logo
२०८१ बैशाख ११ मंगलवार

  दृश्य समाचार  



अमृत निकाल्ने ठाउँमा विष वमन नगरौँ

अन्तरवार्ता |


अमृत निकाल्ने ठाउँमा विष वमन नगरौँ


नारद गौतम/ ईश्वरचन्द्र झा, दृष्यमा मनाेजरत्न शाही, केशब गुरूङ्ग 

नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट बनेको संविधान सभाको दोस्रो संस्करणमा नेपालको संविधान २०७२ असोज ३ गते जारी भयो । संविधान सभाले पारित गरेको संविधान जारी गर्ने सौभाग्य पाउनु भएका राष्ट्रपति डा. रामवरण यादव अहिले पनि त्यतिबेलाको अत्यन्तै जटिल क्षण सम्झँदा भावुक हुनुहुन्छ । सातौँ संविधान दिवसका अवसर पारेर गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनका लागि उहाँसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

यहाँले संविधान जारी गर्दाखेरिको क्षणलाई कसरी सम्झनुहुन्छ ?
संविधान जारी भएको समयलाई सम्झिँदा म आफूलाई निकै सौभाग्यशाली ठान्छु । एक किसिमले कर्तव्य पूरा गरेर निवृत्त हुन लागेको पनि थिएँ । विसं २०१७ को घटनाले हामी लोकतन्त्रवादी भयौँ । २००७ सालको क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलनसम्मका सारा कुरा स्मरण गर्दा नेपाली जनताले कति दुःख भोगे, कति शहीद भए, कतिले धनसम्पत्ति गुमाए । विद्यार्थी कालदेखिको योगदानका साथै दुईवटा संविधान सभाको कार्यकालमा पनि सक्रिय रूपमा रहेँ । आफ्नो समन्वयात्मक भूमिकाले जनताको नासो जनताको हातमा आफ्नो हातले दिन पाउँदा त्यस क्षणमा भावुक पनि हुन गएँ ।

केही असन्तुष्टि पनि थिए होइन ?
लोकतन्त्रको उच्चत्तम अभ्यासबाट संविधान आएको थियो । यद्यपि केही असन्तुष्टि थियो । मेरो पनि केही असन्तुष्टि थियो । मानिस कहिल्यै पनि सन्तुष्ट हुन्न । योभन्दा अझै उम्दा संविधान आओस् मेरो चाहना थियो । प्रत्येक धारालाई छलफल गर्ने, स्वीकृत गर्ने गरी अगाडि बढ्नुपर्ने आशा थियो । भूकम्पपछि नियमावलीलाई छिट्टै टुङ्ग्याउने भन्नेमा मेरो चित्त बुझेको थिएन ।
लोकतन्त्रको सबैभन्दा सर्वोत्तम विधि संविधान सभाको प्रक्रिया पूरा गरेर ल्याउनुपर्छ मेरो चाहना थियो । जनताबाट समानुपातिक, समावेशी र ६०१ जम्बो सभाले एउटा यस्तो संविधान देओस् जसलाई युगौँसम्म राष्ट्रले अगाडि लिएर बढोस् भन्ने मेरो चाहना थियो । यता यो सबै भइरहँदा मधेसमा गोली चल्दै थियो । यी सारा कुरा स्मरण हुँदै थियो । समेटेर लग्दा संविधान सफल हुन्छ, सबैको अपनत्व हुन्छ, देशभरि दिपावली हुन्छ भन्ने विश्वास थियो ।
राजकीय र सार्वभौमसत्ता जनतामा छन् र जनताका ६०१ जना वारिशले संविधान सभाबाट संविधान बनाउँदैछन् । उक्त संविधान मैले नै आफ्नो कत्र्तव्य पूरा गरेर जनतालाई बुझाउँदैछु र आफू बिदा हुन्छु । यो सबै स्मरण आइरहन्छ, मधेसमा गोली चलिरहेकोमा असन्तुष्टि थियो । त्यो पनि नचलेको भए र सबैलाई समेटेर लगेको भए राष्ट्र सफल हुन्थ्यो र म पनि सफल हुन्थेँ । फेरि लोकतन्त्रको मन्दिरबाट जनतालाई प्रसाद वितरण आफूले गरिरहेको सम्झेर भावुक हुँदै संविधानलाई ढोग्न पुगेँ ।

