logo
२०८० चैत्र १५ बिहीवार



कुखुरा व्यवसायी धुलो दूध किन्न तयार

अर्थ |


कुखुरा व्यवसायी धुलो दूध किन्न तयार


सुरेशकुमार यादव

काठमाडौँ, जेठ ५ गते । कुखुरा व्यवसायीहरू नेपालमा उत्पादित धुलो दूध (एसएमपी) प्रयोग गर्न तयार भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालकै एसएमपी प्रयोग गर्न आग्रह गरेअनुसार कुखुरा व्यवसायीहरू उक्त निर्णयमा पुगेका हुन् ।
भारतबाट कमसल धुलो दूध ल्याइरहेका कुखुरा व्यवसायीहरूलाई नेपालमै उत्पादन भएर थन्किएको धुलो दूध खरिद गरी प्रयोग गर्न मनाउने अभिप्रायले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले जेठ १ गते कुखुरा व्यवसायी तथा डेरी उद्योगीहरूसँग छलफल गरेको थियो ।
कोभिड–१९ कारण धुलो दूध भण्डारमा थन्किएको र त्यो बिक्री नभएका कारण किसानलाई बक्यौता रकम तिर्नसमेत नसकेको भन्दै कुखुरा व्यवसायीलाई धुलो दूध खरिदका लागि आग्रह गरिएको थियो । सो आग्रहबमोजिम नेपाल पोल्ट्री महासङ्घले एक विज्ञप्ति जारी गरी नेपालकै उत्पादित धुलो दूध प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।
धुलो दूध विदेशबाट आयात भई नेपालको पोल्ट्री क्षेत्रमा भ्याक्सिनमा प्रयोग हुँदै आएको छ । सो दूधमा हुनुपर्ने प्राकृतिक तŒवहरू नहुने, अखाद्य वस्तुका मिसावट हुनसक्ने, आवश्यक क्वारेन्टाइन प्रक्रिया पूरा नगरी पैठारी हुने, सम्बन्धित निकायहरूमा दर्ता नहुने, किसान तथा पशुपन्छी औषधि पसलले त्यस्ता दूधका खरिदमा आधिकारिक बिल नपाउने भएकाले सो दूधमाथि आशङ्का रहेको महासङ्घले जनाएको छ ।
स्वदेशमा नै गुणस्तरीय मापदण्डका साथ प्रचुर मात्रामा उत्पादन हुँदै आएको नेपाली धुलो दूधको प्रयोग पोल्ट्री क्षेत्रमा भ्याक्सिनका साथै कुखुरा तथा अन्य पशुपन्छीका दाना उत्पादनमा, कुखुरा तथा अन्य पशुपन्छीको विभिन्न रोगमा उपचार परिपूरकको साथै माउ जातका र अण्डा पार्ने कुखुरालगायतमा समेत नियमित प्रयोग गर्न सकिने भएकाले नेपालको धुलो दूध नै प्रयोग गर्न महासङ्घले आग्रह गरेको छ ।

 कसरी बन्छ भ्याक्सिन ?
कुखुरालाई चार पटक खोप दिइन्छ । रानीखेतको दुईपटक र गम्बा र आईबी रोगविरुद्धको खोप एक–एक पटक दिइन्छ । कान्तिपुर भेट डिस्ट्रिब्युटरका बजार प्रमुख ऋषि बडालका अनुसार पहिला त्यो खोप सुई (इन्जेक्सन)मार्फत दिइन्थ्यो तर त्यो प्रभावकारी नदेखिएपछि दूधमार्फत दिन थालिएको छ । उहाँले भन्नुभयो, “कुखुरालाई दिइने खोपलाई हामीले धुलो दूधमा मिसाएर खुवाउँछौँ । ”
एक लिटर पानी र एक किलो धुलो दूधलाई मिसाएर झोल बनाइन्छ । त्यसपछि त्यो झोलमा खोपका लागि तयार पारेको झोल त्यसमा मिसाइन्छ । कति कुखुरालाई खुवाउने हो त्यसको मात्राअनुसार त्यो झोललाई पानीमा मिसाएर कुखुरालाई खुवाइन्छ ।
उहाँका अनुसार एक हजार कुखुराका लागि १६ लिटर पानी चाहिन्छ ।
धुलो दूध मिसाइएको खोप खुवाउन कुखुरालाई कम्तीमा तीन घण्टाअघि देखि पानी दिन बन्द गर्नुपर्छ । तीन–चार घण्टापछि कुखुरालाई धुलो दूध मिसिएको झोल दिएपछि तिर्खाएका कुखुराले पानी सम्झेर खान्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?