logo
२०८१ बैशाख ६ बिहीवार



कतार विरुद्धको टी ट्वान्टीका लागि नेपाली टोलिमा ठूलो परिवर्तन

खेलकुद |


कतार विरुद्धको टी ट्वान्टीका लागि नेपाली टोलिमा ठूलो परिवर्तन


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १६ गते । कतार विरुद्धको टी ट्वान्टी खेलका लागि नेपाल क्रिकेट टोलिमा ठूलो बदलाब हुने भएको छ । चर्चित तथा अनुभवी खेलाडीहरु टोलिबाट बाहिरिएका छन् ।
नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडीको नाम शुक्रबार साँझ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ को प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्नुभएका अलराउण्डर बिवेक यादब बन्द प्रशिक्षणमा बोलाइएका छन् । बिवेकले प्रधानमन्त्री कपको चार खेलमा १६७ रन बनाउनका साथै चार विकेट समेत लिनुभएको थियो ।
नवनियुक्त नेपाली क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमरले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नजिकबाट नियाल्नुभएको थियो । कतार विरुद्धको टी ट्वान्टी श्रृखंलामा व्हाटमरको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय श्रृखंला खेल्न लागेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को टी ट्वान्टी वरियतामा नेपाल हाल १५ औं स्थानमा रहेको छ । कतार भने २२ औं स्थानमा छ । प्रशिक्षक व्हाटमरले जिम्मेवारी सम्हालेपछि नेपालको अन्तर्राष्ट्रिय वरियतामा सुधार ल्याउने बताउनुभएको थियो । नेपाली क्रिकेट टोलिका कप्तान ज्ञानेन्द्र मल्ल, अलराउण्डर पारस खडका, सन्दीप लामिछाने, शरद भेषवकार, बसन्त रेग्मी, रोहित पौडेल, जितेन्द्र मुखिया, किशोर महतो लगायतका खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइएका छैनन् ।
पूर्ब कप्तान पारस खडकासहित करण केसी, सोमपाल कामी अबुधाबी टी टेनमा सहभागी हुन यूएईमा हुनुहुन्छ । सोमपाल र करणलाई बन्द प्रशिक्षणमा भने बोलाइएको छ । सन्दीप लामिछाने भने अष्ट्रेलियामा बिग बैश लिग खेल्दै हुनुहुन्छ ।
प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीका कप्तानको जिम्मेवारीमा रहनुभएका बिनोद भण्डारी भने बन्द प्रशिक्षणका लागि बोलाइएका छन् । कृष्ण कार्की नौ वर्षपछि राष्ट्रिय टोलिका लागि पुनरागमन गर्नुभएको छ । लुम्बिनि प्रदेशका कप्तान समेत रहनुभएका उहाँ बलिङ अलराउन्डर हुनुहुन्छ । लुम्बिनि प्रदेशबाटै सौरभ खनाल बन्द प्रशिक्षणमा बोलाइएका छन् । खनालले प्रधानमन्त्री कपमा समेत उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।
बन्द प्रशिक्षणका लागि छनोट भएका अन्य खेलाडीहरुमा सन्दिप जोरा, आसिफ शेष, कुशल भुर्तेल, सागर ढकाल, भुवन कार्की, कुशल मल्ल, लोकश बम, कमलसिंह ऐरी, अविनाश बोहरा, दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, कृष्ण कार्की र साहब आलम छन् ।
नेपालले कतारसँग उसको घरेलु मैदानमा फेब्रुअरी नौबाट सुरु हुने गरी तीन म्याचको टी ट्वान्टी श्रृखंला खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?