संविधानले जनतालाई दिएको सेवा र सुविधा कार्यान्वयनको दृष्टिले कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सुविधा र असुविधाको कुरा पछि मात्रै आउँछ । तुरुन्तै सबैकुरा पाउने होइन । हुन त जनता सर्वोपरि हुन् । जनताकै सुविधाका लागि संविधान ल्याइयो । जनताको स्वतन्त्रता, जीउधन, लोकतान्त्रिक अधिकारका लागि लडाइँ लड्या हौँ । सात दशक वा ७५ वर्ष मात्रै सबैले भन्छन् तर नेपाली जनताले २००७ सालभन्दा दुई दशकअघिदेखि नै स्वतन्त्रताका लागि लडाइँ लडेका थिए । राणाकालदेखि फाँसी चढेका थिए ।
जनताले लामो अभ्यासबाट पाउने हो । जस्तै तीनवटै तहको चुनाव भएको छ । सदनले कानुन बनाउने, प्रदेशले कानुन बनाउने, स्थानीय तहले पाएको अधिकार प्रयोग गर्ने र अभ्यास गर्दै गयौँ भने हामीले पूरा फल पाउँछौँ । हामीले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीसहितको संविधान ल्यायौँ । बेलायतलाई लोकतन्त्रको जननी भनिन्छ । त्यहाँ संविधान आएको तीन सय वर्षभन्दा बढी भयो ।

नेपाली जनताले के पाए त ?
रह्यो नेपाली जनताले केही पाए पाएन ? लोकतन्त्र रहेपछि जनताले पाउने हो । संविधानलाई प्रयोग गर्दै गए भने जनताले पाउँछन् तर समय लाग्छ । अभ्यास जरुरी छ । यद्यपि अहिले संविधानमाथि नै सङ्कट छ तर केही ट-यो ।

डेढ वर्षदेखि के भोग्यौँ भन्नुस् ? एकातिर महामारी छ, अर्कोतिर के हे-यौँ ? लोकतन्त्रको तीनवटा खम्बा हुन्छन् । विधायिका, कार्यपालिका र न्यायपालिका । सर्वोपरि नेपाली जनता छन् । राज्यका संयन्त्र छन् । सबै ऐन, कानुनबमोजिम बन्छन् र सञ्चालन हुन्छन् । तर अभ्यास कस्तो भयो भने दुइटा संस्था मिलेर तेस्रोलाई वध गर्ने, हत्या गर्ने । दुई दुई पटक विधायिकामाथि आक्रमण भयो । यो सही हो या होइन ? तपाईंहरूले लेखेको पढ्छौँ ।
आठ दशकको उपलब्धि हो संविधान । त्यत्रा बलिदानबाट आएको उपलब्धिलाई तपार्इं बलात् आक्रमण गर्ने ? त्यो पनि कार्यकारीबाट ? प्रधानमन्त्री सदन र देशको नेता हुन्छ । उसको कर्तव्य शासन, प्रशासन, सेना, प्रहरी, कर्मचारीतन्त्र र राज्य संयन्त्र कसरी बलियो हुन्छ ? कसरी पद्धतिअनुसार अगाडि बढ्ने भन्ने हो । तर आफ्नो कर्तव्य निर्वाह नगरी र संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी दुई दुई पटक बलात् आक्रमण हुन्छ । राष्ट्रपतिबाट त्यसमा साथ दिइन्छ !
पार्टीको बेथितिलाई लिएर संस्थालाई किन बर्बाद पार्दै हुनुहुन्छ, कम्तीमा त्यति त सोध्न सक्नुहुन्थ्यो ? यो संविधानअनुसार त भएन तर आफैँ सिफारिसमा सही गर्नुहुन्छ । अर्को पटक अदालतको पूर्णपाठ आएकै छैन । अदालतले ७६ को १ देखि ७ सम्म जानुपर्छ फैसला गर्छ तर पूर्णपाठ आएको छैन । बीचमै फेरि भङ्ग हुन्छ ! राष्ट्रपतिले एक पटक पनि सोध्नुहुन्न !
ठूलो दलको हैसियतले दोस्रो पटक प्रधानमन्त्री हुनुभएको छ । विश्वासको मत लिनुभएको छैन । राजीनामा दिनुभएको छैन तर अर्को पटक प्रधानमन्त्री बनाउन भन्नुहुन्छ । त्यो पनि सोध्नुभएन । अदालतले यी सबै भनेको छ ।

