logo
२०८० चैत्र १६ शुक्रवार



हिंसालाई सहयोग पुग्नेगरी अभिव्यक्ति दिएको छैनः अध्यक्ष प्रचण्ड

राष्ट्रिय |


हिंसालाई सहयोग पुग्नेगरी अभिव्यक्ति दिएको छैनः अध्यक्ष प्रचण्ड



गोरखापत्र अनलाइन
काठमाडौ, माघ ६ गते । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध आफूहरु आन्दोलित रहेकाले त्यसलाई अन्यथा नलिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपालका आफू निकट पत्रकारहरुको भेलामा आज अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे पनि आफुहरुले त्यसलाई संविधान विघटन गरेको रुपमा लिएको अध्यक्ष प्रचण्डले आरोप लगाउनुभयो । हिंसालाई सहयोग पुग्ने गरी आफूले अभिव्यक्ति नदिएको स्पष्टीकरण दिंदै उहाँले भन्नुभयो, “हामी बन्दुकले होइन, मतपत्रको माध्यमले देश निर्माण गर्ने भनेका छौं ।” आफूले बोलेको कुरा अपभ्रंश हुने गरेको उहाँले टिप्पणी गर्नुभयो ।

 “देशलाई पुनः निरंकुशतातर्फ धकेल्ने जुन षडयन्त्र भएको छ, यसलाई हर हालतमा रोक्नुपर्छ” उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीको कार्यशैली र व्यवहारले मुलुक संकटमा जाने देखिएको अध्यक्ष प्रचण्डले टिप्पणी गर्नुभयो ।

यसैगरी सो पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले विगतका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) इतिहासको गर्वमा विलिन भइसकेकाले अब व्यूँताउन सम्भव नरहेको बताउनुभयो । परिवर्तन संस्थागत गर्न र संविधानको रक्षा गर्न आफूहरु आन्दोलित भएको पनि नेता नेपालले बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे पनि आफूहरुले त्यसलाई मान्यता नदिएको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा नेता योगेश भट्टराई, विष्णु रिजाल, पत्रकार अगुवाहरु शम्भु श्रेष्ठ, नारायण बाग्ले, किशोर श्रेष्ठ, महेश दाहाल, फोनिजका अध्यक्ष डण्ड गुरुङलगायतले धारणा राख्नुभएको थियो । फाेटाे – विष्णु सापकाेटाकाे फेसबुक वालबाट

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?