logo
२०८१ बैशाख ७ शुक्रवार



निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता पूरा गर्दैछौँ

अन्तरवार्ता |


निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता पूरा गर्दैछौँ


काठमाडौँका एघारवटा स्थानीय तहमध्येको एक नागार्जुन नगरपालिका आधुनिक सहरीकरणतर्फ उन्मुख हुँदै गएको छ । स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले गरेको विकास निर्माण, सुशासन र सेवा प्रवाहका बारेमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतसँग गोरखापत्रका पत्रकार नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानी :

 तपाईं नगर प्रमुखका रूपमा निर्वाचित भएर आएको चार वर्ष पुग्नै लाग्दा नागार्जुन नगरपालिकामा देखिने गरी के–के काम भएका छन् ?

हामी निर्वाचित भएर आउनुअगाडि नगरपालिका चलाउनका लागि आवश्यक कानुन, व्यवस्थित कार्यालयको अभाव, दक्ष पर्याप्त जनशक्तिको अभाव थियो । यस समयमा हामीले नगरपालिका सञ्चालनका लागि आवश्यक कानुन निर्माणलाई प्राथमिकता दिएर काम ग¥यौँ । स्थानीयको मागअनुसार भौतिक विकासको कामलाई उच्च प्राथमिकता दिँदै खानेपानी, ढल निर्माण, सडक कालोपत्रे, सडकको र घरको नक्साको मापदण्ड निर्धारण गरी कार्यान्वयन गरेका छौँ । भूकम्पले निजी आवास र विद्यालयको भौतिक संरचनामा क्षति पु¥याएपछि नगरपालिकाले विद्यालय र निजी आवास पुनर्निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता राखी आवश्यक काम गरेको छ । शिक्षकको दरबन्दी मिलान, शैक्षिक सामग्रीको व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्न वातावरण तयार गरेको, कतिपय सामुदायिक विद्यालयलमा प्राविधिक शिक्षा पठनपाठन व्यवस्था गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यमा हामीले काम गरिरहेका छौँ ।

 यो नगरपालिका खेलकुदमैत्री नगरपालिकाको रूपमा स्थापित भएको छ, यसलाई यहाँले कसरी कार्यान्वयन गरिरहनुभएको छ ?

खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक तन्दुरुस्त पार्ने र निरोगी बनाउने भएकाले नगरपालिकाले खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण कार्यलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको हो । अहिले नगरपालिकाको सबै वडामा खेलकुदका पूर्वाधार निर्माण कार्य भइरहेको छ । स्थानीयको मागअनुसार खेलमैदान, इन्डोर हल निर्माण गरिएको, खेलकुदलाई व्यवस्थापन गरी नगरपालिकामा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न खेलकुदमा अन्तर प्रतिस्पर्धा सञ्चालन गर्दै आएको छ । एक वडा एक खेलकुद मैदान निर्माण गर्ने काम भइरहेको, वार्षिक रूपमा खेलकुदको क्यालेन्डर निर्माण गरी खेलकुद जगत्लाई माथि उठाउने काम भएको । आगामी दिनमा नगरपालिका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खेलकुदको भौतिक पूर्वाधार निर्माण गर्ने काम नगरपालिकाले अगाडि बढाउन लागेको छ ।

 कोरोना रोकथाम र नियन्त्रण कार्यमा सफलता प्राप्त गरेको नगरपालिकामा के–के स्वास्थ्य पूर्वाधार निर्माण भएका छन् ?

नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यलाई नागरिक सचेतना गराउँदै अहिले पनि स्वास्थ्यका मापदण्ड पालना गर्न लगाइएको छ । कोरोनालगायतका अन्य विभिन्न प्राकृतिका रोग जुनसुकै बेला पनि आउनसक्ने भएकाले नगरपालिकाले स्वास्थ्य सतर्कतालाई अहिले पनि उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिहेको छ । नगरपालिकाका प्रत्येक वडामा सहरी स्वास्थ्य चौकीको व्यवस्थापन गरिएको छ । नगरपालिकमा न्यूनतम १५ शøयाको नगर अस्पताल निर्माणको काम भइरहेको, नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई निःशुल्क रूपमा ब्लड प्रेसर र सुगरको औषधि वितरण गर्दै आएको छ ।
गर्भवतीलाई आइरन चक्की र भिटामिन निःशुल्क वितरण गरेको छ । ल्याब, एक्सरे, प्याथोलोजी, लगायतका सेवा नगरपालिकाले विभिन्न सहरी स्वास्थ्य केन्द्रबाट प्रदान गर्ने व्यवस्था गरी नगरपालिकाको साधन, स्रोत र जनशक्तिले भ्याएसम्म नागरिकलाई स्वस्थ्य राख्ने काममा नगरपालिकाले काम गरिरहेको छ ।

 यस नगरपालिकामा घुम्न लायक पर्यटकीय स्थलहरू छन्, ती स्थलको विकासका लागि नगरपालिकाले के–के काम गरिरहेको छ ?

नगरपालिकामा इचङ्गुनारायण मन्दिर, हल्चोक आकास भैरव, रानीवन क्षेत्र, नागार्जुन जामाचो, ह्वाइट गुम्बा, बद्रीनारायण धाम, गणेशमान स्मृति पार्क, शहीद पार्क, भीमसेनस्थान, भीमढुङ्गा, स्विजरल्यान्ड पार्क, हसन्टार गुम्बा, भुवनेश्वरी, पञ्चकन्या मन्दिर, तारकेश्व, विभिन्न स्थानमा रहेका होमस्टे नगरपालिकाको धार्मिक र पर्यटकीय स्थल हुन् । यी सम्पदाले नगरपालिकालाई चिनाउने काम गरेकाले हामीले उक्त पर्यटकीय स्थलको भौतिक पूर्वाधार निर्माण गर्ने, जीर्णोद्धार गर्ने, सो क्षेत्रमा पार्क निर्माण गर्ने काम गरेको छौँ नगरपालिकाले आर्थिक रूपमा पछाडि परेका समुदायलाई निःशुल्क रूपमा बाख्रा वितरण सिजनअनुसार व्यवस्थित रूपमा बीउ वितरण गरिएको छ ।
यसले नगरवासीलाई आयआर्जनसँगै रोजगारी सिर्जना गराएको छ । नगरपालिकाको यस्ता कार्यक्रमले युवालाई विदेश जान रोकी स्वदेशमै आत्मनिर्भर बन्न हौसला मिलेको छ । नगरपालिका क्षेत्रमा भएका पर्यटकीय स्थललाई नेपालकै प्रमुख घुम्न लायक क्षेत्रभित्र पर्ने गरी हामी काम गरिरहेका छौँ । वडा नं. ८ मा विश्वकै सातौँ नम्बरमा पर्ने जिपलाइन निजी क्षेत्रसँग सहकार्य गरी निर्माण कार्यको प्रारम्भ भइरहेको छ, वडा नं. ६ र ७ मा नेपालकै दोस्रो ठूलो झोलुङ्गे पुल निर्माणका लागि डीपीआर गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आवश्यक समन्वय गर्ने काम भइरहेको छ ।

 नगरपालिकाले नागरिकको जीवनस्तर उठाउने र रोजगारी सिर्जना गर्न के काम गरिरहेको छ ?

