logo
२०७८ बैशाख ५ आईतवार



मेलम्चीले काठमाडौँको दैनिकी नै परिवर्तन हुनेछ

अन्तरवार्ता |


मेलम्चीले काठमाडौँको दैनिकी नै परिवर्तन हुनेछ


माधव बेल्बासे
सचिव, खानेपानी मन्त्रालय
चार दशकपछि मेलम्ची खोलाको पानी गत हप्ता काठमाडौँ उपत्यकाका घरहरूमा आइपुग्यो । केही निश्चित क्षेत्रमा पानी वितरित भए पनि यसले दशकौँको उपत्यकावासीको आशाको तिर्खा मेटाएको छ । मेलम्चीबाट दैनिक थपिने १७ करोड लिटर पानी काठमाडौँका सबै स्थानमा पु¥याउने सरकारको योजना छ । राष्ट्रिय गौरवकै आयोजनामा दर्ज मेलम्ची खोलाको पानी वितरण र भविष्यका थप योजनाका सन्दर्भमा गोरखापत्रका लक्ष्मण दर्नालले खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेसँग गर्नुभएको कुराकानी :

लामो प्रतीक्षा र निरन्तरको प्रयासपछि मेलम्चीको पानी काठमाडौँ आइपुग्दा कस्तो अनुभव गर्नुभएको छ ?
आमनागरिकको जस्तै मेरो पनि भोगाइ छ । हामीले काठमाडौँमा खानेपानीको दुःख भाग्दै आयौँ । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी थप आउँदा अत्यन्त खुसी लागेको छ । यो कार्यमा सहभागी हुने जुन अवसर प्राप्त भयो त्यसका लागि नेपाल सरकार, सहकर्मी साथीहरू जसको सहयोगबाट यो सम्पन्न भएको छ, उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु ।
मैले विगतमा पनि केही ठूला आयोजनामा काम गरेँ । सिक्टा सिँचाइ आयोजना र भेरी बबई आयोजनामा काम गरेँ । मेलम्चीको सुरुङ नेपालमा सबैभन्दा लामो हो । खानेपानीका लागि दक्षिण एसियामै सबैभन्दा लामो सुरुङ हो । यो आयोजना अलि बढी चुनौतीपूर्ण भयो । म आयोजनाको अन्तिमअन्तिम चरणमा आएकाले अगाडिका चुनौती मैले सामना गर्नुपरेन । अन्तिम चरणमा आएका समस्यालाई समाधान गर्दै हामी यहाँसम्म आइपुग्दा एउटा नौलो अनुभव भएको छ । सिकाइ पनि भएको छ । यसमा संलग्न सबैका लागि पनि राम्रै सिकाइ भएको छ । सिकाइको प्रयोग गर्दै आगामी दिनमा ठूला आयोजना सम्पन्न गर्न अलिकति क्षमता विकास पनि भएको मैले महसुस गरेको छु ।

पानी त आयो तर मेलम्ची ढिलाइ हुनुका कारण के के थिए ?
व्यवस्थापन नै प्रमुख समस्या हो यसमा । निर्माण कम्पनीहरू अन्तर्राष्ट्रिय भए, कन्सल्टेन्टहरू पनि अन्तर्राष्ट्रिय नै भए । सक्षमताका हिसाबले समस्या होइन यद्यपि व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती हो । यो तहको निर्माण कार्यको व्यवस्थापन गर्न हामी एक किसिमले सफल भएको मान्नुपर्छ ।
दुईवटा सम्झौता तोड्नुपर्ने अवस्था सिर्जना भयो त्यो नै साह्रै दुर्भाग्य हो । साधारणतया ठूला आयोजनाहरूमा यस्ता घटना हुँदैनन् तर हाम्रो त दुई पटकसम्म सम्झौता तोडियो । तेस्रो पटकको सम्झौताले सम्पन्न गरियो । ढिलाइ हुनुको प्रमुख कारण नै त्यही हो । नेपालकै सबैभन्दा ठूलो टनेल निर्माणका लागि हाम्रै जनशक्तिमा पनि क्षमता विकास भइसकेको थिएन । काम गर्दै सिक्दै जानुपर्ने अवस्था छ । सरुवा बढुवाका कुरा आदि कारणले गर्दा पनि र सिकिसकेको कुरालाई फेरि नयाँ टिम जाने फेरि सिक्नुपर्नेजस्ता कुराले पनि ढिला हुन गएको अवस्था हो । मुख्य त सम्झौता तोड्नु नै ढिलाइको कारण हो ।

