logo
२०८० चैत्र १६ शुक्रवार



लायन्सद्वारा तीन अस्पताललाई १८ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य |
खुला |


लायन्सद्वारा तीन अस्पताललाई १८ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण
फाइल तस्बिर


चितवन, जेठ  ४  गते । लायन्स क्लबले भरतपुर अस्पताल, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई र बिप्याप मेसिन पाँच थान सहयोग गरेको हो ।    
    
लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटु एरिया नं. ३ का क्लब तथा लायन्सहरुबाट कोभिड क्याम्पेन गरी सङ्कलन भएको रकमबाट ती सामग्री खरिद गरी आज भरतपुर अस्पताललाई हस्तान्तरण गरियो । ती सामग्री लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बिटुका इलेक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।    
    
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले लायन्सको सहयोगको प्रशंसा गर्नुभयो । गभर्नर भट्टले कोभिडको पहिलो लहरसँगै लायन्सहरु सहयोगमा जुटेको उल्लेख गर्दै गतवर्ष विभिन्न ठाउँमा रु.१ करोड बराबरको सहयोग गरेको जानकारी दिनुभयो । उहाँले दोस्रो लहरसँगै लायन्सहरु आर्थिक सङ्कलनमा जुटेको बताउँदै यस क्षेत्रका अस्पतालहरुमा अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले कोभिड महामारीमा उपलब्ध सामग्री सन्जीवनी बुटी सावित हुने बताउनुभयो ।    
    
 बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मालाई इलेक्ट गभर्नर भट्टले दुई थान बिप्याप मेसिन हस्तान्तरण गरियो । यस्तै कावासोतीको मध्यविन्दु अस्पताललाई पनि एक थान सो मेसिन हस्तान्तरण गरियो । कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि क्लबले शव वहान उपलब्ध गराएको छ । गभर्नर भट्टले एक महिनाका लागि शव बोक्ने गाडीको साँचो कालिबहादुर गण भरतपुरलाई हस्तान्तरण गर्नुभयो ।     
    
चितवन समाज अष्ट्रेलियाद्वारा भरतपुर अस्पताललाई ११ लाखका सिलिण्डर    
    
चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई रु.१० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाले तीन चरणमा गरेर ६० वटा अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको हो ।    
    
संस्थाका अध्यक्ष पूर्णनाथ घिमिरेका अनुसार ५० वटा अक्सिजनसहितको सिलिण्डर खरिद गरेर र १० वटा धरौटीमा अस्पताललाई उपलब्ध गराइएको हो । धरौटीमा रहेका १० वटा पनि खरिद गरी अस्पतालकै स्वामित्वमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।    
    
संस्थाले आज थप २० वटा सिलिण्डर हस्तान्तरण गरेसँगै अस्पताललाई दिइएको सङ्ख्या ६० पुगेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीलाई ती सिलिण्डर हस्तान्तरण गरिएको हो । सो अवसरमा तिवारीले अस्पताललाई अत्यावश्यक पर्ने सिलिण्डर हस्तान्तरण गरेकोमा अष्ट्रेलियामा बसोबास गर्ने चितवनवासीलाई विशेष धन्यवाद दिनुभयो ।    
    
घिमिरेका अनुसार त्यहाँ रहेका चितवनवासीले आर्थिक सङ्कलन गरेर अक्सिजन खरिदका लागि सहयोग गरेका हुन् । समाजले संस्थाका संरक्षक केशवप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सीता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक सङ्कलन समिति बनाएर सहयोग जुटाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?