logo
२०७८ बैशाख २८ मंगलवार



लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)


१. नेपालको विद्यमान योजना अभ्यासका सबल तथा दुर्बल पक्षको पहिचान गर्दै मुलुकको योजना प्रणालीलाई सुदृढ तुल्याउन कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गर्नुहोस् ।
 मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्ने माध्यम योजना हो । नेपालमा विक्रम संवत् २०१३ सालदेखि योजनाबद्ध विकासको अभ्यास गरी हालसम्म १४ वटा योजना लागू गरिएका छन् । अर्को पन्ध्रौँ योजना लागू भइरहेको छ । योजना अवधिको यो समयमा यातायात, विद्युत, सञ्चार, सिँचाइजस्ता पूर्वाधार क्षेत्रमा केही प्रगति भएका छन् । सामाजिक, प्रशासनिक एवम् कानुनी सुधारका क्षेत्रमा उल्लेखनीय कार्य भएका छन् । आठौँ योजनाको सुरु वर्ष २०४९ सालमा ४९ प्रतिशत रहेको गरिबी १८.७ प्रतिशतमा झरेको छ । योजनाकालको यस अवधिमा हालसम्म आइपुग्दा मुलुकमा सङ्घीयतासहितको नयाँ संविधान जारी भएको छ, गणतन्त्र संस्थागत भएको छ, समावेशी सिद्धान्त, समानुपातिक प्रतिनिधित्व, आरक्षणमार्फत पिछडिएका क्षेत्र, वर्ग, समुदायको सहभागिता बढाइएको छ । यो योजनाबद्ध अभ्यासको सबल पक्ष हो । योजनाबद्ध विकासको यो अभियानमा मुलुकको आर्थिक, सामाजिक एवम् पूर्वाधार क्षेत्रमा केही प्रगति भए पनि मुलुकमा गरिबी, अशिक्षा, पछौटेपन, असन्तुलित विकास, असमानता हटाउन सकेको पाइँदैन । यो योजनाबद्ध विकासको दुर्बल पक्ष हो । समग्रमा नेपालको विद्यमान योजना अभ्यासका सबल तथा दुर्बल पक्षलाई निम्नअनुसार पहिचान गर्न सकिन्छ :
योजना अभ्यासका सबल पक्ष
– दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिलमा योजना केन्द्रित रहेको,
– सबै क्षेत्रको लगानीलाई स्वीकार गरिएको,
– सार्वजनिक, निजी एवम् सहकारी क्षेत्रको साझेदारीमा जोड दिइएको, तीनखम्बे अर्थनीति अवलम्बन गरिएको,
– सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज, सामुदायिक क्षेत्र सबैको भूमिका स्थापित गरिएको,
– गरिबी निवारणमा जोड दिइएको,
– उच्च, दिगो, फराकिलो आर्थिक वृद्धिदरको लक्ष्य लिइएको,
– दिगो विकास लक्ष्य प्राप्ति गर्नमा जोड दिइएको,
– शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाजस्ता सामाजिक क्षेत्रमा लगानी बढोत्तरी,
– पूर्वाधार विकासमा तीव्रता,
– आवधिक योजना, वार्षिक बजेटबीच तालमेल ल्याउन मध्यमकालीन खर्च संरचना लागू,
– आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्रिय आयोजना बैङ्कको स्थापना,
– आठौँ योजनादेखि खुला बजार, आर्थिक उदारीकरण एवम् निजीकरणको नीति लागू ।
योजना अभ्यासका दुर्बल पक्ष
– आर्थिक वृद्धि र स्थायित्व कायम गर्न नसकिएको,
– रोजगारी सिर्जना हुन नसकेको,
– गरिबी निवारणका कार्यक्रम प्रभावकारी हुन नसकेको,
