logo
२०८० चैत्र १५ बिहीवार



चैतअघिकै स्वरुपमा बाग्मती सफाइ महाअभियान   

फिचर |
समाज |


चैतअघिकै स्वरुपमा बाग्मती सफाइ महाअभियान   
फाईल तस्विर


काठमाडौँ, माघ ३ गते । बाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुनथालेको छ । चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर सफाइ गरिन्थ्यो ।    
    
महाअभियानको ४०१औँ हप्तामा मीनभवन तीनकुने क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष सरिता खनालको नेतृत्वमा ८० जना सफाइमा सहभागी हुनुभएको थियो । अभियानकर्मीसहित २०० जनाले वाग्मती सफाइमा भाग लिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।    
    
गत हप्ता महाअभियानको ४००औँ हप्तापछि चैतअघिकै स्वरुपमा बाग्मती सफाइ हुनथालेको छ । आजको सफाइबाट चार मेट्रिक टन फोहाेर व्यवस्थापन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।    
    
विष्णुमती सफाइ अभियानको ३३३औँ हप्तामा तारकेश्वर नगरपालिका क्षेत्रमा सफाइ गरियो । तारकेश्वर सरसफाइ अभियानको अगुवाइमा नेपालटार चोकबाट लोकतान्त्रिक चोकसम्म सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससाई जानकारी दिनुभयो । यसैगरी विष्णुमतीको माथिल्लो क्षेत्र सफाइ अभियान बूढानीलकण्ठ नगरपालिकाको पासिकोट क्षेत्रमा गरिएको छ । त्यस क्षेत्रमा अभियानकर्मी रामकुमार श्रेष्ठका अगुवाइमा सफाइ हुँदै आएको छ ।    
    
मनोहरा सफाइ अभियानको २००औँ हप्तामा काठमाडौँ महानगरपालिका– ३२ स्थित जडिबुटी पुल मनोहरा कृषि बजार क्षेत्रमा सफाइ गरिएको छ । १०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले राससलाई जानकारी दिनुभयो ।    
    
यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, चक्रपथको उत्तर र पश्चिमी भेग, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि आज सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियान शुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ शुरु भएको छ ।    
    
वाग्मती सफाइ महाअभियानले देशव्यापी जागरणको स्वरुप ग्रहण गरेको छ । बाग्मतीको प्रेरणाले हाल देशका १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

 मुख्य मुख्य शहर, नदी, पोखरी, कुण्ड ताल, तलाउ, सांस्कृतिक सम्पदा सफाइ अभियानमा स्थानीयवासी जुट्न थालेका छन् । महाअभियान शुरु भएपछि जाडो, गर्मी, भूकम्प, कोरोना महामारी, चाडपर्व कुनै पनि शनिबार सफाइ छुटेको छैन । अभियानकर्मी थोरै भएपनि सफाइले भने निरन्तरता पाउँदै आएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?