logo
२०८० चैत्र १६ शुक्रवार



संशोधन र परिमार्जन नभएसम्म एमसीसी पास हुन सक्दैन : प्रचण्ड

प्रदेश |


संशोधन र परिमार्जन नभएसम्म एमसीसी पास हुन सक्दैन : प्रचण्ड


धर्बेन्द्र झा
जनकपुरधाम, अशोज २ गते । नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले संशोधन र परिमार्जन नभएसम्म एमसीसी पास हुन नसक्ने बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र) प्रदेश नं.२ ले शनिबार जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेपश्चात संचारकर्मी सँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले एमसीसी सम्बन्धी भएको अहिलेको सम्झौता जस्ताको त्यस्तै पास गर्न नसकिने धारणा राख्नु भयो । उहाँले भनुभयाे विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भएको एमसीसी सम्बन्धी सम्झौतामा संसदबाट अनुमोदन गर्नु पर्ने विषय थिएन ।
पछि केपी ओली नेतृत्वको सरकारका परराष्ट्र मन्त्रीले अमेरिका गएर संसदबाट अनुमदन गर्ने विषयवस्तु समावेश गरेका कारण समस्या खडा भएको छ । उहाँले एमसीसी पास गर्नका लागि भएका सम्झौतामा संशोधन र परिमार्जन गरी राष्ट्रिय सहमती कायम गर्नु पर्ने धारणा राख्नुभयो । त्यसका लागि विभिन्न राजनीतिक दल, वुद्धिजीवी, पत्रकारहरु बीचमा छलफल आवश्यक रहेको उहाँको भनाई रहेको छ ।
अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीचमा कुनै मतभिन्ता नरहेको भन्दै असोज ४ गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताउनुभयो । उहाँले गठबन्धन बन्न नदिनका लागि विगतमा पनि प्रतिगामी शक्तिहरु लागिपरेको र त्यही शक्तिले अहिले निराधाररुपमा झुठो हल्ला फिजाइ रहेको बताउनुभयो । उहाँले लोकतन्त्र र संविधान रक्षका लागि बनेको गठबन्धनले आउँदा दिनमा पनि देश र जनताका लागि एकढिका भएर कामकाज गर्ने बताउनुभयो ।
उहाँले संविधान संशोधनको प्रस्ताव विगतमा केपी शर्मा ओलीको कारण अगाडि बढन नसकेको भन्दै संविधान संशोधनको मुद्दालाई फेरि पनि अगाडि बढाउन आफनो पार्टी तयार भएको बताउनुभयो ।
जनकपुरधामलाई महानगरपालिका बनाउनमा आफनो सदैव सहयोग रहने उहाँले संचारकर्मीहरु लाई जानकारी गराउनुभयो । नेकपा (माओवादी केन्द्र) प्रदेश नं.२ का इन्र्चाज गणेश साहको अध्यक्षतामा भएको सो कार्यक्रममा सो पार्टीका प्रदेश नं.२ का सह इन्र्चाज विश्वनाथ साह , नेकपा माओवादीका नेता एवम पूर्व मन्त्री मातृका यादव ,गिरिराज मणी पोखरेल, प्रदेश नं.२ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह सहितका नेताहरुको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?