राज्यका तीन अङ्गबीचको शक्ति सन्तुलनको अवस्था कस्तो छ नि ?
शक्ति बाँडफाँटको सिद्धान्तअनुसार तीनवटा संस्था–व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये न्यायपालिकाले आफ्नो धर्म निर्वाह गरेको हो त्यतिबेला । न्यायपालिकालाई हामीले धन्यवाद दिऔँ तर उसले कर्तव्य निर्वाह मात्रै गरेको हो । हाईहाई गर्नुपर्ने होइन । संविधानले दिएको कर्तव्य उसले पालना ग-यो, हामीले भन्ने यति हो । जो प्रधानमन्त्रीले गर्नुभएन, राष्ट्राध्यक्षले गर्नुभएन । अदालतले आफ्नो कर्म नगरेको भए दुईवटा संस्था मिलेर अर्कोलाई हत्या गथ्र्यो र प्रक्रिया ‘डिरेल’ हुन्थ्यो ।

अध्यादेशबाट शासन चलाउने होड चलेको छ, यो ठीक हो ?
संविधानले सहज अवस्थामा अध्यादेशको परिकल्पना गरेको छैन । नभई नहुने अवस्थामा मात्रै अध्यादेश लिएर जाने हो । लोकतान्त्रिक प्रक्रियामा अध्यादेशको अभ्यास हुन्न । पटक पटक अध्यादेश ल्याइन्छ भने त्यहाँको लोकतन्त्र समाप्त पारिँदैछ, संविधानबमोजिम बढेको छैन भनेर बुझ्नुपर्छ । तर अध्यादेशबाट बजेट ल्याइन्छ ।
यो २०१७ सालको नेपाल होइन । अहिलेका नेपाली सारा संसारभर छरिएका छन् । ०७ र ४६ सालको आन्दोलन देशमा भयो तर ०६२÷६३ को आन्दोलन न्युयोर्कमा भयो । लण्डनमा भयो । टोकियोमा भयो । म दिल्ली भागेर जाँदा अरू साथीहरूसँगै दश हजार मानिस जन्तरमन्तरमा जम्मा भएर आन्दोलन गर्यौ । लखनऊ, बनारस, मुम्बई, कलकत्ता, गोवामा नेपालीले आन्दोलन गरे, निगरानी गर्ने नेपाली जनता हुन् ।

