logo
२०८१ बैशाख ६ बिहीवार



जीप दुर्घटनाका घाइते र मृतकका परिवारलाई गाउँपालिकाको सहयोग

खुला |


जीप दुर्घटनाका घाइते र मृतकका परिवारलाई गाउँपालिकाको सहयोग


बेलिना थापा
लमजुङ, माघ ५ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले जीप दुर्घटनाका घाइते तथा मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

पालिकाले घाइते तथा मृतकको घरमै पुगेर आर्थिक रकम हस्तान्तरण गरेको हो । गत मंसिर २३ गते मर्स्याङ्दी गाउँपालिका वडा ८ भुष्मेमा भएको जीप दुर्घटनाका घाइते तथा मृतकका परिवारलाई गाउँपालिकाका तर्फबाट आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

मस्र्याङदी गाउँपालिका नौ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी बोकेको बोलेरो जीप मर्स्याङ्दी गाउँपालिका ८ भुष्मे नजिकै दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । छ जना घाइते भएका थिए । मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरुप जनही २५ हजार रुपियाँ सहयोग गरेको छ । गम्भीर घाइते भएका तीन जनालाई जनही एक लाख रुपियाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

उपचार पश्चात घर फर्किएका तीनजना घाइतेलाई जनही ५० हजारका दरले सहयोग हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार छ जना घाइते र तीनजना मृतकको परिवारलाई गरी एकमुष्ठ पाँच लाख २५ हजार रुपियाँ सहयोग रकम हस्तान्तरण गरिएको छ । मृतकको परिवारलाई किरिया खर्चस्वरुप र घाइतेका परिवारलाई उपचार खर्चस्वरुप सहयोग गरिएको गुरुङले बताउनुभयो । घाइतेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिुनका साथै मृतकका परिवारलाई सान्त्वना प्रदान गर्दै सहयोग रकम हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । जीप दुर्घटनामा परि विद्यालयका शिक्षक ३६ वर्षीय कमल थापा, विद्यालयमा कक्षा सात मा अध्ययनरत १३ वर्षीया छात्रा प्रमिसा गुरुङ, कक्षा छ मा अध्ययनरत १३ वर्षीय गणेश भण्डारीको मृत्यु भएको थियो । अन्य छ जना घाइते भएका थिए । जिल्लाभित्र उपचार हुन नसकी जिल्ला बाहिरका अस्पतालमा उपचार गरिएका घाइतेलाई उपचार खर्चस्वरुप सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, वडा ९ का वडा अध्यक्ष नारायणबहादुर थापा, नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बमबहादुर थापा, जिल्ला कमिटी सदस्य तिलकबहादुर भण्डारी लगायतको टोली घाइते तथा मृतकको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?