– पूर्वाधार विकासमा ढिलाइ तथा कमजोर गुणस्तर,
– प्राकृतिक एवम् मानवीय स्रोत–साधनको कमजोर परिचालन,
– कृषिको व्यावसायीकरण एवम् आधुनिकीकरणमा प्रोत्साहनको कमी,
– आर्थिक, सामाजिक न्याय र समानता कायम हुन सकेन,
– भ्रष्टाचार नियन्त्रण प्रभावकारी भएन,
– सङ्घीय प्रणालीअनुरूप प्रशासनको सुदृढीकरण हुन सकेन,
– शान्ति सुरक्षा, सुशासन र स्थायित्वको प्रत्याभूति हुन सकेन,
– नागरिकको आशा, अपेक्षा पूरा गर्न नसक्दा राज्यप्रतिको भरोसा बढ्न सकेन ।
योजना प्रणालीलाई सुदृढ तुल्याउन कार्यान्वयनयोग्य सुझाव
– राष्ट्रिय योजना आयोग गठन, कार्य तथा भूमिकासम्बन्धमा ऐन नियमको तर्जुमा गरी कानुनी आधार प्रदान गर्ने, प्रदेश र स्थानीय तहसम्मको योजनाबद्ध विकासमा समन्वयात्मक तथा कार्यात्मक सम्बन्ध विकास गर्ने, तीन तहबीच सहकार्य, सहअस्तित्व तथा साझेदारीमा जोड दिने,
– आवश्यकता एवम् प्राथमिकताका आधारमा योजना तर्जुमा गर्ने,
– प्राथमिकता प्राप्त आयोजना एवम् कार्यक्रमको छनोट गर्ने,
– प्राथमिकता प्राप्त आयोजनामा बजेटको अभाव हुन नदिने,
– पर्याप्त पूर्वाधार तयारी गरेरमात्र आयोजना कार्यान्वयनमा जाने,
– स्थानीय जनताको पर्याप्त सहयोग तथा समन्वय हुनेगरी कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्ने,
– कृषि, पर्यटन, पूर्वाधार निर्माण, जलविद्युत् तथा ऊर्जा, जनशक्ति विकासका क्षेत्रमा लगानी बढाउने,
– कृषिको आधुनिकीकरण तथा व्यवसायिकीकरणमा राज्यबाट प्रोत्साहनको व्यवस्था गर्ने, कृषि सीप विकास तालिम, लगानीका लागि कर्जा, मल तथा बीउ सहुलियत, जग्गा वितरण, आधुनिक कृषि औजार तथा उपकरण आदि जस्ता पक्षमा सरलीकरण तथा सहजीकरण गरी कृषिलाई साँच्चिकै आधुनिक, व्यावसायिक एवम् उत्पादनमूलक बनाउने,
– उद्योग व्यवस्थापनमा उद्योगीका आवश्यकतामा राज्यबाट थप सुविधा, सहुलियत, सहजीकरण गरी उद्योगलाई देश विकासको आधारशिलाका रूपमा विकास गर्ने,
– पर्यटन नेपालको बहुआयामिक विकासको सम्भावना हो । त्यसकारण पर्यटन पूर्वाधार विकास, लगानी, प्रोत्साहन, सहजीकरण, समन्वय, सहकार्य, प्रचार–प्रसारलगायतका माध्यमबाट पर्यटन विकासमा जोड दिने, पर्यटन वास्तवमा स्वतन्त्रतामा निर्भर रहने हुँदा हस्तक्षेपमुक्त खुला स्वतन्त्र क्षेत्रको अवधारणा ल्याउने, पर्यटन व्यवसायीबाट पर्यटकको मागबमोजिमका सेवाप्रवाहमा राज्यबाट हुन सक्ने सहयोग, स्वतन्त्रता तथा समन्वयमा कुनै कमजोरी हुन नदिने,
– विकासको संवाहकका रूपमा रहने प्रशासनको कार्यान्वयन क्षमता सुदृढ गर्ने, कर्मचारीको क्षमता विकासमा जोड दिने,
– पारदर्शिता, जवाफदेहिता तथा सहभागिताको सुनिश्चितता गरी सार्वजनिक, निजी तथा सहकारी सबै क्षेत्रमा सुशासनको प्रत्याभूति गर्ने,