सङ्घीयता कार्यान्वयनको अवस्था के छ ?
संविधानमाथि नै आक्रमण हुँदा सङ्घीयता कार्यान्वयनको कुरा गर्नुहुन्छ ! डेढ वर्षदेखि त नाटक हे-यौँ । पन्ध्र महिना अझै नौटङ्की हेर्नु छ । सदनमा हेर्नुस्, के हुँदैछ ? बेलायत त लोकतन्त्रको जननी हो । कहिले सदनमा नेपालको जस्तो हेर्नुभएको छ ? मैले देख्या छैन । अमेरिकामा डोनाल्ड ट्रम्पको बेला हाउसमाथि आक्रमण भयो तर लोकतन्त्रले बचायो नि । काँग्रेस, माओवादी, एमाले र त्यत्तिबेलाका सात पार्टी मिलेर न यत्रो ठूलो परिवर्तन आएको हो । सबैको योगदान छ । सबैलाई स्मरण गरौँ आज । यो कम ठूलो बलिदान होइन । नेपाली जनताको यस शताब्दीकै अत्यन्तै कडा परिश्रमको उपज हो, संविधान ।
सदनको अवस्था हेर्दा के समय आएको छ, हेर्नुस् । आज १२ बजे (भदौ ३१ गते) रातिदेखि सरकारी खर्च पनि नहुने अवस्थामा पुग्या छौँ । प्रतिस्थापन विधेयक पारित हुन सकेको छैन । अब असोज ४ गते मात्रै सदन बस्ने हो । एक सातादेखि सदनमा कुस्ती हेर्दैछौँ । सदन मल्ल युद्ध खेल्ने ठाउँ होइन नि । लोकतन्त्रको मन्दिर भन्यौँ हामीले । मन्दिरमा अनुशासित, मर्यादित र सौहार्द रूपमा
आ–आफ्नो कुरा सभ्य ढङ्गले राख्ने हो । त्यहाँ कानुन लाग्दैन । बोल्ने स्वतन्त्रता छ । कुस्ती खेल्नलाई स्वतन्त्रता छैन । यी सबै हेर्दा हृदयमा घोच्छ । धेरै कडा परिश्रमबाट संविधान आएको छ ।
अहिलेका राजनीतिक दलका नेतृत्वको अभ्यास हेर्नुस् । लोकतन्त्रको अभ्यास सदनमा मात्रै हुने होइन । वडाबाट सुरु हुन्छ । धेरै टाढा जान्न । सात जनाको सचिवालय खडा गरिन्छ । त्यहीँबाट शासन सञ्चालन हुन्छ । सब पार्टी मिल्छ र जे भन्छ, त्यै चल्छ । तर जबसम्म राजनीतिक दलमा समेत लोकतान्त्रिक विधि र प्रक्रिया अपनाएर तलबाट आउन्न, लोकतान्त्रिक अभ्यास बलियो हुन्न ।
काँग्रेसको महासमितिबाट एउटा पास हुन्छ । केन्द्रीय समितिले त्यसलाई काट्छ । सदनले बनाएको कानुनलाई मन्त्रिपरिषद्ले काट्न सक्छ ? काँग्रेसको महासमितिमा बहुमत जिल्ला सभापतिसहित सभापति र वरिष्ठ नेताले हात उठाएर भनेको कुरा केन्द्रीय समितिले काटेको छ । यो विधि त होइन नि ? काँग्रेसको विधानअनुसार भए किन क्रियाशील सदस्यताको यत्रो रडाको मच्चिन्थ्यो ? पूर्व पदाधिकारी, केही अनुहार बसेर फरमान जारी गरेपछि निर्णय हुन्छ । माथिबाट थोपर्ने कुरा हुन्छ । यसरी लोकतन्त्र कसरी बलियो हुन्छ ? राजनीतिक दलको आन्तरिक अभ्यासबाट लोकतन्त्र बलियो हुने हो । ‘लेफ्ट’ र ‘¥याडिकल’ पार्टीलाई लोकतन्त्रको विधि बुझ्नै समस्या छ । यतिका वर्षपछि हामी बल्ल लोकतन्त्रका सारा कुरा बुझ्दैछौँ । कसैले व्यवहारबाट बुझ्छ, कसैले लेखेर बुझ्छ त कसैले अन्यत्रको अभ्यासबाट सिक्छ ।

