logo
२०८० चैत्र १६ शुक्रवार



स्वचालित बत्ती जडानका लागि अध्ययन सुरु

खुला |


स्वचालित बत्ती जडानका लागि अध्ययन सुरु
फाईल तस्विर



भउचप्रसाद यादव

काठमाडौँ, माघ ५ गते । काठमाडौँ उपत्यकामा कृत्रिम वौद्धिकतामा आधारित स्वचालित विद्युतीय बत्ती जडान गर्न अध्ययन प्रक्रिया अगाडि बढाइएको छ ।
नयाँ प्रणालीको बत्तीले सडकमा सवारी साधन नभएको अवस्थामा पनि निर्धारण गरिएको समयानुसार नै साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ । सडकमा सवारी साधनको चाप हेरेर मेसिनले स्वतः साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ ।
सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रमअन्तर्गत उपत्यकामा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ट्राफिक लाइट जडान गर्ने उद्देश्यले अध्ययन र डिजाइन गर्न सडक विभागले परामर्शदाता नियुक्त प्रक्रिया अगाडि बढाइसकेको छ । नेपालमा पहिलो पटक ट्राफिक व्यवस्थापन गर्न यो प्रणाली जडान गर्न लागिएको होे ।
विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडान गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
उहाँले सो अध्ययन र डिजाइन गर्न परामर्शदाता कम्पनी छनोट गर्न बोलपत्र आह्वान गरिएकोमा आशय पत्र पेस गरेका कम्पनीको अहिले मूल्याङ्कन कार्य सम्पन्न भई सङ्क्षिप्त सूची तयार भइरहेको जानकारी दिनुभयो ।
सुरुमा चक्रपथभित्र यो ट्राफिक लाइट सिस्टम जडान गरिने बताउँदै शाखा प्रमुख ओझाले भन्नुभयो, “तीन चरणमा यो आयोजना सम्पन्न गरिनेछ । पहिलो चरणमा ४४ ठाउँमा जडान भई सञ्चालनमा आइसकेपछि दोस्रो चरणमा २९ ठाउँमा र तेस्रो चरणमा ७० ठाउँमा यो प्रणाली जडान गरिनेछ । ”
चालू आर्थिक वर्षमा यस आयोजनाका लागि डेढ करोड रुपियाँ विनियोजन गरिएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा स्वचालित रूपमा बत्तीको व्यवस्थापन हुने शाखा प्रमुख ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ट्राफिक बत्ती भएको ठाउँमा त्यसको समय मानिसले नै निर्धारण गर्नुपर्छ । ”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?