काठमाडौँ उपत्यकामा खानेपानीको दैनिक माग ३४ करोड लिटर छ तर आपूर्ति जम्मा आठ करोड लिटर । यसमा मेलम्चीको १७ करोड लिटर थप भएको छ । समस्याबाट त अझै मुक्त हुन सकिएन नि ?
अहिले १७ करोड ल्याए पनि तत्काल चार करोड लिटर थप गर्न सक्छौँ । मेलम्चीको वातावरणका लागि छोडिएको चार करोड लिटर तत्काललाई ल्याउन सक्ने अवस्था छ । त्यसले हामीलाई २१ करोड लिटर हुन्छ । सुक्खायामको कुरा गर्ने हो भनेदेखि उपत्यकामा आठ करोड लिटर उत्पादन गरिरहेका छौँ । त्यो सबै गर्दा करिब ३० करोड लिटर पानी हामीले प्राप्त गर्छौं । यसलाई राम्रोसँग व्यवस्थापन गर्ने हो भने याङ्ग्री र लार्के नआउन्जेल पानीको पर्याप्तता महसुस गर्न सक्छौँ । याङ्ग्री र लार्केका लागि पनि तयारी भइरहेको छ । भर्खरै अर्थ मन्त्रालयमा एडीबीसँँग छलफल गरेका थियौैँ । उहाँहरू पनि सकारात्मक हुनुहुन्छ । थप १७÷१७ करोड लिटर ल्याउने प्रयास अब अगाडि बढ्छ । त्यससँगै सुन्दरीजलमा प्रशोधन केन्द्र पनि बनाउनुपर्छ । अहिलेदेखि काम भइरहेको छ ।
यो सिकाइले हामीलाई याङ्ग्री र लार्केको पानी ल्याउन र समयमै आयोजना सम्पन्न गर्न मद्दत गर्छ । वास्तवमा आयोजना कार्यान्वयन हुन त २०औँ वर्ष लागेको होइन नि । व्यवस्थापन, काम कसरी गर्ने भन्ने कुरामा हामीले धेरै लामो छलफल ग¥यौँ तर निर्माणकार्य सुरु भएको त सन् २००९ को फेबु्अरीदेखि हो । ठ्याक्कै १२ वर्षमा आयोजना सम्पन्न भएको छ ।

पानी आइसकेपछि यसको व्यवस्थापन पक्षमा के भइरहेको छ ?
अबको काम एकदमै चुनौतीपूर्ण छ । पानी आएन भन्दा एउटा मात्र समस्या थियो । अब झन् सयौँ समस्या आइपर्छन् । यत्रो जनघनत्व भएको ठाउँमा पानी वितरण गर्नुपर्नेछ । हाम्रो नयाँ पाइप लाइनहरूको परीक्षण गरेर त्यसबाट वितरण गर्नुपर्नेछ । पानी आइसकेको र रिजर्भवायर भइसकेका कारण ‘इन्टरकनेक्सन’ गरेर पुरानो पाइपबाट वितरण गरेका छौँ । चुनौतीपूर्ण त छ । सिक्दै अनुभव गर्दै सुधार गर्दै लिएर जाने प्रयास गरिरहेका छौँ । बिहान ६ः०० बजेदेखि राति १०÷११ बजेसम्म साथीहरू खटिराख्नुभएको छ, रिजर्भवायर पाइप लाइनहरूमा उपस्थित भइरहनुभएको छ । लेबल नापिराख्नुभएको छ । यद्यपि जनताका आशा र आवश्यकता अनुसार पानी वितरण गर्न सकिरहेका छैनौँ । कतै धेरै पानी गइरहेको छ कतै थोरै गइराखेको छ । यी सबै समस्यालाई बिस्तारै हामी समाधान गर्दै जानेछौँ ।
वितरणमा असमान गर्ने हाम्रो नियत होइन । व्यवस्थापनकै क्रममा कतिपय लाइन ठूलो लाइनमा जोडिएका छन् । ती ठूलो लाइनबाट सानासाना लाइनको पुच्छारमा पर्नेहरूका लागि त्योभन्दा अगाडि मोटर चलाइदिएर पानी तानेका कारण केही उपभोक्ता मारमा परेको हामीले बुझेका छौँ ।

