logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाका दुवै मात्रा खोप प्रभावकारी

मुख्य समाचार |


कोरोनाका दुवै मात्रा खोप प्रभावकारी


सरोज ढुङ्गेल

काठमाडौँ, असोज २४ गते । कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको प्रभाव बढिरहेको पाइएको छ । कोरोना सङ्क्रमण भएका सहभागीमध्ये लक्षण नदेखिएका सहभागीको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा कोरोनाविरुद्धको खोप लगाई शरीरमा एन्टिबडी विकास भएकाको सङ्ख्यालाई विश्लेषण गर्दा खोप लगाएको समय बढ्दै जाँदा एन्टिबडी विकसित भएकाको सङ्ख्या घट्दै गएको पाइएको छ ।

परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले कोरोना सङ्क्रमण भई निको भएका तथा खोप लगाएका अधिकांश जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टिबडी विकसित भएको अनुसन्धानबाट देखिएको जानकारी दिनुभयो । कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३.३ प्रतिशत र भेरोसेल लगाएकामा ७२.४ प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता एन्टिबडी बनेको बताउनुभयो ।
परिषद्ले काठमाडौँ, ललितपुर र भक्तपुरका एक हजार ७९६ जनामा अध्ययन गरेको थियो । एन्टिबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अध्ययन गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको हो । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले पहिलो मात्रा खोप लगाएकामध्ये ५५.१ प्रतिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको जानकारी दिनुभयो ।

भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएको जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमा एन्टिबडी देखिएको बताउनुभयो । उहाँले खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको बताउनुभयो ।

यस्तै, खोप नलगाएका व्यक्तिमा ४३.९ प्रतिशतमा एन्टिबडी देखिएको छ । खोप लगाएको ६० दिनसम्म एन्टिबडी देखिने र त्यसपछि क्रमशः एन्टिबडी घट्दै गएको अनुसन्धानले देखाएको छ ।
सदस्य–सचिव डा. ज्ञवालीले चौथो महिनामा एन्टिबडी क्रमशः घटेर ४३.७५ प्रतिशत मात्रा एन्टिबडी देखिएको बताउनुभयो । उहाँले अनुसन्धानकै क्रममा दीर्घरोगीमध्ये एउटै मात्र दीर्घरोगी भएका ७८.९, दुईवटा दीर्घरोगी भएकामा ७१.६९ र तीनवटा दीर्घरोगी भएकामध्ये ४२.३ प्रतिशत एन्टिबडी देखिएको छ ।
उक्त अध्ययनमा एक हजार २२७ पुरुष र ५७९ महिला सहभागी थिए । औसत उमेर ५०.५ प्रतिशतका व्यक्तिमा गरिएको अध्ययनमा १५.४ प्रतिशत सहभागीमा सङ्क्रमण देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?