logo
२०८० चैत्र १६ शुक्रवार



एपिएफलाई पीएम कप उपाधि

क्रिकेट |
खेलकुद |


एपिएफलाई पीएम कप उपाधि
तस्बिर : बिकास द्वारे


काठमाडौँ, माघ ५ गते । प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

उपाधिसँगै एपिएफले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख रुपियाँमा चित्त बुझाएको छ । एपिएफले दिएको एक सय ५८ रनको विजय लक्ष्य पछ्याएको पुलिस २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । दिलिप नाथले २३, आरिफ शेखले १२ र अनिल शाह १० रन बनाउनुभयो । बलिङमा एपिफका किशोर महतोले तीन विकेट लिनुभयो । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एक एक विकेट झार्नुभएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले १९.५ बल ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । एपिएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाउनुभयो । लोकेश बमले २७, सन्दीप जोराले २४, कप्तान शरद भेषवाकर १९ र भुवन कार्कीले १७ रन बनाउनुभयो ।

बलिङमा पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले तीन तीन विकेट लिनुभयो । गुलशन झाले दुई तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक एक विकेट लिनुभएको थियो । एपिएफका किशोर महतो फाइनल खेलको प्लेयर अफ दि म्याच हुनुभयो ।

प्रतियोगितामा लुम्बिनीका अनिल खरेल उत्कृष्ट बलर, पुलिसका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान, एपिएफका आशिफ शेख सर्वोत्कृष्ट खेलाडी हुनुभयो । उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा सर्र्वाेत्कृष्ट खेलाडीले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायतले पुरस्कार प्रदान गर्नुभयो । यसअघि एकदिवसीय ढाँचामा सञ्चालन हुन्दै आएको प्रधानमन्त्री कप पहिलो पटक टी–२० ढाँचामा खेलाईएको हो ।

क्यानले ओमानमा आयोजना हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गरेर टी–२० ढाँचामा प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सात प्रदश र तीन विभागीइ टोलीसहित १० टोलीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?