नेता जनताका सेवक हुन् र उनीहरूको व्यवहारमा जनसेवाको भाव देख्नुहुन्छ ?
तपाईं सोध्नुहुन्छ, जनता खुसी छन् कि छैनन् । संविधान जारी गर्ने म आफैँ खुसी छैन । देशको अवस्था हेरेर खुसी छैन । जनताले खोप पाएका छैनन्, तपाईं चुनावमा जान हाँक दिनुुहुन्छ । अर्थतन्त्र चौपट छ । पचासौँ लाख नेपाली बाहिर छन् । कोभिडको बेला सडकमा च्यारिटी संस्थाले खाना खुवाउनुपरेको छ । राज्यले केही गर्न सकेको छैन । एकातर्फ खुसी र अर्कोतर्फ दुःखी पनि छु । खुसी यो मामिलामा कि संविधान ट्रयाकमा छ ।
जिन्दगीभर लोकतन्त्रका लागि लडेका मान्छे, मैलै सधैँ आदर गर्ने व्यक्तित्व अहिले प्रतिगमनलाई साथ दिनुभएको छ । किन नाम लिने ? प्रतिगमनको साक्षी बसिरहेछ । किन यसो भइरहेको छ ? यस्ता कुरा हेर्दा कति धेरै र किन विचलन भएको होलाजस्तो लाग्छ । देशको सार्वभौमसत्ता, राष्ट्रियता, अखण्डतालाई अक्षुण्ण राख्दै यिनै राजनीतिक दलले लोकतन्त्रलाई सुदृढ र संस्थागत बनाउँदै लग्ने हो । यिनै संस्थामा लाग्ने कार्यकर्ता भोलि नेता बनेर देश हाँक्ने हो ।
दुइटा विशाल देशको बीचमा आफ्नो बुद्धिमता र कौशल कूटनीतिले समृद्धि ल्याउनु पर्छ । बाहिरी दुनियाँसँगको सम्पर्क सौहार्द हुनुपर्छ । समन्वयात्यमक किसिमले अगाडि बढ्नु पर्छ । जनताको समृद्धि र उन्नतिका लागि लोकतन्त्ररूपी रूखबाट फल उपभोग गर्दै जाने हो । बीपीले भन्नुभएको थियो, “राष्ट्रै रहँदैन अनि हामी लोकतन्त्र रूपी रुख कहाँ रोप्ने हो ?”

त्यसैले राष्ट्रियता बचाऔँ । मेलमिलापको नीति लिएर फर्केपछि उहाँले देश बचाएपछि मात्रै लोकतन्त्र हुर्किने बताउनुभएको थियो । त्यो रुख नढलोस् भनेर हामी सबै प्रयत्नशील रहनुपर्छ । जसरी अमेरिकामा त्यो रुखको जरो २४० वर्षसम्म भित्र गएको छ । त्यस्तै हाम्रो अभ्यास पनि सात आठ दशक भइसक्यो । लडीबुडी अगाडि बढ्दैछौँ । अभ्यासकै क्रममा एउटा संविधान सभाबाट भएन । दुईवटा संविधान सभाबाट हामीले संविधान बनायौँ । लगातार दुईटा संविधान सभा भएको संसारमा कतै भएको छैन ।
राजनीतिक दलले एक जना प्रधानमन्त्री दिन नसक्दा मलाई कतिको अप्ठ्यारो भएको होला, सम्झिनुस् । त्यसबेला संविधानलाई संशोधन गरेर, राजनीतिक दललाई समन्वय गराउँदै र प्रधानन्यायाधीशबाट कसरी चुनाव गराइयो ? त्यत्तिबेला असफल भइन्थ्यो नि ? न्यायपालिकाको प्रमुखलाई प्रधानमन्त्रीको शपथ गराउँदा मलाई कस्तो अनुभूति भएको होला ? म के गर्न गइरहेको छु ? तर बाध्यता थियो ।
अदालतले मिति निर्धारण गरेको थियो । राजनीतिक दलले संविधान बनाउन सकेन । अदालतले कि संविधान बनाउ वा त्यहाँबाट वैकल्पिक कुनै निकास देऊ आदेश दिएको थियो तर केही नगरी संविधान सभा भङ्ग गरियो ।
गणतन्त्र नेपालको प्रथम राष्ट्रपति थिएँ तर संविधान नै नबनाई संविधान सभा भङ्ग गरियो । संविधान सभाबाट संविधान बनाउने जनआन्दोलनको म्यान्डेट थियो । तर अब संविधान सभा नै छैन । राजनीतिक दल, कोही संसदीय चुनावमा जाऔँ भनेका छन् । कोही पुनस्र्थापना होस् भनेका छन् । कोही संविधान सभाको चुनाव होस् भनेका छन् ।
त्यस्तो बेला नेपाली जनताको आशीर्वादले सबैसँग समन्वय गरेर अर्को संविधान सभा खडा गर्न भएको चुनावमा ८० प्रतिशत जनताले भाग लिए । अनि मात्रै राष्ट्रपतिको संस्था बाँच्यो, न्यायालय बाँच्यो । प्रधानमन्त्रीको संस्था अगाडि बढ्यो । संविधान सभा गठन भयो । त्यसबाट संविधान जारी भयो । आज हामी संविधानको चर्चा गर्न पाएका छौँ ।