– विकास योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्ने निकायबीच कार्यगत समन्वय कायम गरी आयोजना व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि गर्ने,
– सूचकका आधारमा नियमित अनुगमन गर्ने,
– आयोजनाको उद्देश्य एवम् लक्ष्य प्राप्त भए नभएको बारेमा प्रभाव मूल्याङ्कन गर्ने,
– अन्त्यमा, गर्नुपर्ने भावी कार्यक्रमको विवरण योजना हो । यो मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्ने माध्यम भएकाले यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यसका लागि योजना तर्जुमादेखि योजनाको कार्यान्वयन, अनुगमन एवम् मूल्याङ्कनमा सरोकारवालाको सक्रिय एवम् सार्थक सहभागिता गराई जनअपेक्षित व्यावहारिक योजना लागू गर्नुपर्छ ।

२. नेपालको भन्सार कार्यालयमा मालवस्तु जाँचपास के–कसरी हुने व्यवस्था छ ? चर्चा गर्नुहोस् ।
 नेपालमा भन्सार ऐन–२०६४ र भन्सार नियमावली–२०६४ ले भन्सार कार्यालयमा मालवस्तु जाँचपाससम्बन्धी विभिन्न प्रक्रियागत व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
क. मालवस्तुको विवरण पेस गर्नुपर्ने :
– मालवस्तु सवारीसाधनको चालकले सवारीसाधन भन्सार कार्यालयमा प्रवेश गर्नुअघि सवारीसाधनमा रहेको मालवस्तुको विवरण भन्सार कार्यालयमा पेस गर्नुपर्छ ।
ख. प्रज्ञापनपत्र भरी पेस गर्नुपर्ने :
– मालवस्तु निकासी पैठारी गर्ने व्यक्ति वा निजको भन्सार प्रतिनिधि (भन्सार एजेन्ट)ले मालवस्तुसँग सम्बन्धित कागजात संलग्न गरी प्रज्ञापनपत्र भरी भन्सार अधिकृतसमक्ष स्वयम् घोषणा गरेर पेस गर्नुपर्छ । यसप्रकारका कागजात तथा भन्सार प्रज्ञापनपत्र भौतिक रूपमा वा भन्सारमा प्रयोग गरिने कम्प्युटर प्रणाली आशिकुडा वल्र्डमार्पmत विद्युतीय स्वरूपमा भन्सार अधिकृतसमक्ष पेस गर्न सकिने व्यवस्था छ ।
प्रज्ञापनपत्रसाथ संलग्न गर्नुपर्ने कागजात :
भारतबाट मालवस्तु पैठारी गर्दा :
– बीजक (इन्भ्वाइस),
– प्याकिङ लिस्ट,
– प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात,
– इनबन्ड (परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी भारतबाट पैठारी गर्ने प्रक्रिया)­ अन्तर्गत पैठारी गर्दा नेपाल इन्भ्वाइस (इनबन्ड फाराम), बीबीनी फाराम, भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात र सोमा उल्लेख भए बमोजिमका कागजातहरू,
तेस्रो मुलुकबाट मालवस्तु पैठारी गर्दा ;
– भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात,
– बीजक (इन्भ्वाइस),
– प्याकिङ लिस्ट,
– बिल अफ लेडिङ् वा एयरवे बिल,
– उत्पत्तिको प्रमाणपत्र,
– विदेशी विनिमय नियन्त्रण (बीबीनी) फाराम,
– भारतमा ट्रान्जिट भई पैठारी गरिने मालवस्तुको हकमा भन्सार पारवहनसम्बन्धी कागजात,
– हवाईमार्गबाट पैठारी हुनेमा सम्बन्धित एयरलायन्सको डेलिभरी अर्डर,
