logo
२०८० चैत्र १५ बिहीवार



कैलालीको घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता

खुला |
प्रदेश |


कैलालीको घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता


अविनाश चौधरी
धनगढी, मङ्सिर १६ गते । कैलालीको प्रसिद्ध घोडाघोडी तालमा पहिलो पटक चराको फोटो खिच्ने प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल र सो तालमा पाइने चराको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक ‘बर्ड फोटोग्राफी’ प्रतियोगिता सुरु गरिएको हो । बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले आयोजना गरेको प्रतियोगिता बोर्डका अध्यक्ष एवम् घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले उद्घाटन गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंं, पोखरा, चितवन, बर्दिया, कैलाली, कञ्चनपुरका वाइल्ड लाइफ फोटोग्राफर, पत्रकार, संरक्षणकर्मीको सहभागिता छ ।
प्रतियोगितामा सहभागी फोटोग्राफरहरुले घोडाघोडी तालमा पाइने जुनसुकै चराहरुको दुई दिनसम्म फोटो खिच्ने र आफूले खिचेको उत्कृष्ट तीन वटा फोटो प्रतियोगिताका लागि पेस गर्ने बोर्डका निर्देशक दयाराम चौधरीले बताउनुभयो । ‘यो प्रतियोगिता मात्रै नभइ घोडाघोडीको प्रचारप्रसार गर्ने एउटा जमर्को पनि हो’, उहाँले भन्नुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट फोटो खिच्ने फोटोग्राफरलाई ३० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । यसैगरी, दोस्रो स्थान प्राप्त गर्नेलाई २० हजार र तेस्रो स्थान प्राप्त गर्ने फोटोग्राफरलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

कैलालीको ठूलो सिमसारको रुपमा रहेको घोडाघोडी ताल र आसपासका क्षेत्रमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये ६४ प्रजातिका जलपन्छी रहेको चराविद हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँकाअनुसार यो सिमसारमा विश्वका दुर्लभ १२ प्रजातिका चराचुरुङ्गी पाइने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?