उन्नति र प्रगति कहिले होला ?
छ वर्षमा भन्नुहुन्छ, के पायौँ ? अहिले बेला भएको छैन । पहिला संविधान बचाऔँ भनेर अगाडि बढ्नुपर्छ । आजको दिनमा संविधानमाथि आक्रमण गर्नेको बुद्धि पलाओस् भन्न चाहन्छु । अहिलेको राष्ट्रपतिलाई, अहिलेको प्रधानमन्त्रीलाई, अहिलेको सभा र सभामुखलाई, जनप्रतिनिधि, चेतनशील नागरिकलाई संविधानलाई जोगाउन भन्न चाहन्छाँै र लोकतान्त्रिक विधिअनुसार यसको उपयोग गर्दै जानुपर्छ । संविधानमा नेपाली जनताको सबै हक अधिकार लेख्या छन् । संविधानले लोककल्याणकारी राज्य, समाजवाद उन्मुख राष्ट्रको अवधारणा लिएको छ । बिस्तारै उन्नति र प्रगति हुनेछ ।
दोस्रो विश्वयुद्धपछि जापानको संविधान अमेरिकाले बनाइदियो । विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो–जापान । त्यहाँ लोकतन्त्रको स्थायी संस्थाहरू छन् । हामीकहाँ भएको संवैधानिक आयोगलाई पौष्टिक आहार दिनु प-यो । तर हाम्रो चिकित्सकीय भाषामा भन्दा यहाँ सबै आयोगलाई कुपोषित गरिएको छ । सबैमाथि आक्रमण गरेर र भए नभएको मान्छे भर्ना गरेर, सबै अध्यादेशबाट ल्याएर, संवैधानिक परिषद् संशोधन गरेर सबैलाई कुपोषित गरिएको छ । लोकतन्त्रले त्यो ‘डिमान्ड’ गर्दैन । लोकतन्त्रमा कार्यपालिकाले स्याहारसुसार गरोस्, राष्ट्रपतिले पोषण गरोस्, पौष्टिक आहार देओस् भन्ने खोजेको हुन्छ ।

विकास र समृद्धिको बाधक राजा भनिन्थ्यो तर अहिले पनि अवस्था ठीकै छ त ?
शक्तिको स्रोत कहाँबाट आउँछ, संविधानबाट आउँछ । प्रधानमन्त्री, राष्ट्रपतिले संविधानअनुसार बढ्ने हो । संविधानमा कहीँ केही त्रुटि छ भने अदालतले व्याख्या गर्छ । सबैले खेलको नियमअनुसार र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अगाडि बढ्ने हो । खेलको नियमानुसार राजा महेन्द्र चलेन । राजा ज्ञानेन्द्र चलेनन् र फालियो । खेलिरहनेलाई ज्ञान हुनुप-यो, यो स्थायी होइन । म आज निवृत्त भएर तपार्इंहरूलाई भनिराखेको जस्तो अधिकार र तागत् उनीहरूलाई पनि होस् भन्ने शुभकामना दिन चाहन्छु । आफ्नो पुच्छर लुकाएर गल्लीमा जान नपरोस् । मैले आज गोरखापत्र र टिभीमा भनेअनुसार नै उनीहरूले पनि भोलि भन्न सकून् ।

