logo
२०८० चैत्र १६ शुक्रवार



दीर्घरोगी बाहेकलाई लगाउन थालियो फाइजर खोप

स्वास्थ्य |
मुख्य समाचार |


दीर्घरोगी बाहेकलाई लगाउन थालियो फाइजर खोप
फाइल फोटो


काठमाडौं, मङ्सिर ४ गते । दीर्घरोगीलाई मात्र लगाइने भनिएको फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगी बाहेकलाईसमेत लगाउन थालिएको छ ।

अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप सुरुमा अस्पतालमा उपचार गराइरहेका दीर्घ रोगीलाई मात्र लगाइने भनिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले फाइजर खोप १८ वर्ष मुनिका बालबालिकालाई समेत लगाउन सुरु गरिएको जानकारी दिनुभयो । दीर्घरोगीलाई लगाउँदा खोप बाँकी भएपछि अन्य उमेर समूहकालाई दिइएको उहाँको भनाइ छ ।

पहिलो चरणमा आएको फाइजर खोप मङ्सिर चारसम्म लगाउने भनिएकोमा खोप बाँकी रहेपछि यसलाई निरन्तरता दिएको डा. अधिकारीको भनाइ छ ।

सरकारले गत महिना कात्तिक आठ गते एक लाख ६२० मात्रा फाइजर खोप ल्याएको थियो । फाइजर खोप नेपालमा प्रयोग हुने पाँचौ खोप हो । यसअघि एस्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइसकिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फाइजर खोप १२ देखि १५ वर्ष उमेर समूहमा प्रभावकारी हुनुका साथै ९५ प्रतिशत प्रभावकारी हुने उल्लेख गरेको छ ।

खोप शाखा प्रमुख सागर दाहालका अनुसार फाइजर खोपलाई भण्डारण गर्नका लागि माइनस ७० डिग्री तापक्रम आवश्यक पर्दछ । हाल नेपालमा एक लाख मात्रा खोप भण्डारण गर्न मिल्ने फ्रिज रहेको छ । फाइजर खोप भण्डारणका लागि युनिसेफले नेपाल सरकारलाई एक लाख मात्रा अट्ने चारवटा अल्ट्रा कोल्ड फ्रिज यसअघि उपलब्ध गराएको थियो।

फाइजर खोप कोरोना भाइरसविरुद्ध विश्वमै पहिलो पटक उत्पादन भएको हो । खोप शाखा प्रमुख दाहालले कोरोना विरुद्धको फाइजर खोप दीर्घरोगी र बालबालिकाले उत्साहजनक रुपमा लगाइरहेको जानकारी दिनुभयो । खोप लगाएपछि कुनै समस्या नदेखिएको उहाँको भनाइ छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोपबारे मार्गदर्शन सार्वजनिक गरिसकेको छ । उक्त मार्गदर्शनमा पनि खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग, खोप लगाउन हुने अवस्था, खोप लगाउन नहुने अवस्था, चिकित्सकको विशेष निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुन सक्ने असरका विषयमा प्रष्ट पारिसकेको थियो ।

पहिलो पटक फाइजर खोप लगाएकालाई २१ दिनदेखि २८ दिनभित्र दोस्रो मात्रा दिइने छ । पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाएकालाई मङ्सिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो मात्रा लगाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले १९ वर्ष मुनिका बालबालिकाका लागि फाइजर खोप आउने निश्चित भइसकेको बताउनुभयो । उहाँले कोभ्याक्स सुविधामार्फत फाइजर खोप भण्डारण गर्ने प्रविधि आउन लागेको भन्दै त्यसपछि तत्काल फाइजर खोप ल्याइने बताउनुभयो ।

यसअघि सरकारले ६० लाख मात्रा फाइजर र ४० लाख मात्रा मोडर्ना खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरिसकेको थियो । सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।

खोप शाखा प्रमुख दाहालले केही मानिसले फाइजर खोप लगाउन नहुने प्रष्ट पार्नु भएको छ । १२ वर्षभन्दा कम उमेरको व्यक्ति, गम्भीर प्रकारको एलर्जी भएका व्यक्ति, गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा फाइजर खोप लगाउन नहुने बताउनुभयो ।

अहिलेसम्म सरकारले उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवी शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट फाइजर खोप लगाइरहेको छ । यस्तै काठमाडौँ उपत्यका बाहिर प्रमुख अस्पतालबाट पनि फाइजर खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?