नगरपालिकाले आर्थिक रूपमा पछाडि परेका समुदायलाई निःशुल्क रूपमा बाख्रा वितरण गर्ने कार्य गरी स्थानीय नागरिकको जीवन स्तर सुधार गर्ने काम गरेको छ । सिजनअनुसार तरकारीको बीउ वितरण गरी नागरिकको आर्जनसँगै रोजगारी सिर्जना गर्ने काममा नगरपालिका लागिरहेको छ । नगरपालिकाको यस्ता कार्यक्रमले युवालाई विदेश जान रोकी स्वदेशमै आत्मनिर्भर बन्न हौसला मिलेका छ । नगरपालिकाले प्रत्येक वडामा अग्नि नियन्त्रण मेसिन वितरण कार्यलाई अभियानको रूपमा सञ्चालन गरिएको, सबै घरमा दमकल पुग्न नसक्ने अवस्थामा आगलागी भइहालेमा उक्त मेसिनले आगलाग(ीबाट क्षति गर्न नियन्त्रण गरोस् भनेर सबै घरमा अग्नि नियन्त्रण मेसिन वितरण कार्यलाई प्राथमिकता दिएर कार्यान्वयन भइरहेको छ । नगर क्षेत्रमा हरियाली प्रवद्र्धन गर्नका लागि प्रत्येक घरमा फलफूलका बिरुवा रोप्नका लागि नगरवासीलाई सचेतना गराउँदै नगरवासीलाई फलफूलका बिरुवा वितरण गरिएको छ ।

 तपाईंले साविक स्थानीय निकाय र अहिले स्थानीय सरकार दुवैमा जनप्रतिनिधि भई नागरिकको सेवा गर्ने अवसर प्राप्त गर्नुएभको छ, स्थानीय निकाय र सरकारमा बसेर सेवा गर्दा कतिको फरक अनुभव गर्नुभएको छ ?

स्थानीय निकायमा सीमित साधन र स्रोत हुन्थ्यो, अधिकारका लागि सधैँ माथिल्लो निकायमा भर पर्नुपर्ने थियो तर अहिले स्थानीय सरकारमा संविधानले नै आफै कानुन बनाउने र कार्यान्वयन गर्ने अधिकार प्रदान गरिएको छ । अहिले स्थानीय सरकारका सङ्घीय सरकारमा जस्तै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका क्रियाशील छ । स्थानीय निकायमा त्यस्तो व्यवस्था थिएन ।
नगर प्रमुखलाई स्थानीय सरकारको प्रमुखको हैसियत प्रदान गरेको हामीले पनि नागरिकलाई स्थानीय सरकार भएको महशुस गराएर काम गरेका छौँ । अहिले स्थानीय सरकारका प्रतिनिधि सङ्घ र प्रदेशको जस्तो नभई स्थानीय तहमै देखिने, भेटिने र सुनिने प्रतिनिधिका रूपमा हामी स्थापित भएका छौँ । नागरिकका दुःख र पीर मर्कालाई सकेसम्म सम्बोधन गर्नसक्ने अवस्थामा पुगेका छौँ, यो संविधानको उपलब्धि हो ।

 स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न के–के काम गर्नुपर्ने रहेछ ?

हामी नागरिकको नजिकको प्रतिनिधि भइरहँदा हामी जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्छ, नागरिकको हरेक समस्यासँग जानकारी राख्दै स्थानीय नागरिकको अपेक्षा र मागअनुसार साधन र स्रोतले भ्याएसम्म विकासको काम गर्ने, नगरपालिकाको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीको मनोबल उच्च पारेर काम गर्दै कर्मचारीसँग भएको क्षमतालाई स्थानीय सरकारले सदुपयोग गर्ने स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकियो भने मात्र जनप्रतनिधि सफल हुन्छन् भन्ने अनुभव प्राप्त भयो । हामी सबै जनप्रतिनिधिले सोहीअनुसार काम गरिरहेका छौँ ।

 अब गर्नुपर्ने काम के–के हुन् ?

अहिले सीतापाइला, रामकोट भीम ढुङ्गासम्म ११ किलोमिटकको बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्युचाटारदेखि नर्सरी चोकसम्म बाटोको टेन्डरको प्रक्रिया काम अगाडि बढको छ, सीतापाइला महाँकालसम्मको बाटो निर्माण कार्य भइरहेको छ, सेल्सबेरीबाट सीताराम स्कुलसम्मको बाटो निर्माण सम्पन्न नजिक पुगेको छ । अबको बाँकी समयमा ढल नपुगेका स्थानमा ढल राख्ने, सडक पीच नभएका स्थानमा सडक पीच गर्ने, धारो नपुगेका स्थानमा खानेपानीको धारोको व्यवस्था गर्ने हाम्रो लक्ष्य छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?