संविधानको संरक्षणका लागि युवा पुस्तालाई के भन्न चाहनुहुन्छ ?
हामी लोकतन्त्रको पद्धतिमा छौँ । आठ दशकमा हामीले सातौँ संविधानको अभ्यास गरिरहेका छौँ । यो जनवादी संविधान होइन । यसलाई कुशलतापूर्वक पछ्याइरह्यो भने राष्ट्रको भलो हुन्छ । युवाले छटपटाउनु भएन, बुझ्नुप-यो । खबरदारी गर्नुप-यो । युवाले कहाँ गलत भइरहेको छ, पढ्नुप-यो । लोकतन्त्र के हो, बुझ्नुप-यो । हजारौँ नेपालीको खुनपसिना र बलिदानी भएको छ, सम्झिनुप-यो । आश्चर्य मान्छु । न राजनीतिको ज्ञान छ । न भूगोल थाहा छ न इतिहास नै जानेका छन् । स्नातक गरेका युवा आउँछन् । नेपालको राजनीतिक इतिहासबारे एक पृष्ठ लेख्नभन्दा सक्दैनन् । युवाको हालत यस्तो छ । रोबोट बनाउन ब्यस्त छन् । विद्यालय, कलेजमा यी विषयवस्तु पढाइ हुन्न ।

संविधान संशोधनको आवश्यकता देख्नुभएको छ वा छैन ?
म आफैँ पनि ‘परफेक्ट’ छैन । न म बीपी कोइराला हो, न सुवर्णशमशेर न गणेशमान नै हो । न मनमोहनजी नै हो, न कृष्णप्रसाद भट्टराई न गिरिजाप्रसाद कोइराला नै हो । म एक जना साधारण मान्छे त्यहाँसम्म पुगेको हो । संविधान जारी गर्दा मधेसमा गोली चलेको थियो । मनमा पीडा थियो । सबै चुनावमा भाग लिए । सरकारमा गए । लोकतन्त्रको गाडी अगाडि बढेको थियो । हामीले अमेरिकाको संविधानको दृष्टान्त दियौँ, त्यसमा ३०औँ पटक संशोधन भएको छ । भारतको संविधानमा १२५औँ पटक संशोधन भएको छ । हाम्रो संविधानमा पनि मधेस, थरुहट, जनजातिको कुरालाई संशोधन गर्दै अगाडि बढ्नुपर्छ । लोकतन्त्रमा कुण्ठाले राष्ट्र बन्दैन । छाती ठूलो राख्नुपर्छ । सबलाई समेट्दै, सबैलाई बुझ्दै, सारा कुरा गरेर, सदनमा मन्थन गरेर अगाडि बढ्ने हो । मन्थन गर्ने ठाउँमा अमृत निकाल्ने हो कि विष वमन गर्ने हो ? त्यो तपाईंको कुरा हो ।


संविधान दिवसको अवसरमा देशबासीलाई के सन्देश दिनुहुन्छ ?
सन्देश त के दिने, मैले कामना गर्ने हो । हामी सबैले संविधानलाई बचाएर लग्नुप-यो । फूललाई समाते जसरी नै संविधानलाई सुरक्षित साथ लिएर जानुप-यो । लोकतन्त्रको विधि पछ्याएर कसरी अगाडि बढ्नुपर्छ । जसले नेपाली जनताको सुख र समृद्धि तथा उन्नति होस् र लोकतान्त्रिक अधिकार सबैले पाओस् भन्ने प्रकारले जानुपर्छ । सबै जना सचेत भएर बढ्नुपर्छ । हामी खुसी छौँ, संविधान बाँच्यो । बाँच्यो भनेर मात्रै हुन्न । अब सजग पनि हुनुप-यो । जनताले आफ्नो काम गरिरहेकै छन् तर राजनीतिक दलले भने संयमता अपनाउनुप¥यो । लोकतन्त्रको विधि पछ्याउनुप-यो । विधिअनुसार नभएकोलाई पुनरवलोकन गर्नुप¥यो । आफूमा सुधार गरेर जाओस् भने कामना गर्न चाहन्छु । संविधानलाई लागू गर्दै जाऊन, यो मेरो सन्देश होइन आग्रह हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?