logo
२०८१ बैशाख ७ शुक्रवार



सचेतता अपनाउन विज्ञको सुझाव

मुख्य समाचार |


सचेतता अपनाउन विज्ञको सुझाव


सरोज ढुङ्गेल

काठमाडौँ, साउन २७ गते  । नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । तीन हजारदेखि तीन हजार पाँच सयको हाहाहारीमा रहेको कोरोना सङ्क्रमितको सङ्ख्या मङ्गलबार अप्रत्यासित रूपमा बढेर झन्डै पाँच हजार पुगेपछि सरुवा रोग विशेषज्ञहरूले कोरोनाको ‘तेस्रो लहर’ आएको र यसले ठूलो क्षति गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
वरिष्ठ भाइरोलोजिस्ट तथा सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले नेपालमा बढ्दै गएको कोरोना सङ्क्रमणलाई तेस्रो छालका रूपमा विश्लेषण गर्दै अबका दिनमा अवस्था भयावह हुनसक्ने चेतावनी दिनुभयो । सरकारको कामकारबाहीले पनि कोरोना बढाएको आरोप लगाउँदै उहाँले राजनीतिक दलहरूद्वारा सभा, सम्मेलन, जुलुस, धर्नाजस्ता क्रियाकलाप हुनु दुःखद भएको बताउनुभयो । तीन जिल्लामा राति ८ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाउनुको कुनै अर्थ नभएको दाबी गर्दै उहाँले त्यसबाट कोरोना घटाउन सक्ने कुनै आधार नभएको बताउनुभयो ।
एउटा बसमा मानिसहरू कोचिएर चढेका हुन्छन्, टेम्पोमा दूरी कायम हुनै सक्दैन, माइक्रोमा ठेलमठेल हुन्छ भन्दै उहाँले त्यसबाट कोरोना नियन्त्रणभन्दा पनि कोरोना फैलाउन मद्दत गर्ने बताउनुभयो । मानिसको भीडभाड हुने दिउँसोको समय हो भन्दै राति मानिसहरू सबै घरमै बस्ने हुनाले राति कुन अर्थमा सवारीमा रोक लगाइएको हो, आफूलाई समेत थाहा नभएको उहाँले बताउनुभयो ।
नेपालमा गतवर्ष माघसम्म कोरोनाको पहिलो लहर आएको थियो भने गत वैशाख महिनादेखि कोरोनाको दोस्रो लहर विकसित भएको हो । उक्त समयमा नेपालमा धेरै मानिसको मृत्यु भएको थियो । डा. पाण्डेले नेपालमा तेस्रो लहर आइसकेको भन्दै सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई प्राथमिकता नदिने हो भने कोरोनाको ठूलो सङ्कट निम्तिन सक्ने दाबी गर्नुभयो ।
कोरोना श्वासप्रश्वासबाट सर्ने भएकाले कोरोना सर्नै नदिन ध्यान दिनुपर्ने उहाँको सुझाव छ । निरन्तर हात धुने, भीडभाड कम गर्ने, नियमित राम्रोसँग मास्कको प्रयोग गर्ने गरेमा कोरोनाबाट बच्न सकिने उहाँको भनाइ छ । अब कोरोना कहिल्यै पनि निमिट्यान्न पार्न नसकिने भएकाले यसबाट बच्ने उपायतर्फ लाग्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
यस्तै सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यो कोरोनाको तेस्रो लहरको सुरुवाती भएको भन्दै सबै नागरिकलाई खोप नलगाइएकाले नेपालमा सहज स्थिति हुन नसक्ने बताउनुभयो । अमेरिका, बेलायत, जर्मनीलगायतका विकसित देशमा कोरोना भयानक रहेको तर खोप लगाइसकेपछि सङ्क्रमणदर र मृत्युदरमा समेत कमी भएको उहाँको भनाइ छ । डा. पुनले अमेरिका, जापानलगायतका विकसित देशमा मास्कबिना पनि मानिसहरू हिँड्डुल गर्न थालेकाले जनजीवन सामान्य अवस्थामा आइसकेको बताउनुभयो । नेपालमा भने दैनिक ३०/४० जनाको सङ्ख्यामा मानिसको मृत्यु अझै भएकाले सजगता अपनाउनुपर्ने उहाँको सुझाव छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या भरिभराउ हुन थालेको जानकारी गराउनुभयो । उहाँले अस्पतालका भेन्टिलेटर, आईसीयू तथा सामान्य शैया भरिन थालेकाले अवस्था जटिल हुनसक्ने भन्दै सचेत रहन सुझाव दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?