानीमैत्री वातावरण तयार गरी विदेशी लगानीकर्तालाई आकर्षित गर्ने,
– नीतिगत स्थायित्वको सुनिश्चितता प्रदान गर्ने,
– सेयर बजारको अस्वाभाविक मूल्य बढ्न घट्न नदिने वातावरण तयार गर्ने,
– नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने,
– वस्तु विनिमय बजार सुरु गर्ने,
– नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जमा व्यावसायिक नेतृत्व छनोट गर्ने ।
नेपाल राष्ट्र बैङ्कको भूमिका
– नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत मुलुकको वित्तीय प्रणालीको विकास र स्थायित्व कायम गर्न ठूलो भूमिका निर्वाह गर्दछ । यसले ब्याजदर, विनिमय दर, मुद्रास्फीति दरमा स्थिरता ल्याउने, लचिलो र कसिलो मौद्रिक नीतिमार्फत बजारमा मुद्रा प्रदायमा सन्तुलन ल्याउने गर्दछ । पुँजीबजारमा यसको भूमिका निम्नअनुसार हुनुपर्दछ ः
– सेयर बजारमा लगानीका लागि अनुकूल वातावरण तयार गर्ने,
– सेयर बजारमा कर्जा प्रवाह बढाउने,
– कर्जा प्रवाहलाई सरल र पारदर्शी बनाउने,
– बैङ्क तथा वित्तीय संस्थाको सुदृढीकरण गर्ने,
– एकआपसमा गाभिने नीतिलाई प्रभावकारी बनाई वित्तीय संस्थाको वित्तीय आधार बलियो बनाउने,
– उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा प्रवेश गराउन सहयोग गर्ने,
– वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने,
– स्थानीय तहका वार्ड तहसम्म बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तार गरी वित्तीय पहुँच अभिवृद्धि गर्ने,
– पँुजीबजारमा लगानीको वातावरण निर्माणमा सहयोग गर्ने ।
नेपाल धितोपत्र बोर्डको भूमिका
– नेपाल धितोपत्र बोर्ड पुँजीबजारको नियमन र सुपरिवेक्षण गर्ने निकाय हो । त्यसैले पुँजीबजारको विकासमा यसको ठूलो भूमिका हुन्छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
– सेयर बजारको नियमन र सुपरिवेक्षणका लागि मापदण्ड तयार गर्ने,
– कार्यस्थल र गैरकार्यस्थल अनुगमन गर्ने, जोखिमका आधारमा निरीक्षण गर्ने,
– सेयर बजार उतारचढाव हुन नदिने,
– सूचीकृत कम्पनी, लगानीकर्ता एवं सेयर व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण तयार गर्ने,
– संस्थागत सुशासन कायम गर्न जोड दिने,
– पुँजीबजार विकासमा विभिन्न मापदण्ड तय गरी लागू गर्ने,
– वस्तु विनिमय बजारका लागि पूर्वाधारयुक्त कम्पनीलाई अनुमति प्रदान गरी वस्तु विनिमय कारोबार बढाउने,
– उपत्यकाबाहिर स्टक एक्सचेन्ज स्थापना गर्न पहल गर्ने,
– गोप्य रूपमा गरिने सेयर बजारको भित्री कारोबारलाई कडाइपूर्वक नियन्त्रण गर्ने,
– संस्थागत लगानीकर्तालाई सेयर बजारमा प्रोत्साहनको व्यवस्था गर्ने ।
– नेपाल स्टक एक्सचेन्जको भूमिका
नेपाल स्टक एक्सचेन्ज सेयरको दोस्रो बजारको कारोबार गराउने एक मात्र निकाय हो । पुँँजीबजारमा यसको भूमिका निम्नअनुसार हुनुपर्दछ ः
– सूचीकृत कम्पनीको सङ्ख्या बढाउने,
– सूचीकृत कम्पनीमा उत्पादनमूलक क्षेत्रका कम्पनीको
सङ्ख्या बढाउने,
– सेयर व्यवसायीको सङ्ख्या बढाउँदै यिनीहरूबीच स्वच्छ प्रतिस्पर्धाको विकास गर्ने,
– उपत्यकाबाहिर सेयर व्यवसायीको उपस्थिति बढाउने,
– सेयर बजारको यथार्थ सूचना सम्प्रेषण गर्ने,
– नयाँ प्रविधिको प्रयोग बढाउने,
– बैदेशिक रणनीतिक साझेदारको संलग्नता बढाई संस्थागत
सुधार गर्ने ।
वस्तु विनिमय बजारको भूमिका
– आवश्यक पूर्वाधार तयार गरी वस्तु विनिमय बजारको कारोबार
सुरु गर्ने,
– वस्तुको कारोबार मूल्य स्थानीय बजार मूल्यसँग सामञ्जस्यता कायम गर्ने,
– वस्तु कारोबारमा पारदर्शिता, स्वच्छता कायम गर्ने ।
सेयर व्यवसायीको भूमिका
– देशव्यापी सञ्जाल विस्तार गर्ने,
– अनलाइन सेयर खरिद बिक्रीको प्रवद्र्धन गर्ने,
– सेयरको खरिद बिक्रीमा स्वच्छता कायम गर्ने,
– वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने,
– प्रतिस्पर्धामार्फत सेयर बजारको विकासमा सहयोग गर्ने,
लगानीकर्ताको भूमिका
– आफूले लगानी गर्ने कम्पनीको जोखिम विश्लेषण गरेर लगानी गर्ने,
– सेयर उतारचढावको अवस्था बुझेर लगानी गर्ने,
– संस्थागत लगानीमा जोड दिने,
– आफूले लगानी गरेको कम्पनीको वित्तीय अवस्था बुझिरहने, कम्पनीका गतिविधिमा नियमित सहभागिता जनाउने,
– पुँजीबजारबारे जनचेतना विस्तारमा सहयोग गर्ने,
– अन्त्यमा, पुँजीबजार दीर्घकालीन पुँजी निर्माण एवं परिचालन गर्ने स्रोत भएकाले यसको स्वच्छता, प्रतिस्पर्धा एवं विकास हुन आवश्यक छ । यसका लागि यसमा सम्बद्ध निकायले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?