logo
२०८१ बैशाख १२ बुधवार



बेलहिया नाकाको आवागमनमा कडाई

खुला |
प्रदेश |


बेलहिया नाकाको आवागमनमा कडाई
बेलहिया नाकाबाट आएका यात्रुलाई चेकजाँच गरिँदै । तस्विरः लक्ष्मण पौडेल



लक्ष्मण पौडेल
भैरहवा, मङ्सिर २३ गते । नेपाल–भारत सीमा नाका बेलहियाको आवतजावतमा कडाई गर्न थालिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट “ओमिक्रोेन” को संक्रमण भित्रिन नदिन आवतजावतमा कडाई गरिएको हो । अहिले भारतबाट आउने नेपाली र भारतीयहरुलाई स्वास्थ्य चेकजाँच गरेर मात्र प्रवेश दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।

“केही दिनअघि सबै सुरक्षा निकाय लगायत सरोकारवालाको बैठक बसेर सीमामा सतर्कता अपनाउने निर्णय गरेका थियौं, सोही निर्णय कार्यान्वयन स्वरुप आवागमनमा विशेष सजगता अपनाउँदै कडाई गरिएको छ”–उहाँले भन्नुभयो । रुपन्देहीको बेलहिया नाका स्थलमार्गबाट पर्यटक आउने सबैभन्दा ठूलो नाका हो । बेलहिया नाका लगायत रुपन्देहीका अन्य सीमा नाकाहरुमा पनि विशेष सावधानी अपनाइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।

“विदेशी नागरिकको निगरानी गर्नुका साथै चेकजाँचजलाई कडाई गर्ने र सचेतना फैलाउने कामलाई विशेष ध्यान दिइएको छ”–उहाँले भन्नुभयो । बेलहिया नाकाबाट भारतलगायत, अष्ट्रेलिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन् । स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाई गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राखिएको र शंकास्पद भए “रेपिड एन्टिजोन टेष्ट” गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले जनजीवनलाई सामान्य गर्दै विदेशी पर्यटकलाई लक्षित गरेर सचेतना अपनाउने विषयलाई प्राथमिकता दिइएको उल्लेख गर्दै बुटवल उपमहानगरापलिका, तिलोत्तमा र देवदह नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकामा १८ वर्ष उमेर माथिकालाई खोपको दुई मात्रा दिइएको बताउनुभयो । उहाँले जिल्लाका अन्य ११ पालिकामा पनि खोपको दुई मात्रा दिइने जानकारी दिँदै अहिलेसम्म रुपन्देहीमा खोपको पहिलो डोज लगाउने ६० प्रतिशत र दोस्रो डोज लगाउने ५० प्रतिशत भएको बताउनुभयो ।

सीमा क्षेत्रमा शंकास्पद भेटिएका नागरिकमा रेपिड एन्टिजेन टेष्ट पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ । ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ बाट ५५८ को मृत्यु भएको कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?