घरमा प्रयोग भएको पानीको करिब ८० प्रतिशत बाहिर आउँछ भनिन्छ । प्रयोग भइसकेको फोहार पानीको व्यवस्थापन गर्न कुनै योजना छ कि ?
फोहोर पानी व्यवस्थापनको काम पनि सँगसँगै भइरहेको अवस्था छ । काठमाडौँ उपत्यकामा भविष्यमा ५० करोड लिटर क्षमताको ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढेको छ । प्लानिङ गरेको अवस्था छ । अहिले तत्काल हामीले १२ करोड लिटरका लागि निर्माण भइराखेको छ । १२ करोड लिटर यहाँ उत्पादन हुने दिसाजन्य फोहोर पानी छ, त्यसलाई प्रशोधन गर्ने व्यवस्था गरिरहेका छौं । प्रशोधन गरिसकेपछि नदीमा नै पठाइन्छ । प्रशोधित पानी अन्य उपयोगका लागि कुनै समस्या छैन । ढल नदीमा जान बन्द गरियो र नदीमा प्रशोधित पानी पठायौँ भने नदीजन्य जीवका लागि पनि सहज हुनेछ । त्यो अवस्थामा हामीले बागमती नदीलाई पुनः जीवित गराउनसक्ने अवस्था छ ।

ढल व्यवस्थापनको काम अलि प्रभावकारी नभएको हो कि जस्तो देखिन्छ । सम्बन्धित निकायको पनि समन्वयकारी भूमिका देखिँदैन नि ?
ढल व्यवस्थापन पनि केयूकेएलले नै गर्ने हो । निर्माणकार्य पीआईडीले पनि गर्ने हो । अलिकति ढलको विषय किन जटिल छ भन्दा सबै निकायको बिजनेस त्यहाँ भएको छ । स्थानीय तह, काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती नदी आयोजना, बागमती सभ्यता विकास समिति र सहरी विकास मन्त्रालयअन्तर्गतले पनि ढलको काम गरिरहेको हुन्छ । यो चाहिँ साह्रै ‘कम्प्लिकेटेड’ भइरहेको छ । ढलको छुट्टै मास्टर प्लान छ । त्योभित्र रहेर सबैको संयोजनात्मक ढङ्गले काम गरे ढलको व्यवस्थापन राम्रो गर्नसक्ने अवस्था छ तर यसमा अलिकति कमी निश्चित छ । यसलाई हामीले संयोजन गरेर काम गर्नुपर्ने अवस्था छ ।

