logo
२०८१ बैशाख ८ शनिवार



नेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु

मुख्य समाचार |


नेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु


सरोज ढुङ्गेल

काठमाडौँ, असोज १५ गते । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ ।
यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिनुभयो ।

उहाँले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिनुभयो । डा. झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताउनुभयो ।
निर्देशक डा. झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिनुभयो । जिन सिक्वेन्सिङले कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँछ ।
डा. झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण हो ।

पीसीआर परीक्षणमा कोरोना भाइरसको जिन शरीरमा छ कि छैन जाँच गरिन्छ । त्यस्तै जिन सिक्वेन्सिङमा भाइरसको बनावटका बारेमा अध्ययन गर्ने गरिन्छ । जिन सिक्वेन्सिङ अनुसन्धानका लागि मात्र गर्ने गरिन्छ ।
कोरोना भाइरसले आफ्नो जिनमा साना–साना परिवर्तन गरिरहनुलाई म्युटेसन भनिन्छ । धेरै जस्तो म्युटेसनले कुनै प्रभाव नपार्न सक्छ । कहिलेकाहीँ म्युटेसनले भाइरसमा ठूलो बदलाव ल्याइदिन्छ । भाइरस बढी सङ्क्रामक हुन सक्ने, छिट्टै फैलिन सक्ने, उपलब्ध औषधिले काम नगर्ने हुन सक्छ । भाइरसको परिवर्तित स्वरूपलाई नयाँ भेरियन्ट भनिन्छ । त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले एउटा नाम दिन्छ । नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ । डा. झाले सर्वे गर्नका लागि मात्र जिन सिक्वेन्सिङ गर्नुपर्ने भन्दै यो अत्यन्त महँगो हुने भएकोले व्यक्तिपिच्छे परीक्षण गरिरहनुपर्ने जरुरी नरहेको बताउनुभयो ।

डा. झाले हाल नेपालमा कोरोना भाइरसको अल्फा, बिटा, गामा र डेल्टा गरी चारवटा भेरियन्ट रहेको बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १४९ वटा नमुनाको जिन सिक्वेन्सिङ गराइसकिएको जानकारी दिनुभयो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अब विदेशमा नमुना पठाउनु नपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?