– भन्सार कार्यालयमा कुनै टर्मिनल सञ्चालक भएकोमा त्यस्तो टर्मिनल सञ्चालकले जारी गरेको डेलिभरी अर्डर,
– प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात,
निकासी गर्दा :
– बीजक (इन्भ्वाइस),
– प्याकिङ लिस्ट,
– उत्पत्तिको प्रमाणपत्र,
– तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात,
– प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात ।
ग. प्रज्ञापनपत्र र मालवस्तु जाँच गर्ने :
– प्रज्ञापनपत्र पेस भएपछि भन्सार अधिकृतले सर्वप्रथम सो प्रज्ञापनपत्रमा घोषित मालवस्तु कानुनबमोजिम निकासी पैठारी गर्न पाइने मालवस्तु हो वा होइन भन्ने जाँच गर्नुपर्छ । त्यसरी जाँच गर्दा मालवस्तु निकासी पैठारी गर्न पाइने देखिएमा भन्सार अधिकृतले निकासी पैठारी हुने जुनसुकै मालवस्तुको भारी वा पोका एक–एक गरी वा बीच–बीचमा छड्के गरी वा केही प्रतिशतमात्र खोल्न र जाँच गर्न सक्ने वा आफूमातहतका कुनै कर्मचारीलाई त्यसरी खोल्न र जाँच गर्न आदेश दिन सक्ने व्यवस्था छ ।
घ. मालवस्तुको नमुना सङ्कलन र परीक्षण :
– नेपालमा पैठारी हुने खाद्य पदार्थ, पेय पदार्थ तथा अन्य कुनै मालवस्तुको गुणस्तर परीक्षण, भन्सार मूल्य निर्धारण, वर्गीकरण, जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रभावको दृष्टिकोणले नमुना जाँच गर्न वा सम्बन्धित विशेषज्ञबाट जाँच गराउन वा प्रयोगशालाबाट परीक्षण गराउन आवश्यक देखेमा भन्सार अधिकृतले उक्त मालवस्तुको धनी वा निजको भन्सार एजेन्टको रोहबरमा नमुना झिकी आफैँले जाँच गर्न सम्बन्धित विशेषज्ञबाट जाँच गराउन वा भन्सार विभाग वा भन्सार कार्यालयको प्रयोगशाला वा अन्य सरकारी निकायको प्रयोगशालाबाट परीक्षण गराउन सक्ने व्यवस्था छ ।
ङ. मालवस्तुको भन्सार मूल्याङ्कन गर्ने :
– मालवस्तु र कागजात दुवैको जाँच गरेपछि भन्सार अधिकृतले निकासी पैठारी हुने मालवस्तुको भन्सार मूल्याङ्कन गर्नुपर्छ । जसअनुसार पैठारी हुने मालवस्तुको भन्सार मूल्य सर्वप्रथम कारोबार मूल्यका आधारमा गर्ने, कारोबार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य त्यस्तो मालवस्तु पैठारी हुनुभन्दा पहिले नेपालमा पैठारी भइसकेको समरूपको मालवस्तु (आइडेन्टिकल गुड्स)को कारोबार मूल्यका आधारमा गर्ने, समरूपको मालवस्तुको कारोबार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य नेपालमा पहिले पैठारी भएको मिल्दोजुल्दो मालवस्तु (सिमिलर गुड्स)को कारोबार मूल्यका आधारमा निर्धारण गर्ने, मिल्दोजुल्दो मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु अघि नै नेपालमा पैठारी भई बजारमा पैठारीकर्तासँग असम्बन्धित व्यक्तिलाई बिक्री भएको अधिकतम इकाइको प्रतिइकाइ बिक्री मूल्यमा नेपालमा लागेको कर, महसुल, अन्य सम्बद्ध खर्च र मुनाफा कटाइ (डिडक्टिभ भ्यालु मेथडअनुसार) मालवस्तुको भन्सार मूल्य निर्धारण गर्ने, यसरी भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु उत्पादन वा निर्माण गर्न लागेको खर्च र सो मालवस्तु पैठारीकर्तालाई बिक्री गर्दा बिक्रेताले लिएको वा लिन सक्ने मुनाफासमेत गणना गरी (कम्प्युटेड भ्यालु मेथडअनुसार) भन्सार मूल्य निर्धारण गर्ने, यसरी पनि भन्सार मूल्य निर्धारण गर्न नसकिएमा भन्सार अधिकृतले माथिका सबै विधिविपरीत नह्ुनेगरी मनासिब आधारमा मालवस्तुको भन्सार मूल्य निर्धारण गर्ने व्यवस्था छ । त्यसैगरी, नेपालबाट निकासी हुने मालवस्तुको भन्सार मूल्य निकासीकर्ताले घोषणा गरेको बीजक मूल्यलाई आधार मानेर भन्सार मूल्य निर्धारण गर्ने व्यवस्था छ ।
च. मालवस्तुको वर्गीकरण तथा भन्सार महसुल निर्धारण गर्ने ः
– भन्सार मूल्य निर्धारण भएपछि भन्सार अधिकृतले घोषित मालवस्तु प्रचलित आर्थिक ऐनअनुसारको उपशीर्षकबमोजिम वर्गीकरण भए नभएको जाँच गर्नुपर्छ । मालवस्तुको वर्गीकरण जाँच गर्दा ठीक भएको पाइएमा भन्सार अधिकृतले निकासी पैठारी हुने मालवस्तुमा लाग्ने महसुल निर्धारण गर्नुपर्छ । छ. मालवस्तु जाँचपास गरी गेट पास दिने :
– निकासी पैठारी हुने मालवस्तुमा कानुनबमोजिम लाग्ने महसुल लिएरमात्र भन्सार अधिकृतले मालवस्तु जाँचपास गर्नुपर्छ । राजस्व भौचर, भन्सार प्रज्ञापनपत्र, मालवस्तुसँग सम्बन्धित अन्य कागजात र भन्सारको गेटपासलगायतका सबैको भन्सारमा रेकर्ड राखेर मालवस्तु भएको सवारी साधन भन्सार गेटबाट बाहिर गेट पाससहित निकाल्नुपर्छ । मालवस्तु भएको सवारीसाधन भन्सार गेटबाट बाहिर निक्लेपछि भन्सारमा मालवस्तु जाँचपास कार्य सम्पन्न हुन्छ ।

३. सन्तुलन परीक्षण भनेको के हो ? यसका उद्देश्य के–के हुन् ? लेख्नुहोस् ।
 आर्थिक कारोबारका प्रारम्भिक अभिलेख गोश्वारा भौचरको रकम सम्बन्धित खातामा पोस्टिङ गरेपछि सम्पूर्ण अभिलेखको गणितीय शुद्धता जाँच गरी सुधार गर्ने उद्देश्य लिई सबै खाताको डेबिट र क्रेडिटका रकम समावेश गरेर तयार पारिने विवरणलाई सन्तुलन परीक्षण भनिन्छ । यसको डेबिट पक्ष र क्रेडिट पक्ष दुवैको कुल रकम बराबर भएमा कुनै गल्ती नभएको मानिन्छ । दोहोरो लेखा प्रणालीको सिद्धान्त अवलम्बन गरेर तयार पारिने यो विवरण बनाउन कानुनी अनिवार्यता नभए पनि यसले अन्तिम खाता तयारीका लागि आधार प्रदान गर्छ ।
सन्तुलन परीक्षणका उद्देश्य
– लेखामा हुन सक्ने गणितीय त्रुटी पहिचान गर्नु,
– व्यवसायको नाफा नोक्सानको स्थिति जानकारी गराउनु,
– विषयगत खाताको सारांश निकाल्नु,
– वित्तीय विवरण तयार गर्न सहयोग गर्नु,
– खाताको अवस्थाबारे सूचना प्रवाह गर्नु,
– प्रारम्भिक अभिलेख र त्यसपछिका खातामा हुने कमजोरी सुधार गर्नु ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?