logo
२०८० चैत्र १५ बिहीवार



विद्यालय सञ्चालन गर्न सरोकारवालासँग छलफल 

शिक्षा |


विद्यालय सञ्चालन गर्न सरोकारवालासँग छलफल 
सांकेतिक तस्बीर


भादगाउँ, मङ्सिर ११ गते। भक्तपुर नगरपालिकाले विद्यालय सञ्चालन गर्ने गृहकार्य थालेको छ । नगरपालिकाले आज सामुदायिक र संस्थागत विद्यालयका सरोकारवालासँग छलफल गर्दै कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द हुँदै आएको विद्यालय सञ्चालनका लागि गृहकार्य थालेको हो ।    
    
सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै विद्यालय खोल्न नखोल्ने जिम्मेवारी स्थानीय पालिकालाई दिएपछि भक्तपुर नगरपालिकाले नगरभित्रका विद्यालय सञ्चालनका लागि छलफल गरेको हो । छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ सार्वजनिक गरिसकेको अवस्थामा स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने हुँदा नगरपालिकाले सरोकारवालासँग विभिन्न चरणमा छलफल अगाडि बढाएको बताउनुभयो ।    
    
उहाँले कोभिड–१९ को जोखिम बढिरहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिमलाई मूल्याङ्कन गरी विद्यालयमा विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन गर्नु थप जोखिम मोल्नुपर्ने हो कि भन्ने आशङ्का व्यक्त गर्दै अनलाइन कक्षालाई परिस्कृत ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।    
    
छलफलमा सहभागी शिक्षक सङ्गठनका प्रतिनिधिले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न हतार नगर्न सुझाव दिनुभएको थियो । छलफलमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिले लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालन गर्नुपूर्व कक्षाकोठा निर्मलीकरण गर्नुपर्ने, जनस्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णतः पालना गर्नुपर्ने, वैकल्पिक शिक्षण पद्धतिलाई जोड दिंदै लानुपर्ने, कक्षा अवधिको समय छोट्याउने वा हप्तामा केही दिन वा केही घण्टा गरी कक्षा सञ्चालन गर्ने, अनलाइन कक्षामा सहभागी नभएका विद्यार्थी सामाजिक दूरी कायम गरी विद्यालयमा कक्षा लिन सकिनेलगायत विकल्प रहेको बताउनुभयो ।    
    
उहाँहरूले विद्यार्थी सङ्ख्यालाई आधार मानेर चरणबद्ध विद्यालय सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने, शिक्षकलाई प्रविधियुक्त बनाउन आइसिटी तालिमलाई निरन्तरता दिनुपर्ने, विद्यालय सञ्चालन गर्ने विषयमा अभिभावकबीच अन्तरसंवादको खाँचो औँल्याउनुभयो । छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला, विद्यालयस्तरीय परीक्षा समितिका प्रतिनिधि, संस्थागत विद्यालय सङ्घ (इसान), प्याब्सन र एन.प्याब्सनका प्रतिनिधिहरुको उपस्थिति थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?