logo
२०८१ बैशाख ८ शनिवार



लोकसेवा आयोग अब कमलपोखरीमा

लोकसेवा |
राष्ट्रिय |


लोकसेवा आयोग अब कमलपोखरीमा


सविता शर्मा

काठमाडौँ,साउन १ गते । लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरबाट कमलपोखरीमा सर्ने भएको छ । भूकम्प प्रतिरोधात्मक संरचनासहितको आधुनिक भवन निर्माण भएपछि शुक्रबारदेखि लोकसेवा आयोग कमलपोखरीमा सर्न लागेको हो ।
आयोगले आइतबारका लागि तोकिएको स्वास्थ्य सेवा नवौँ तहको अन्तर्वार्ता कमलपोखरीको नयाँ भवनमा हुने गरी सूचना समेत प्रकाशित गरिसकेको छ । लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले आंशिक रूपमा साउन १ गतेदेखि सर्ने र ३ गतेदेखि अन्तर्वार्ता कमलपोखरी भवनबाट नै गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयुक्तज्यूहरू १ गतेदेखि नै जानुहुन्छ अरू शाखाहरू विस्तारै सर्छन् ।”
लोकसेवाको पुरानो भवन २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले नयाँ भवन निर्माण गरेको हो । नयाँ भवन भूकम्पप्रतिरोधी र फराकिलो रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर सुरेन्द्र वैद्यले भन्नुभयो, “भूकम्प, आगलागी र अन्य जोखिमबाट बच्ने गरी डिजाइन भएको छ ।”
भवन निर्माणको लागत ७१ करोड १२ लाख २८ हजार रहेको छ । जमिनमुनि दुई र माथि छ तलाको उक्त भवनमा दुईवटा लिफ्टसमेत राखिएको छ ।
तीन वर्षको निर्माण अवधि रहेकोमा निर्धारित समयभन्दा तीन महिना थप समय लागेको वैद्यले बताउनुभयो । भवन निर्माण २०७४ साल चैतबाट सुरु गरिएको थियो ।
नयाँ भवनमा केन्द्रीय कार्यालयमा रहेको सम्पूर्ण दरबन्दीअनुसारका कर्मचारी अट्ने क्षमता रहेको पनि वैद्यले स्पष्ट गर्नुभयो । उहाँले एक सय ५० जनासम्म अट्ने बहुउपयोगी हल र पुस्तकालय रहेको जानकारी दिनुभयो । अनामनगरमा सर्नुअघि पनि लोकसेवाको केन्द्रीय कार्यालय कमलपोखरीमा नै थियो ।
भूकम्पमा लोकसेवाको पुरानो भवन भत्किएको थियो । आयोग भवन भत्कनुअघि नै अनामनगरमा सरेको थियो । अनामनगरमा आयोग सरेको करिब १० वर्ष भएको छ । आयोग सरेपछि केही समय त्यहाँ युवा तथा खेलकुद मन्त्रालय रहेको थियो । भूकम्पले उक्त भवन क्षतिग्रस्त बनेपछि मन्त्रालय सिंहदरबारमा सरेको हो ।
पहिले पनि लामो समयदेखि लोकसेवा आयोग कमलपोखरीमा रहेको थियो । प्रवक्ता सुवेदीले भन्नुभयो, “संस्थागत स्मरणजस्तो भयो, त्यो ठाउँको छुट्टै महìव भयो, पहिलेदेखि त्यहीँ बसेको ठाउँ भयो ।’’ लोकसेवा आयोगका तत्कालीन अध्यक्ष उमेश मैनालीले गत फागुन २६ गते कमलपोखरीमा निर्मित नयाँ भवनको उद्घाटन गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?