logo
२०८० चैत्र १५ बिहीवार



कैलाश मानसरोवर जाने भारतीय पर्यटकलाई जमुनाहा नाकामा स्वागत

पर्यटन |


कैलाश मानसरोवर जाने भारतीय पर्यटकलाई जमुनाहा नाकामा स्वागत
जमुनाहा नाकामा पुगेर पर्यटकको स्वागत गर्दै पर्यटन व्यवसायी । तस्विर ः सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, असोज १२ गते । कैलाश मानसरोवर दर्शन गर्नका लागि नेपालगञ्ज आएका भारतीय पर्यटकलाई यहाँस्थित जमुनाहा नाकामा स्वागत सम्मान गरिएको छ ।
नेपालगञ्जका पर्यटन व्यवसायीले नेपाल भारत सीमानाका जमुनाहामा पुगेर भारतीय पर्यटकलाई स्वागत गरेका हुन् ।
पर्यटकलाई पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स नाटा बाँके (च्याप्टर) अध्यक्ष श्रीराम सिग्देल, होटल सिद्धार्थ भ्यू नेपालगञ्जका केशव न्यौपाने, मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रलगायत पर्यटन व्यवसायीले खादा र टीका लगाएर नाकामै स्वागत गर्नुभयो ।
भारतको मुम्बई र गुजरातबाट नौ जनाको टोली रुपैडिहा हुँदै जमुनाहा नाकाबाट नेपालगञ्ज प्रवेश गरेको छ ।
नेपालगञ्जको प्रवेशद्धारमै न्यानो स्वागत पाउँदा भारतीय पर्यटक हर्षित भएका छन् । उनीहरुले नेपालगञ्जमा बास बसेर विमानबाट हुम्लाको सिमकोट हुँदै लिमि लाप्चा पुगेर कैलास मानसरोवरको दर्शन गर्नेछन्।
पर्यटन प्रर्वद्धन मञ्चका संयोजक श्रेष्ठले भारतीय पर्यटकलाई बढीभन्दा बढी आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटकका लागि यो नाका एकदमै सहज र सरल भएको बताउनुभयो ।
नाटा बाँकेका अध्यक्ष सिग्देलले भारतीय पर्यटकलाई मात्रै लक्षित गरेर नेपालगञ्जमा पर्यटनका गतिविधि सञ्चालन गर्न सकियो भने पर्यटन व्यवसायले धेरै फड्को मार्ने बताउनुभयो ।
पर्यटकलाई सीमामा स्वागत गरिसकेपछि बास बस्न पुगेका पर्यटकलाई होटल सिद्धार्थ भ्यूले पनि छुट्टै स्वागत गरेको छ । पर्यटन दिवसको अवसर पारेर बाँकेमा भारतीय पर्यटकको स्वागत गरिएको होटल सिद्धार्थ भ्यूका सञ्चालक केशव न्यौपानेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?