logo
२०८१ बैशाख ६ बिहीवार



खोप लगाउनेको सङ्ख्या करोड नाघ्यो

मुख्य समाचार |


खोप लगाउनेको सङ्ख्या करोड नाघ्यो


सरोज ढुङ्गेल

काठमाडौँ, भदौ १७ गते । देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ । प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५.४ प्रतिशत छन् ।
गत वर्ष माघ १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक ढङ्गले अघि बढेको देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि खोप लगाउने कार्यले झनै तीव्रता पाएको छ । कोरोना भाइरस र कोरोनाविरुद्धको खोप दुवै नयाँ भएकाले सुरु–सुरुमा स्वास्थ्यकर्मीहरूले समेत खोप लगाउन आनाकानी गरेका थिए । स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिलेसमेत खोपबाट प्यारालाइसिस हुने, विभिन्न किसिमका रोग लाग्ने भन्दै खोप लगाउन मानेका थिएनन् ।
नेपालमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न मात्र ल्याइएको हो भन्दै कतिपयले खोपलाई बहिष्कार गरेका थिए तर विस्तारै खोपले मात्र कोरोनालाई परास्त गर्नसकिने प्रमाणहरू आएपछि मानिसले खोप लगाउन सुरु गरेका हुन् । अहिले खोप केन्द्रहरूमा खोप लगाउने मानिसको लामो लाम लाग्ने गरेको छ ।
तत्कालीन खोप शाखा प्रमुख डा. झलक गौतमले सुरुसुरुमा नर्स, डाक्टरहरूले समेत खोपप्रति आशङ्का व्यक्त गरेर खोप नलगाएको जानकारी दिनुभयो । विस्तारै सरकारले खोपबारे गलत भ्रमलाई चिर्दै खोपले मात्र कोरोनाविरुद्ध काम गर्नसक्छ भन्ने भावना ल्याएको जानकारी उहाँले दिनुभयो ।
कोरोनाको दोस्रो लहरपछि मानिसले कोरोनासँग लड्न खोप मात्र विकल्प भएको बुझेको उल्लेख गर्दै उहाँले अहिले मानिस पूर्ण रूपमा कोरोनाविरुद्धको खोपप्रति विश्वस्त रहेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना खोपबारे आएका भ्रमलाई हटाउन अन्तत्र्रिmया, जनचेतनालगायतका कार्यक्रम गर्नुपरेको बताउनुभयो । उहाँले पछिल्लो समयसम्म आइपुग्दा कोरोनाविरुद्धका सबै भ्रम हटिसकेको बताउनुभयो । सरकारले असोज मसान्तसम्म एक तिहाइ जनतालाई खोप पु¥याउने लक्ष्य लिएको भन्दै गौतमले त्यसअनुसार काम पनि भइरहेको बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?