फोहर पानी तथा ढलबाट मल, विद्युत्, ग्यास उत्पादनका योजनाहरू थिए, त्यसमा कस्तो प्रगति भइरहेको छ ?
दिसाजन्य फोहोर, घरबाट निस्केको फोहोर जुन छ, त्यसलाई फोहोरकै रूपमा भन्दा पनि ‘रिसोर्स’का रूपमा लिने विश्वव्यापी मान्यता नै भइसक्यो । त्यसमा मेजर तीनवटा चीज छन् । एउटा, पानी हो, जुन शुद्ध गरेर पुनः प्रयोग गर्न सकिन्छ । पिउनै नसके पनि अन्य उपयोगका लागि त प्रयोग भइहाल्छ । दोस्रो, यसमा भएका जति पनि रसायन तत्व छन् त्यसलाई ‘फर्टिलाइजर’का रूपमा प्रयोग गर्न सकिन्छ । अहिले पनि हामीले मलका रूपमा प्रयोग गर्न सकिन्छ, मल उत्पादन हुन्छ । अर्को अहिले पनि हामीले गुह्ेश्वरीमा फोहोरबाट बिजुली निकालेका छौँ । २४० किलोवाट विद्युत् अहिले पनि उत्पादन गरिरहेका छाँै । तीन करोड लिटर प्रशोधन गरेर विद्युत् उत्पादन भएको छ । ऊर्जा, मल, पानी उत्पादन हुने भएकाले यो रिसोर्सका रूपमा आइसकेको छ । गुह्ेश्वरीमा जस्तो अन्य स्थानमा पनि हामीले बढावा दिन्छौँ ।

मेलम्चीको आर्थिक लगानीका बारेमा बताइदिनुस् न ?
अहिलेसम्म करिब ३० अर्बजति खर्च भएको छ, टनेल र हेडवक्र्सलगायतका काममा । यो मेलम्ची आयोजनाको हेडवक्र्सदेखि सुन्दरीजलको प्रशोधन केन्द्रसम्मको खर्च हो । पीआईडीको २० अर्ब रुपियाँ खर्च भएको छ । यसमा जाइकाको पनि लगानी छ । मुख्य गरी एडीबीको सहुलियत दरको ऋण हो ।

मेलम्ची आएर घरघरमा पानी पर्याप्त भइसकेपछि यहाँको वातावरण संरक्षण र प्रदूषण न्यूनीकरण गर्ने सन्दर्भमा कस्तो सफलता मिल्छ होला ?

पानी पर्याप्त हुनेबित्तिकै त वातावरण सरसफाइका काम स्वतः हुन्छ नै । गुणस्तरीय पानी पिउनासाथ स्वास्थ्य राम्रो हुने नै भयो । नदीमा थप पानी प्रवाह हुनेछ । नदीको वातावरण राम्रो हुन्छ । सफासुग्घरमा पानी खर्च हुनेबित्तिकै हाइजिन सम्पूर्ण हिसाबले राम्रो हुन्छ । पानीले नयाँ आयाम थप गर्छ नै । नयाँ युगको सुरुवात भएकोजस्तो मलाई लाग्छ । यसले काठमाडौँको दैनिकीमा नै प्रभाव पार्नेछ । पानी नभएपछि मान्छेलाई तनाव हुन्छ । त्यसले ‘पर्फमेन्स’मै फरक पर्छ । साधारण कुरा छ । कार्यालयमा बसिरहेको छु, घरमा पानीमा समस्या छ भने मेरो ‘पर्फमेन्स’मै असर पर्छ । मान्छे खुुसी हुन सक्दैन । खुसी नभएमा राम्रो गर्न सक्दैन । गृहिणीलाई पनि असर परिरहेको हुन्छ । उनीहरूको काममा पानीको समस्याले धरै प्रभाव पारेको हुन्छ । परिवारमा सफासुग्घर हुने कुरामा प्रभाव पार्छ । परिवारको अन्य काममा नै असर पारेको हुनसक्छ । बालबलिका हुर्काउने विषयमै समस्या भइरहेको हुनसक्छ । परिवारमा मायाको वातारण नै घटेको हुनसक्छ । त्यसले गर्दा भविष्यका कर्णधार हुर्काउनसमेत यसले प्रभाव पार्छजस्तो लाग्छ मलाई । त्ससैले मेलम्ची आएपछि र पानी पर्याप्त भएपछि काठमाडौँको दैनिकी नै परिवर्तन हुन्छ । परिवार र समाजमा खुसीको लहर आउँछ ।